राप्रपा कास्कीले मनायो वीरेन्द्र जयन्ती, सांसदलाई सम्मान

पोखरा
राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले राजा वीरेन्द्र शाहको ७७ औं जन्मजयन्ती मनाएको छ । राजा वीरेन्द्रको जन्मजयन्तीका अवसरमा उनको तस्वीरमा माल्यार्पणसहित प्रवचन कार्यक्रम र साँझ दीपावली गरेको छ ।
पोखरास्थित राप्रपा कास्कीको कार्यालयमा भएको कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताले राजा वीरेन्द्रको तस्वीरमा माल्यार्पण गरेका थिए । सो अवसरमा आयोजित कार्यक्रममा बोल्दै वक्ताहरुले राजा वीरेन्द्र देशभक्त र शान्तिप्रेमी रहेको भन्दै उनको योगदानको स्मरण गरेका थिए । उनको जन्म विक्रम संवत २००२ पुष १४ गते भएको थियो ।
राजा वीरेन्द्रको अकालमा हत्या नभएको भए देशको स्थिति अहिलेको जस्तो नाजुक नहुने उनीहरुले तर्क गरेका थिए । उनीसहित सपरिवारको २०५८ जेठ १९ गते नारायणहिटी राजदरबारमा हत्या भएको थियो । उक्त हत्याकाण्ड अहिले पनि रहस्यमै छ ।
राजा वीरेन्द्रको स्मरणमा राप्रपाले बिहीबार साँझ वीरेन्द्रचोक रामबजारमा दीप प्रज्वलनसमेत गरेका थिए । सो अवसरमा राप्रपा कास्कीले वीरेन्द्रचोकमा राजा विरेन्द्रको शालिक पुननिर्माण गर्न सघाउने निर्णय पनि गरेको छ । शालिक निर्माण समितिसँग सहकार्य गरेर यथाशीघ्र राजा वीरेन्द्रको शालिक बनाउने निर्णय गरेको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले बताए ।
राजा वीरेन्द्रको जन्मजयन्तीकै अवसरमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशमा राप्रपाबाट समानुपातिक सांसद निर्वाचित सांसदद्वय पञ्चराम गुरुङ र बिन्दु पहाडीलाई सम्मानसमेत गरेको छ । गुरुङ राप्रपाका गण्डकी अध्यक्ष हुन् भने पहाडी केन्द्रीय सदस्य हुन् । कार्यक्रममा विवेकशील साझा पार्टीबाट राप्रपामा समाहित भएर केन्द्रीय सदस्य चुनिएका अर्जुन खनाल, सुशीला केसी अधिकारी र माधव भण्डारीलाई स्वागत गरिएको थियो ।
कार्यक्रममा बोल्दै नवनिर्वाचित सांसद गुरुङले देश र जनताका हितमा इमान्दार भएर काम गर्ने प्रतिवद्धता जनाए । राप्रपाका एजेण्डा स्थापित गर्न लागिपर्ने भन्दै उनले जनताका पीरमर्का संसदमा पुर्याउन भूमिका खेल्ने बताए ।
यस्तै, अर्का सांसद पहाडीले पार्टी नीतिमा रहेर जनताका पक्षमा खरो उत्रने बताइन् । विगतमा सर्वस्वहरण हुँदासमेत पार्टीका पक्षमा अडिग रहेको भन्दै उनले अब संसदमा देश र जनताका पक्षमा पार्टीले उठाएका मुद्दा उठाउने प्रतिवद्धता जनाइन् ।
राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङले अहिलेको दुषित राजनीतिमा राजा वीरेन्द्रको अभाव खड्किएको बताए ।
नवनिर्वाचित सांसदलाई शुभकामना दिँदै उनले गण्डकीका सबै जिल्लासँग समन्वय गरेर अघि बढ्न सांसदलाई सुझाव दिए ।
कार्यक्रममा केन्द्रीय सदस्यहरु जयलाल पुन, विष्णुप्रसाद पोखरेल, महेन्द्रबहादुर कार्की लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम राष्ट्रिय प्रजातान्त्रिक भूपू सैनिक संगठन कास्की र राष्ट्रिय प्रजातन्त्रिक युवा संगठन कास्कीको समन्वयमा सम्पन्न भएको थियो ।
तपाईको प्रतिक्रिया