खेलमा झेलको बढ्दो प्रवृत्ति
पोखरा ।
गत असोजमा गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलमा प्रदेश नम्बर १ ले एनआरएनएविरुद्ध प्रोटेस्ट हाल्यो । फुटबल अन्तर्गतको पहिलो खेलमा राष्ट्रिय टिमबाट खेलेका र नेपालमै रहेका खेलाडीलाई खेलाइएको भन्दै उसले प्रोटेस्ट हालेको थियो ।
प्रोटेस्ट सदर गर्दै आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) को प्राविधिक समितिले प्रदेश १ विरुद्ध खेलेका एनआरएनएका ८ राष्ट्रिय फुटबल खेलाडीलाई खेलाउन नपाउने निर्णय गर्यो । सञ्जोक राई, विमल घर्तीमगर, अनन्त तामाङ, पूजन उपरकोटी, सुजल श्रेष्ठ, विशाल राई, इशान खड्का र अशोक खवासले सो प्रतियोगिता खेल्न पाएनन् ।
भर्खरै पोखरामा भएको प्याप्सन स्पोर्ट मिट र हिसान कप पनि प्रोटेस्टबाट अछुतो रहन सकेनन् । दुवैमा नियम विपरीत खेलाडी खेलाइएको भन्दै कयौं प्रोटेस्ट परे । केही सदर भए त केही बदर ।
हिसान कपमा केही खेलमा प्रोटेस्ट परेको हिसान कपका संयोजक डा. राजमी शर्मा स्वीकार्छन् । ‘प्रतियोगिताका क्रममा केही ठाउँमा प्रोटेस्ट परेको थियो, छानबिन गरेपछि उहाँहरु (प्रोटेस्ट परेको टिम)ले प्रतियोगिताबाट नाम फिर्ता लिनुभयो,’ उनले भने ।
विद्यार्थीको रजिस्ट्रेसन नम्बर नआउँदा बाहिरबाट खेलाडी ल्याएको संयोजक शर्मा दाबी गर्छन् । ‘नियम अनुसार अघिल्लो वर्ष करिब करिब शून्यजस्तो थियो । रजिस्ट्रेसनका आधारमा नाम दर्ता हुन्थ्यो । तर, यसपालि रजिस्ट्रेसन नआउँदा भर्ना अहिले पनि गर्न मिल्यो, त्यसैले अहिले यस्तो समस्या आएको हो,’ उनले भने ।
बाहिरका खेलाडी ल्याउनेमा खेल शिक्षकको सहभागिता देखिएको शर्माले बताए । ‘खेल्ने उद्देश्यले कतिपय खेलकुद शिक्षकले केही समयअगाडि भर्ना गरेको तर अन्तको विद्यार्थी प्रक्रिया पूरा गरेर खेलाएको देखियो, तर १ हप्ता अगाडि खेल्ने उद्देश्यले ल्याएको हुनाले नैतिकताका आधारमा तपाईंहरुले नाम फिर्ता लिनुस् भनेपछि उहाँहरुले (विद्यालय) ले नाम फिर्ता लिनुभो,’ उनले भने, ‘खेल शिक्षकले जित्न त्यसो गरेको अवस्था देखियो । खेल शिक्षकको सहभागिता देखियो ।’
गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य केशव पाठकले मेरो विद्यालयले जित्ने, मेरो विद्यालयले ट्रफी उचाल्नै पर्छ भन्ने नाममा विद्यालयले बाहिरका विद्यार्थीलाई नियम विपरीत सहभागी बनाउँदा प्रोटेस्ट पर्ने गरेकोे बताए ।
यसले खेलकुदमा राम्रो सन्देश नजाने उनको भनाइ छ । ‘मेरो विद्यालयले जित्ने, मेरो विद्यालयले ट्रफी उचाल्नै पर्छ भन्ने नाममा विद्यालयहरुले बाहिरको खेलाडी, विद्यालयमा नपढ्ने विद्यार्थीलाई बोलाएर केही दिनका लागि खेलाउँछन् भने त्यसले राम्रो सन्देश दिँदैन,’ पाठकले भने ।
विद्यालयले नियम विपरीत खेलाडी खेलाउँदा खेलाडी उत्पादन र खेलकुद विकास हुन नसक्ने परिषद्का सदस्य पाठकले सुनाए । ‘कतिपय खेलाडी जित्नैपर्ने दबाबमा खेलाउँदा त्यसले खेलकुदको विकासचाहिँ गर्दैन । आयोजकलाई पनि ठूलो नोक्सानी हो, जित्ने टिमले हार्ने र हार्ने टिमले जित्ने नतिजा निस्कन्छ,’ उनले भने, ‘त्यसले खेलाडी उत्पादन र खेलकुद विकासमा पनि राम्रो उपलब्धि मानिँदैन ।’
