हाइमास्ट लाइटले पोखराका चोकहरु झलमल

समाधान संवाददाता २०७९ पुष १४ गते १०:११

पोखरा ।
महानगरका मुख्यचोकहरुमा उज्याला र चम्किला बत्तीहरु राख्न सुरु भएको छ । उच्चस्तरीय प्रविधिका हाइमास्ट लाइट पोखरा महानगरपालिकाले मुख्यचोकहरुमा जडान गरेको हो । त्यसका लागि महानगरपालिकाले विद्युत प्राधिकरणसँग सहकार्य गरेको छ ।

Advertisement

मुख्य चोकहरुमा ‘हाइमास्ट लाइट’ र सडकमा बत्ती राख्ने कार्य बुधबार मेयर धनराज आचार्य र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्घाटन गरे । बिरौटामा आयोजित कार्यक्रमबाट उनीहरु रिमोर्टमार्फत बिरौटा, लेकसाइड लगायत ठाउँका हाइमास्ट लाइट बालेका थिए ।

बुधबार बिरौटा, जिरोकिमी, सहिदचोक, कोमागाने पार्क, बसुन्धरा पार्क र हल्लनचोक लगायत सहरका ६ वटा चोकमा हाइमास्ट लाइट उदघाटन गरिएको हो । १६ मिटर अग्ला खम्बामा चारैदिशातिर फर्किएर उज्यालो छर्ने हाइमास्ट लाइट सहरका २३ चोकमा जडान गरिने जानकारी मेयर आचार्यले दिए ।

बिरौटा, जिरोकिमी, सहिदचोक, कोमागाने पार्क, बसुन्धरा पार्क र हल्लनचोकमा हाइमास्ट लाइट

उनकै भनाइमा एउटै हाइमास्ट लाइट स्थापनाका लागि २५ लाख रुपैयाँ लागेको छ । उज्यालो सहर बनाउने अभियान अन्तर्गत १२ करोड ७५ लाख ८९ हजार रुपैयाँको योजना कार्यान्वयन अघि बढेको हो । यसमा महानगरपालिका र प्राधिकरणले आधाआधाको साझेदारी गरेका हुन् ।

Advertisement

यो अभियानका साझेदारीका लागि मेयर आचार्य र कार्यकारी निर्देशक घिसिङबीच साझेदारीपत्रमा हस्ताक्षरसमेत भएको छ । अभियान अन्तर्गत सहरभरि १ हजार ५ सय ४ वटा सडकबत्ती हुनेछन् । तीमध्ये २३ वटा हाइमास्ट लाइट हुन् ।

जिरोकिमी हुँदै हेमजा फेदीसम्म बागलुङ राजमार्ग अन्तर्गतका चोकहरुमा सुरुआती चरणमा त्यस्तो उच्च क्षमतायुक्त लाइट राखिने जानकारी मेयर आचार्यले दिएका छन् । उज्यालो सहरका लागि जिरोकिमीमा हाइमास्ट लाइट राख्न भदौ १० गते मेयर आचार्यले शिलान्यास गरेका थिए ।

विस्तारै सहरका सबैजसो ठाउँका सडकमा बत्ती र चोकहरुमा हाइमास्ट लाइट राखिने भएको छ । ‘तत्काललाई व्यस्त चोकहरुमा हाइमास्ट लाइट राखेका छौं,’ मेयरले भने । महानगरभित्र ८० किमी क्षेत्रमा सडक बत्ती र व्यस्त ३० वटा चोकमा ‘हाइमास्ट लाइट’ जडान गरिँदैछ ।

सडक बत्ती र हाइमास्ट लाइट राति बल्ने र दिउँसो निभ्ने गरी व्यवस्थापन मिलाइएको छ । एकै ठाउँबाट सबैतिरका बत्ती बाल्न र निभाउन मिल्ने प्रविधिसमेत रहेको जानकारी दिइएको छ ।

यी बत्तीहरु थोरै बिजुलीबाट धेरै उज्यालो दिने खालका भएको बताइएको छ । बिजुली खपत गणना गर्न मिटरसमेत छ । महसुल महानगरपालिकाले नै तिर्ने भएको छ ।

तपाईको प्रतिक्रिया