‘बालबालिकालाई लागुपदार्थबाट बचाऔं’

पोखरा ।
सिविन नेपालले लागुपदार्थ तथा मदिरा सेवनले बालबालिकालाई परेको प्रभाव तथा समाधानका लागि सरोकारवालाको भूमिका विषयक अन्तक्र्रिया गरेको छ । कार्यक्रममा अधिवक्ता सागर भण्डारीले नेपालमा ६८ प्रतिशत युवायुवतीले लागुपदार्थ सेवन गरेको तथ्यांक प्रस्तुत गरे ।
‘लागुपदार्थ तथा मदिरा सेवनको कारणले आत्महत्या, सडक दुर्घटना, लैंगिक हिंसाका घटना बढेको छ,’ उनले भने, ‘विद्यालय र समुदाय स्तरमा सचेतना कार्यक्रम गरेर लागुपदार्थ तथा मदिराको प्रयोगबाट हुने अपराधका घटना न्यूनीकरण गर्न सकिन्छ ।’
उनले संघ, प्रदेश तथा स्थानीय सरकारले आवश्यक नीति कानुन बनाएर लागुपदार्थले बालबालिकालाई परेको प्रभाव रोक्न कार्यक्रम ल्याउनुपर्ने बताए । उनले राजनीतिक दलले समेत त्यस्ता सचेतनामूलक कार्यक्रम चलाउनुपर्ने उल्लेख गरे ।
शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय सामाजिक महाशाखाका प्रमुख जमुना पौडेलले पछिल्लो समयमा आधुनिकताका नाममा समाजमा विकृति तथा विसंगति बढेको उल्लेख गरिन् । उनले लागुपदार्थको प्रयोगकर्तालाई व्यवस्थापन गर्नका लागि प्रदेश स्तरमा पुनस्र्थापना केन्द्र आवश्यक रहेको बताइन् ।
जिल्ला प्रहरी कार्यालय कास्की महिला, बाल बालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रमुख प्रहरी निरीक्षक समीक्षा घिमिरेले आर्थिक अवस्था कमजोर भएका लागुऔषधका प्रयोगकर्तालाई निशुल्क रुपमा व्यवस्थापन गर्नुपर्ने प्रस्ताव गरिन् ।
सिवन नेपाल पोखराका कार्यक्रम अधिकृत शंकर नेपालीले बाल बालिकाले लागुपदार्थ बढी सेवन गरेको पाइएकाले त्यसलाई रोक्न अभिभावक र विद्यायल सचेत बन्नुपर्ने उल्लेख गरे ।
उनले बालबालिकालाई दुव्र्यसनीबाट बचाउन सचेतनामूलक कार्यक्रमका अलावा भएको कानुनको प्रभावकारी कार्यान्वयन आवश्यक भएको बताए । बालगृह सञ्जाल महासंघ नेपालका महासचिव विजयकुमार प्रधानले ठूला होडिङ बोर्डमा राखिएका मदिराका विज्ञापन हटाउन स्थानीय सरकार लाग्नुपर्ने चर्चा गरे ।
कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र बगरका प्रहरी हवल्दार गौतमकुमार हायु, बाल मञ्च कास्की अध्यक्ष समीक्षा लामिछाने, सदस्य सन्ध्य श्रेष्ठ लगायतले लागुपदार्थको बढ्दो प्रयोगले बालबालिकामा परेको असरबारे बोलेका थिए ।
तपाईको प्रतिक्रिया