यस्ता प्रतियोगिता आफ्नो स्तर पापन गर्ने अवसर भएकाले विद्यालय नै चनाखो हुनुपर्नेमा पाठकले जोड दिए । विद्यालयले जित्नैपर्ने मनसायले बाहिरका खेलाडी खेलाउन नहुने उनले बताए । ‘विद्यालयहरु नै चनाखो हुनुपर्ने हुन्छ ।
विद्यालयले नै होइन, यो हाम्रो एकता, सद्भाव, खेलको विकासका लागि हामीले गरेको हो,’ पाठकले भने, ‘हाम्रा खेलाडी कुन लेभलसम्म खेल्दा रहेछन् भन्ने कुरा समय पनि हो प्रतियोगिता भन्नेबित्तिकै । जित्नै पर्ने मनसायमा यसरी बाहिरको खेलाडी लिएर खेलाउनु हुन्न भन्ने हिसाब खेलकुदको नियम र अनुसासनलाई उनीहरुले पालना गर्नुपर्छ ।’
हिसान कप तथा प्याब्सन स्पोर्टस् मिट जस्ता प्रतियोगिता नै खेलकुद विकास र खेलाडी उत्पादनका लागि महत्वपूर्ण भूमिका खेल्ने पाठकको भनाइ छ । उनले भने, ‘यस्ता कार्यक्रमले नै गर्दा खेलाडीले एक्स्पोजर पाउँछन् । खेलाडीलाई प्रदेश तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी बनाउन सजिलो पनि हुन्छ ।’
झेल रोक्न सर्तकता अपनाउनुपर्छ
प्राध्यापक डा. मधुसुदन सुवेदी
खेलकुद व्यवस्थापन संकाय
गण्डकी विश्वविद्यालय
प्रोटेस्ट भनेको कुनै पनि खेलमा नियमअनुसार नचलेको तथा नियम मिचेको अवस्थामा असन्तुष्टि जनाउनु हो । प्रोटेस्ट विभिन्न प्रकारका हुन्छन् । एउटाचाहिँ अनफिल्ड हुन्छ, अर्कोचाहिँ आउट फिल्ड हुन्छ । कुनै पनि मापदण्डभन्दा माथि भयो भने त्यहाँ प्रोटेस्ट हुन्छ । प्रोटेस्ट भनेको अर्को टिमले असन्तुष्टि जनाएको हो ।
त्योचाहिँ आउट फिल्डको भयो, आएर खेलाएको । अनफिल्डको प्रोटेस्ट भनेकोचाहिँ गलत निर्णय, कुनै पनि अफिसियलले गलत निर्णय गर्यो भने त्यहाँ अनफिल्ड प्रोटेस्ट हुन्छ । टिमलाई जिताउनका लागि नियम मिच्दा यो अवस्था आउँछ । पछिल्लो समय यस्ता घटना बढेको पाइन्छ ।
यसले खेलकुद क्षेत्रमा पक्कै पनि राम्रो सन्देश दिदैन । लापरवाही, हेलचक्र्याई, नबुझरेर प्रोटेस्ट हाल्ने अवस्था आउँछ । जसले गर्दा कति खेल ढिला हुन्छ, कति खेल रद्द हुन्छ । यस्तो अवस्था आउनै नदिन पहल गर्नुपर्छ । प्रोटेस्ट पर्ने अवस्था आयो भने खेल्ने खेलाडीहरुको आत्मबल घट्छ, खेललाई असर गर्छ, खेलकुदको विकास हुन सक्दैन ।
यसलाई रोक्न स्पोर्टस् म्यानसिप देखाउनु पर्यो । स्पोर्टस् म्यानसिप भनेको सहीलाई सही, गलतलाई गलत भन्न सक्नुपर्यो । बायसनेस हुनु भएन । आफ्नो टिमलाई जिताउन भन्दै अफिसियल लगायत कतैबाट पनि गल्ती हुनु भएन । अर्को न्यूनीकरण गर्ने उपाय भनेको शिक्षा नै हो ।
सतर्कता कार्यक्रम, हाम्रोचाहिँ कति नबुझेर पनि गल्ती भएको हुन्छ । त्यस कारण यसको न्यूनीकरणको मूल कुरा सतर्कता नै हो । सकेसम्म मापदण्ड पालना गर्ने, सबैलाई सिकाउने, बुझाउने गर्नुपर्छ ।
तपाईको प्रतिक्रिया