भिआइपीको लर्को, बन्दैन पूर्वाधार
एकपछि अर्को गर्दै कोरला नाका पुग्नेले त्यहाँ पुगेर फाटो खिच्ने र सामाजिक सञ्ञ्जालमा अपलोड गर्ने कामबाहेक कुनै प्रगति भएको छैन


जोमसोम ।
५ वर्षदेखि चीनको स्वशासित क्षेत्र तिब्बत र उपल्लो मुस्ताङको सीमा नाका कोरलामा भिआइपीको भ्रमण निरन्तर हुने गरेको छ । भारतीय नाकाबन्दीपछि निकै चर्चामा रहेको नाका अवलोकन गर्न मन्त्रीदेखि विभागीय टोलीको होडबाजी नै चल्ने गरेको छ । तर, कोरलामा पूर्वाधार बनाउने बिषयले अझै प्राथमिकता पाउन सकेको छैन ।
उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बत र नेपालतर्फको कोरलानाका अवलोकन गर्न गत वर्ष उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ उपल्लो मुस्ताङ पुगेका थिए । त्यस समय श्रेष्ठले कोरला सडक र नाकामा पूर्वाधार निर्माण गर्न जोड दिने बताएका थिए । अब उनको पालामा कोरला पूर्वाधारले प्राथमिकता पाउँछ वा पाउँदैन हेर्न बाँकी छ ।
५ वर्षको अन्तरालमा उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ, पूर्व परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, निवर्तमान सभामुख अग्नि सापकोटा, प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको टोली, पूर्व पर्यटन मन्त्री योगेश भट्टराई, पूर्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, पूर्व शिक्षामन्त्री गिरीराजमणि पोखरेल, गण्डकीका अर्थमन्त्री रामजी बराल, पूर्व संसदीय समितिका सभापती पवित्रा निरौला यहाँ पुगेका छन् ।
पूर्व मन्त्री प्रकाशशरण महत, पूर्व मन्त्री मिनेन्द्र रिजाल, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, गण्डकीका पूर्व अर्थमन्त्री किरण गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल, नेपाली, सेना, प्रहरी प्रमुख सशस्त्रको भिआइपी, विभागीय सचिव, पूर्व सांसद, विभिन्न संसदीय समिति लगायत थुप्रै टोलीले कोरला भ्रमण गरिसकेका छन् ।
एकपछि अर्को गर्दै कोरला नाका पुग्नेले त्यहाँ पुगेर फाटो खिच्ने र सामाजिक सञ्ञ्जालमा अपलोड गर्ने कामबाहेक कुनै प्रगति भएको छैन । पछिल्लो समय नेपालीको मुख्य पर्यटकीय गन्तव्य कोरला हुन पुगेको छ । कोरला पुग्ने भिआइपीदेखि सर्वसाधारणले चीनतर्फको भव्य भौतिक संरचना हेर्न पाउँछन् । तर, नेपालतर्फ रित्तो नाकामा देख्दा मनै कुडिन्छ ।
सरकारी स्रोत, साधन खर्चिएर कोरला भ्रमण गर्ने मन्त्रीदेखि विभागीय टोलीले पूर्वाधार निर्माण गर्नेतर्फ खासै चासो दिएको पाइँदैन ।
हिउँद यामको पुस महिना । मुस्ताङको तापक्रम दिउँसो केही न्यानो भए पनि बिहान र बेलुकी माइनस २० डिग्रीसम्म पुगेको छ । उपल्लो मुस्ताङमा त झनै चिसो छ । निर्वाचनसँगै राजनीतिमा परिवर्तन आएपछि राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना तेस्रो पटक बिहीबार मुस्ताङ आए । शुक्रबार अध्यक्ष तिमिल्सिना उत्तरी कोरला नाका अवलोकन गरी फर्किएका छन् ।
