माछापुच्छ्रे टेनिसमा अन्तिम चरणका खेल

पोखरा ।
माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०७९ मा बिहीबार चौथो दिन अन्तिम चरणका खेल भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनामा उक्त प्रतियोगिताका सेमीफाइनल र केही फाइनल खेल शुक्रबार हुने आयोजकले जनाएको छ ।
चौथो दिन ६५ वर्षमाथिको डबल्स फाइनल खेल सकिएका छन् भने पोखरा ओपन सिंगल्स मेन्स/उमेन्सका सेमीफाइनल खेल तथा अन्य उमेर समूहका फाइनल खेल शुक्रबार हुने टुर्नामेन्ट डाइरेक्टर राजन पौडेलले बताए ।
६५ वर्षमाथिको फाइनलमा बिमल गुरुङ र हिमाल शाहको जोडीले कमल थापा र झम्पा घलेको जोडीलाई २–० को सोझो सेटमा पराजित गरेको छ । बिमल र हिमालको जोडीले ६–१ र ६–३ को सेटमा पराजित गर्दै जित उपाधि जित्न सफल भएको हो ।
५५ वर्ष सिंगल्समा कृष्ण राज घलेले प्रदीप शाहलाई ७–६, ६–२ ले पराजित गर्दै फाइनलको यात्रा तय गरेका छन् भने पोखराका अनिल तुलाचनले भारतीय खेलाडी एन दिलीप सिंहलाई ७–५, ७–५ ले संघर्षपूर्ण जित निकाल्दै फाइनलमा स्थान पक्का गरेका छन् ।
४५ वर्षमाथि को डबल्सतर्फ निमा शेर्पा र भारतिय खेलाडी टि तुलेश्वर सिंहको जोडीले यज्ञबहादुर भण्डारी र राजु श्रेष्ठको जोडीलाई ७–५, ६–३ ले पराजित गरी फाइनलमा पुगेका छन् । शरण गुरुङ र विकास गुरुङले सिजर गुरुङ र आशीष सिग्देललाई ६–३, ६–७, १०–४ ले पराजित गरी फाइनलमा निमा र टि तुलेश्वरसँग उपाधिका लागि भिड्ने छन् ।
४५ वर्षमाथिको सिंगल्समा शरण गुरुङले गोपी भट्टरालाई ६–१, ६–२ ले पराजित गरी सेमीफाइनलको यात्रा तय गरे भने रोहित सुनुवारले शिव सेढाईलाई ६–०, ६–० को सोझो सेटमा पराजित गरी सेमीफाइनलमा स्थान पक्का गरे । भारतीय खेलाडी टिटी सिंहले महेश श्रेष्ठलाई ६–२, ५–७, १०–५ मा पराजित गरी अन्तिम चारको यात्रा सुरक्षित गरे भने विमल गुरुङलाई आशीष सिग्देलले वाक ओभर दिएका छन् ।
मेन्स सिंगल्सतर्फ नेपालका नं १ खेलाडी प्रदिप खडकाले अन्तिम ४ को स्थान पक्का गरेका छन् । बिहीबार भएको खेलमा सौगात विकलाई ७–५, ६–३ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन् । रितिक रानाले प्रनभ मानन्धरलाई ६–३, ७–६ ले पराजित गर्दा, अकि जुवेन रावतले निशान श्रेष्ठलाई ४–६, ६–१, ६–४ को संघर्षमय खेलमा पराजित गरी सेमीफाइनलको यात्रा तय गर्दा प्रनभ खनालले नेहाल जंगबहादुर थापालाई ६–०, ६–४ को सेटमा पाखा लगाउँदै सेमीफाइनलमा स्थान पक्का गरे ।
मेन्स डबल्सतर्फको खेलमा निशान श्रेष्ठ र रितिक रानाको जोडीले अकी जुवेन रावत र राजवीर प्रधानलाई ६–२, ७–६ ले, प्रदीप खड्का र नेहाल जंगबहादुर थापाको जोडीले प्रनभ खनाल र अभिनव आचार्यलाई ३–१ को संघर्षपूर्ण खेलमा पराजित गरी फाइनलमा स्थान बनाएका छन् ।
उमेन्स सिंगल्सतर्फ नेपालकी नं १ खेलाडी अभिलाषा विष्टले आयशा डोलकर गुरुङलाई ६–०, ६–१ ले पराजित गरी अन्तिम चारमा स्थान पक्का गरेकी छन् । सुनिरा थापाले शुभाङ्गी शाहलाई ७–६, ६–२ ले पराजित गर्दा, प्रकृति श्रेष्ठले प्रशंसा मोक्तानलाई ६–४, ६–१ को सोझो सेटमा पराजित गरी सेमीफाइनलको यात्रा तय गरे भने सर्भानी श्रेष्ठले श्रेया भट्टराईलाई ६–०, ६–० ले पराजित गरी अन्तिम चारमा पुगेकी छन् ।
३५ वर्षमाथि कमल भण्डारीले देव क्षेत्रीलाई ६–२, ६–३ ले, जितेन्द्र परियारले विकास गुरुङलाई ६–०, ६–० ले, चेवाङ लामाले सिमन्त गुरुङलाई ३–६, ७–५, ११–९ ले, सन्तोष खत्रीले अनिल साईलाई ६–४, २–६ र १०–४ ले पराजित गरी सेमीफाइनलमा पुगेका छन् ।
सोही उमेर समूहको डबल्सतर्फ भएको सेमीफाइनल खेलमा कमल भण्डारी र यज्ञबहादुरको जोडीलाई राजन पौडेल र लक्ष्मण थापाको जोडीलाई ६–३, ६–१ को सोझो सेटमा पराजित गरी फाइनलमा स्थान पक्का गर्दा जितेन्द्र परियार र चेवाङ लामाले सन्तोष खत्री र सिमन्त गुरुङको जोडीलाई ६–३, ६–० को सोझो सेटमा पाखा लगाउँदै उपाधिनजिक पुगेका छन् ।
६५ वर्षमाथि सिंगल्समा कमल थापाले डियोनम लामालाई ४–०, ४–१ ले र विदुर विष्टले विष्णु गुरुङलाई ५–३, ४–० को सोझो सेटमा पराजित गरी कमल थापासँग फाइनलमा भिड्ने भएका छन् ।
तपाईको प्रतिक्रिया