गण्डकी ११ स्पेनी क्लबसँग पराजित

समाधान संवाददाता २०७९ पुष १४ गते १०:१९

पोखरा ।
नेपालको गण्डकी ११ टिम स्पेनको दोस्रो डिभिजनको लिग क्लब कासेरेन्यो सिपीसँगको मैत्रीपूर्ण खेलमा पराजित भएको छ । पोखरा रंगशालामा बुधबार भएको खेलमा गण्डकी ११ कासेरेन्योसँग ३–० गोल अन्तरले पराजित भएको हो ।

Advertisement

कासेरेन्योको जितमा कार्मेलो मोरा, मिगुएल एन्जल कारिलेरो गोन्जालेज र बेर्मुले १/१ गोल गरे । खेलको २३ औं मिनेटमा कार्मेलोले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसको ७ मिनेटपछि खेलको ३० औं मिनेटमा मिगुएलले गोल गर्दै कासेरेन्योलाई दोब्बर अग्रता दिलाए । त्यसपछि खेलको ९० औं मिनेटमा बेर्मुले गोल गर्दै कासेरेन्योलाई ३–० को जित दिलाए ।

नेपालमा दुई मैत्रीपूर्ण खेल खेल्नका स्पेनको दोस्रो डिभिजनको क्लब नेपाल आएको हो । अब कासेरेन्योले बिहीबार दशरथ रंगशालामा काठमाडौं ११ सँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

स्पेनस्थित नेपाली राजदूतावास, अखिल नेपाल फुटबल संघ, काठमाडौं जिल्ला फुटबल संघ र कास्की जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी गार्डेन फाउन्डेसनले कासेरेन्योको नेपाल भ्रमण आयोजना गरेको हो ।

Advertisement

तपाईको प्रतिक्रिया