सम्पादकीय: पर्यटन प्रवद्र्धनका प्रयास

समाधान संवाददाता २०७९ पुष १८ गते ११:५९

पर्यटकीय गतिविधि मेला महोत्सवबाट आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न सकिन्छ । विश्वव्यापी रुपमा प्रभाव परेको कोभिड १९को प्रकोपको कारण प्रत्यक्ष असर परेको पर्यटन क्षेत्रलाई उकास्न वेला वखत प्रवद्र्धनात्मक अभियानहरु भएका छन् । सशस्त्र द्वन्द्वको अवधिमा समेत निजी क्षेत्र तथा पर्यटन व्यवसायीले आन्तरिक पर्यटन पुनःउत्थान तथा पर्यटन प्रवद्र्धन अभियान चलाएका थिए ।

Advertisement

कोरोनाको कारण थला परेको पर्यटनलाई पुनर्जीवन दिन व्यवसायीले ‘जाऔं है पोखरा’ अभियान समेत चलाए । पोखरामा भएका सबै मेला महोत्सवलाई पर्यटन प्रवद्र्धनका हिसाबले जोडिएको छ । भने अंग्रेजी नयाँ वर्ष २०२३को सुरुवातसँगै पर्यटकीय नगरी पोखरामा विभिन्न मेला महोत्सवले पर्यटनको प्रवद्र्धनको लागि सघाएको छ । आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन तथा आर्थिक गतिविधिलाई चलायमान बनाउन मेला महोत्सव गर्नु सान्दर्भिक छ ।

पोखरा गण्डकी प्रदेशको राजधानी र पर्यटनको केन्द्र हो । पोखरालाई केन्द्रमा राखेर आन्तरिक रुपमा पर्यटकीय गतिविधि भएका छन् । पर्यटन पुनरुत्थान कार्यक्रम अन्तर्गत पोखरा र बाराको सिमरा सिधा हवाई सम्पर्क कायम भएको छ । खास गरी भारतीय पर्यटकलाई आकर्षण गर्न पर्यटन प्रवद्र्धन तथा भारतको सिमा क्षेत्रका तराईका महत्वपूर्ण शहरी क्षेत्रमा हवाई सम्पर्क विस्तार गरिएको छ ।

गण्डकी प्रदेश सरकारले समग्र प्रदेशको जनसंख्या बराबरको पर्यटन भिœयाउने योजना अगाडी सारेको छ । त्यस्तै गण्डकी प्रदेश सरकारले पोखरालाई प्रदेशको राजधानी घोषणाको लागि संघीय सरकारलाई सिफारिस गरेको थियो । प्रदेश राजधानी रहेको पोखरा महानगरपालिकाले समेत सोही प्रकृतिका सिफरिस संघीय सरकार समक्ष गरेको छ । त्यसबारे संघीय सरकारले कुनै निर्णय गरेको छैन ।

। कोभिड १९ले तहस नहस भएको पर्यटन लगायतका सबै उद्योग व्यवसाय क्षेत्रको सुदृढिकरणको लागि सरकारले व्यवसायीक पुनर्जीवन कोष तथा सहुलियत कर्जाको व्यवस्था गरेको छ । जसले पर्यटन क्षेत्रको लागि थोरै भएपनि सहयोग पुर्‍याएको छ ।

Advertisement

नेपाल लगायत विश्वव्यापी रुपमा कोभिड १९को प्रकोप अझैपनि पूर्ण रुपमा नियन्त्रण हुन नसकेको कारण सकारात्मक परिणाम आउन सकेको छैन । यस्तो अवस्थामा पर्यटन व्यवसायीहरु छुटका प्याकेज सहित पर्यटकीय गतिविधिलाई बढाएर सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्नको लागि योजनाबद्ध ढंगले काम गर्नु पर्छ ।

सरकारी निकाय, पर्यटन बोर्ड र निजी क्षेत्रको सहकार्यमा मात्र पर्यटनको प्रवद्र्धन तथा विकास गर्न सकिन्छ । पर्यटन क्षेत्रको नीति कानुन निर्माणदेखि भौतिक पूर्वाधारको काम गर्ने सरकारको दायित्व हो । सडकको अवस्था नाजुक भएकोले सरकारी निकायले वागमती, लुम्बिनी प्रदेशबाट पोखरा आउने सडक पूर्वाधारको स्तोन्नतिमा ध्यान दिन पर्छ ।

त्यस्तै पर्यटकको आवागमन तथा पर्यटन प्रवद्र्धनको महत्वपूर्ण कडीको रुपमा हवाई सम्पर्कलाई लिइन्छ । यस्तो अवस्थामा समग्र गण्डकी प्रदेशको आर्थिक समृद्धि र पर्यटन प्रवद्र्धनसँग जोडिएको नेपालको तेश्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन आएको छ । त्यसैले संघ, प्रदेश तथा स्थानीय सरकारले पोखरालाई पर्यटनको केन्द्रमा राखेर सबै विकास निर्माणका काम अगाडी बढाउनु आवश्यक छ ।

तपाईको प्रतिक्रिया