फेदीमा सवा २ करोडका कृषि आयोजना

पोखरा ।
कास्कीको रुपा गाउँपालिका ५ फेदीमा सवा २ करोड रुपैयाँका विभिन्न कृषि आयोजना सम्पन्न भएका छन् । आइतबार सार्वजनिक सुनुवाई गर्दै गाउँविकास कृषि सहकारी संस्थाले कृषिका विभिन्न आयोजना सम्पन्न भएको जनाएको हो ।
सहकारीले नेपाल सरकार पशुपन्छी विकास मन्त्रालय अन्तर्गत विश्व बैंकको ऋण र नेपाल सरकारको संयुक्त लगानीमा सञ्चालित नेपाल लाइभस्टक सेक्टर आयोजनाको दूध उत्पादन तथा पशुपालन उप आयोजना अन्तर्गत २ करोड ११ लाख ३१ हजार १ सय ११ लागतमा कृषि आयोजना सम्पन्न गरेको हो ।
सहकारीमार्फत किसानले कम्तीमा ५ वटा माउ पशुदेखि २० वटासम्म, १९ सुधारिएका गोठ निर्माण, ७ वटा आहारा भण्डार, ४ वटा बायोग्यास प्लान्ट, १२ वटा कम्पोस्ट पिट लगायतका भौतिक संरचना निर्माण भएका छन् भने १२ व्यावसायीक किसानलाई ९५ वटा उन्नत जातका गाई–भैसी खरिद गरिएको संस्थाका अध्यक्ष तथा उपआयोजना संयोजक रामबाबु पौडेलले जानकारी दिए ।
सहकारीले अन्य किसानबाट उत्पादन भएको दूध संकलनका लागि संकलन केन्द्र पनि सहकारी भवनमै निर्माण गरेको छ । दूध संकलनका लागि १ हजार लिटरको चिलिङ भ्याट, दूध परीक्षण उपकरण सञ्चालनमा ल्याएको छ ।
सहकारीमार्फत सरकारले तोकेको दरमा पोखरा स्थित सुजल डेरीसँग सम्झौता गरी गत २ महिनादेखि दूध बिक्री पनि सुरु गरिसकेको सहकारीले जनाएको छ । गत वर्ष असोज ८ मा सम्झौता भएको उपआयोजनाबाट हालसम्म २५ लाख ७३ हजार भुक्तानी भएको छ ।
१ करोडमध्ये थप रकम अन्तिम भुक्तानीका लागि सहकारीले पुस १० गते सरोकारवाला, उप–आयोजनाका प्रतिनिधि, जनप्रतिनिधि र स्थानीयको उपस्थितिमा सार्वजनिक सुनुवाइ गरेको हो ।
गाउँ विकास कृषि सहकारी संस्थाका उपाध्यक्ष बिन्दु बसौलाको अध्यक्षतामा भएको कार्यक्रममा आयोजनाका मूल्यांकन तथा अनुगमन शाखा प्रमुख डा. प्रकाश अधिकारी, रुपा ५ का वडाध्यक्ष राजन खनाल, वडा सदस्य मिना कमर लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया