विद्यार्थीको प्रतिभा प्रष्फुटन गर्दै अटोवेज

पोखरा ।
विज्ञान त्यो व्यवस्थित ज्ञान हो, जुन विचार, अवलोकन, अध्ययन, र प्रयोगले प्राप्त गर्न सकिन्छ । आजको विश्व नै विज्ञानको उपज हो । सोही कुरालाई मध्यनजर गर्दै विद्यार्थीको प्रतिभा प्रष्फुटन गर्न पोखरामा टोयटा र आइसर गाडीको आधिकारिक बिक्रेता अटोवेज प्रालिले ‘विज्ञान प्रदर्शनी’ गरेको छ ।
सोमबार सुरु भएको प्रदर्शनी बिहीबारसम्म चल्नेछ । प्रदर्शनीमा पोखराका विभिन्न स्कुलबाट ५८ प्रोजेक्ट सहभागी भए । तीमध्ये सर्वाेत्कृष्ट विज्ञान प्रदर्शनी गरेको सैनिक आवासीय माध्यमिक विद्यालयका विद्यार्थी प्रथम भएका हुन् ।
सैनिकका विद्याथी विज्ञानसँग सम्बन्धित ‘म्याट १’ बाट उत्कृष्ट बने । सैनिक विद्यालयबाट सिएनसी राइटिङ मेसिन, अटोमेटिक कार पार्किङ, फायर फाइटिङ रोवट, फ्लाइङ विङ, म्याट १, मेभ १ र बाधा पुकाउने रोबोर्ट प्रदर्शनीमा थिए । यसमध्ये म्याट १ उत्कृष्ट भएको हो । म्याट १समिप थापा, आरभ बराल र रेयोग पनेरुले बनाएका हुन् । उनीहरुले ५० हजार नगद जिते ।
पिकेजी सेकेन्डरी स्कुलका विद्यार्थी दोस्रो बने । पिकेजीका विद्यार्थीले ६ प्रोजेक्ट बनाए पनि ‘लि फाइ’ले दोस्रो पुरस्कार पाएको हो । ‘लि फाइ’ धीरज पौडेल र समीर खत्रीले बनाएका हुन् । उनीहरुले ३० हजार नगद पाए ।
प्रतिभा स्कुल तेस्रो भएको छ । प्रतिभाले ६ वटा प्रोजेक्ट प्रदर्शनी गरे पनि इन्डिकेटर डस्बिन तेस्रो बन्यो ।
उनीहरुले बनाएको इन्डिकेटर डस्बिन उपयुक्त लागेको अटोवजका अध्यक्ष नारायण शर्माले बताए । ‘उहाँहरुले बनाउनुभएको इन्डिकेटर डस्बिन एकदमै उपयोगी, व्यवहारिक र समय सान्दर्भिक लाग्यो,’ अध्यक्ष शर्माले भने । इन्डिकेटर डस्बिन बनाउने नम्रता क्षेत्री हुन् । उनले १० हजार नगद पुरस्कार पाइन् ।
ईन्द्रराज्य लक्ष्मी सेकेन्डरी स्कुल र शिव शक्ति सेकेन्डरी स्कुलका विद्यार्थी चौथो भएका छन् । शिव शक्तिबाट रोबोर्ट बनाएर चौथो भएका विद्यार्थी उमदीप ठकुरी र जोयसी गुरुङले नगद ५ हजार जिते । ईन्द्रराज्य लक्ष्मीले हाइडोलिक लिफ्ट बनाएको छ । हाइड्रोलिक लिफ्ट बनाउनेसविना विक, जित गुरुङ र सफल लम्सालले पनि ५ हजार पाएका छन् ।
पोखराको नयाँबजारस्थित अटोवेज सोरुमको भवनमा प्रदर्शनी भएको थियो । ४ दिनसम्म चलेको प्रदर्शनीमा २५ वटा विद्यालयले सहभागिताका लागि दर्ता गराएका थिए । प्रदर्शनीमा प्रवेश निःशुल्क थियो । विद्यार्थीको सिर्जनात्मक क्षमता अभिवृद्धि गर्दै र उनीहरूको आविष्कार र प्रतिभालाई उजागर गर्ने उद्देश्यले कार्यक्रम गरिएको अध्यक्ष पौडेलले जानकारी दिए ।
उनले यो प्रदर्शनीबाट विद्यार्थीले प्रतिभा प्रष्फुटन गर्न अवसर पाएको बताए । ‘यो प्रदर्शनीले आफूले गर्व महसुस गरेको छु । यो प्रदर्शनीबाट मैले पनि धेरै कुरा सिके,’ उनले भने, ‘यो विद्यार्थीले आफ्नो प्रतिभा चिन्ने मौका पनि हो । यहाँबाट गएर तपाईंहरुले आफूभित्रको प्रतिभा चिन्नुहोस् ।’
सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्य गर्दै आएको कम्पनीले विद्यार्थी लक्षित गर्दै विभिन्न कार्यक्रम गर्ने गरेको हो । कम्पनीले केही समयअघि चित्रकला प्रदर्शनी आयोजना गरेको थियो ।
तपाईको प्रतिक्रिया