अध्यक्ष तिमिल्सिना उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना (बेनी–जोमसोम–कोरला) सडक तथा कोरलानाका अवलोकन गर्ने शिलशिलामा हिउँद यामको चिसो मौसममा मुस्ताङ आएका हुन् । यो समय मुस्ताङमा हिमपातको सम्भावना र यहाँ अत्यधिक चिसो छ । चिसो र हिमपातकै कारण उपल्लो मुस्ताङका अधिकांश नागरिक जाडो छल्न बेसी झरिसकेका छन् । तिमिल्सिना कोरला सडक र कोरलामा पुगेर रित्तो नाका अवलोकन गरी फर्किएका छन् ।
राष्ट्रिय सभा अध्यक्षको पदमा रहँदा तिमिल्सिनाको यो तेस्रो भ्रमण हो । यसअघि २०७८ साल कार्तिक २९ गते अनुकूल मौसममा राष्ट्रिय सभा अध्यक्षले कोरला सडकको अनुगमन र कोरलानाकामा पुगेर फर्किएका थिए । त्यस बेला जोमसोम आयोजित पत्रकार भेटघाटमा तिमिल्सिनाले राष्ट्रिय गौरवको सडकलाई तीव्रता दिने र चीनसँग सीमाना जोडिएको उत्तरी कोरलानाकामा व्यापारिक पारवाहन मार्ग विस्तार गर्नका लागि भन्सार, अध्यागमन, सुरक्षा पोष्ट, सुख्खा बन्दरगाह, क्वारेन्टाइन लगायतका भौतिक पूर्वाधार निर्माणको कामअघि बढाउने प्रतिवद्धता गरेका थिए ।
उनले १ वर्षभित्रै वातावरणीय अध्ययन प्रतिवेदन(इआइए) र पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम पूरा गर्ने बताएका थिए । कोरोना कहर लगायतका कारण ती कुनै प्रक्रिया अझैअघि बढ्न सकेका छैनन् ।
भारतीय नाकाबन्दीपछि उत्तरी कोरलानाकाको चर्चा चुलिएको हो । चीनसँगको व्यापार तथा पारवाहन मार्ग विस्तार गर्न राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजना २०७४ मा सुरु भयो । नेपालतर्फ सडक विस्तारको कामसमेत भइरहेको छ । चीनले ७ वर्षअघिबाट उत्तरी कोरलानाको तिब्बती आफ्नो भूमी दशगजा क्षेत्रमा ठूला आधुनिक भौतिक संरचना निर्माण गरिसकेको छ ।
आधुनिक भौतिक संरचना हेर्दा चीनले पनि कोरलानाका खुला गर्ने योजना छ भन्ने बुझन् सकिन्छ । चीन पक्षले कोरलामा भन्सार, अध्यामगन, सुरक्षा पोस्ट र क्वारेन्टाइन भवन लगायतका अत्याधुनिक संरचना निर्माण गरिसकेको छ । तर, नेपालतर्फको दशगजा क्षेत्र भने रित्तो र गुमनाम छ । नेपाली सुरक्षाकर्मी पनि कोरलादेखि नेपालतर्फको करिब १५ किमीयता नेचुङमा छन् ।
कोरलाको दशगजाक्षेत्रमा चिनिया उपस्थिति रहे पनि नेपालतर्फ भने यो सुविधा छैन । बर्सेनि संघ तथा प्रदेशका मुख्यमन्त्री, मन्त्री, सांसद र सरकारी उच्च ओहदाका व्यक्ति कोरलानाकामा पुग्ने गरे पनि कोरलानाकामा भौतिक संरचना निर्माणमा कुनै पहल हुन सकेको छैन । हालसम्म जति पनि कोरलानाकामा पुग्छन्; उनीहरु चिनयाँ पक्षको भौतिक संरचना र नेपालतर्फको रित्तो नाका हेरेर फर्किने गरेको पाइएको छ ।
कोरला सडक अनुगमन र कोरलानाका अवलोकनको कार्यक्रम लिएर तेस्रो पटक मुस्ताङ आएका राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले कोरला सडकलाई तीवता दिने र कोरलानाकामा भौतिक संरचना निर्माणमा जोड दिन आफ्नो पहल रहने उही पुराना कुरा दोहोर्याए ।
उनले सडकसँगै कोरलानाकाको पूर्वाधार सँगसँगै सम्पन्न गर्न आवश्यक रहेको औंल्याए । उनले कोरलानाका खोल्न सके नेपाल, भारत र चीनसँगको त्रिदेशीय व्यापारिक सम्बन्ध स्थापित हुने दाबी गरे । उनले कोरला सडकलाई चाँडो भन्दा चाँडो सम्पन्न गर्न आयोजनालाई निर्देशनसमेत दिएका छन् ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया