नयाँ सरकारः मामाको याद

समाधान संवाददाता २०७९ पुष १८ गते १२:२३

शब्दलाई ब्रह्म भनिन्छ तर करोडौँ शब्द अर्थबिनै कोषमा खुम्चिएर बस्छन् । कानू मामा शब्दलाई वाल्यावस्थामा खूब उडाइयो । मामाका साथीलाई हामी पिठ्यूँपछाडि कानू मामा भन्थ्यौँ । सक्कली नाम थाहा भएन, सबै कानू मामा भन्थे । पछि थाहा पाइयो, बाँस नुहाएर घाँस काट्दा घोडा चडिएको बाँस उछिटिएर ठडिँदा मामा बाँसमै झुण्डिएछन् ।

Advertisement

बाँसको छेस्कोले देब्रे आँखा घोचेछ । मामा बाँसबाट त झरेछन् तर रक्ताम्य आँखाको उपचार गाउँमा सम्भव नहुँदा एउटा आँखा नदेख्ने भएछन् । देशले विश्व प्रसिद्ध आँखाका डाक्टर सन्दुक रुइत पाईसक्दा पनि सरकारको फितलो व्यवस्थापनले जनतालाई मर्का परिरहन्छ ।

अब गाउँमा हेल्थपोस्ट छ । बाटो, बत्ती, पानी छ तर मान्छेहरुले पहिल्यै गाउँ छाडे, मामा गाउँमै बसे । हिजोआज फेरि मान्छे गाउँ उक्लिँदैछन् । गाउँमा सुन्तला खेती बढेको छ । बजारमा सुन्तला खाँदा प्रायः कानू मामालाई सम्झिन्छु । हाम्रो गाउँमा सुरुमा सुन्तला खेती कानू मामाले गरेका रहेछन् । आजकल भाउ सस्तिएर सय रुपैयाँ किलोमा राम्रै सुन्तला पाइन्छ । नेपाल सुन्तलामा आत्मनिर्भर भइसकेझैँ लाग्छ । गुन्द्रुक, सिन्कीसमेत आयात गरिने यो बेला नयाँ सरकारले उत्पादनमुखी केही काम गर्छ कि !

कमरेड प्रचण्ड शेरबहादुरको तुलनामा कानू मामा जस्तै हुन् । हाम्रो उखानले भन्छ, नहुनु मामाभन्दा कानू मामा ठीक ।

स्थानीय तहको चुनावको बेला रहेछ । अहिले सम्झिन्छु, ०५४ सालमा म ९/१० वर्षकी थिएँ । मेरा साक्खे मामा चन्द्रबहादुर कृषि अधिकृत भए पनि एमालेलाई सघाउनुहुँदो रहेछ । गृहमन्त्री वामदेव गौतमले ठोकठाक पारेछन् । आफ्ना कार्यकर्तालाई कुटेर आउनू, कुटाई खाएर नआउनू भन्थे अरे । एमालेले राम्रो विजय हासिल गरेछ । त्यहीँदेखि नेपाली काङ्ग्रेस तल तल झरेछ र अहिले जितेर पनि हारेछ । पोखराको लिट्रेचर फेस्टिबलमा गगन थापा र विश्वप्रकाश शर्माले बोलेको सुन्दा कटक्कै मन खायो, टीठ लाग्यो ।

Advertisement

आफ्नै महामन्त्रीहरुसँग शेरबहादुर देउवा पटक्कै सल्लाह गर्दा रहेनछन् । यसैले त भन्न मन लाग्छ, कमरेड शेरबहादुरभन्दा प्रचण्ड ठीक ! लुम्बिनीमा भारतका प्रधानमन्त्रीका अगाडि हाम्रा प्रधानमन्त्री साह्रै बिजोकका देखिए । त्यहीँदेखि ममा राजनीतिक चेत पलाएजस्तो भाथ्यो । नानीबाबुलाई सामाजिक शिक्षा पढाउँदा देशको हालत बताउनु मिल्दैन । समाज र सामाजिक सद्भाव सिकाउनु अप्ठेरो छ । हामी कहिल्यै परतन्त्र रहेनौँ, हाम्रो देश सधैँ स्वतन्त्र रह्यो भन्नुपर्छ । सैयौँ थुंगा फूलका हामी…दिनदिनै गाउनुपर्छ ।
‘घरै पोखरा ?’ चिनजानका बेला जमुना म्यामले सोध्दा मैले ‘हाम्रै घर त छैन, म श्रीमान्सँग सासूससुराको घरमा बस्छु !,’ भनेकी थिएँ । साथीहरु गलल्लै हाँसेका थिए । धेरैको आफैंले घर बनाउने हैसियत छैन । स्कुलको बोर्डमा मार्करसँगै हाड घोटेर घर बन्दैन । विदेश जाने धेरैको भव्य घर भत्केको देखिन्छ । डिभोर्स संस्कृति पन्पिएको छ । पारिवारिक विघठन, समाज विघठन, मुलुक विघठनको स्थिति छ ।
नेपाली राजनीतिमा घण्टी बजाउँदै रवि उदाए । सूर्य चिन्हका केपी ओलीले अनौठो चमत्कार गरे । हामीले नेपालमै केही गर्नुपर्छको भाव पलाएको छ । एक जना साथीले कात्तिक ३० को पत्रिकामा ‘खगराज अधिकारी घूस नखाने छविका नेता हुन् !’ लेखेकी थिइन् । यस अघिका मन्त्रीहरुले बेस्सरी कर बढाएर आफ्नाका सालिक ठड्याए । अब गण्डकीको गन्दगी अलि घट्छ कि !
माइत सोधिँदा जामुने भन्छु । जामुनेको पूर्वी पाखो वहपुरमा जन्मेँ, हुर्केँ । अहिले सोँच्छु, मेरो गाउँको नाम किन वहपुर राखियो होला ? मान्छेका गहमा वहका आँसु पोखिने भएरै हो कि ! केही वर्ष अघिसम्मै गाउँ दुर्गम थियो । १८÷२० वर्ष पहिले कानू मामा हामीलाई ५ रुपैयाँमा ३ दाना सुन्तला दिन्थे । अब त मामा निकै बूढा भए होलान् । स्कूल अगाडिको चौतारामा सुन्तला थुपारेर बसिरहेकै होलान् । सुन्छु, वहपुर पाखो लटरम्म पाकेका पहेँला सुन्तलाले ढकमक्क ढाकिएको छ अरे ।
‘मेरो प्यारो ओखलढुङ्गा….!’ स्वर खोलेर गाउँछु । ‘मेरो प्यारो वहपुर पाखो…!’ लेख्ने खूबी छैन । भीम दाइ बाको सिको गरेर लेख्नु प¥यो नि भन्नुहुन्छ । भीम दाइ अनुज पुस्ताका प्रत्येकलाई पढ्ने, लेख्ने हुटहुटी दिनुहुन्छ । मलाई गाउँ सम्झेर ग्वाँग्वाँ रुन मन लाग्छ । ६ वर्षकी छोरीको अनुहारमा हेर्छे । म मन थाम्छु र आँसु आँखामै लुकाउँछु । झोलामा कापीकिताब बोकेर लक्ष्मी प्रावि जाँदा आउँदाका साल, चिलाउने, कटुस, तीतेपाती र वनफूलका सुगन्ध नाकमा आउँछ । घरमा कहिलेकाहीँ ग्यास लिक हुन्छ र गनाउँछ । म युटुबमा समाचार हेर्छु ।
पढाइको परीक्षामा ८९ ल्याउने घोकन्तेलाई ३२ ल्याउने ज्ञानीले जिते भनिँदै छ । केपी ओलीको रोडम्यापमा प्रचण्डपथको विश्लेषण पनि गरिँदैछ । प्रचण्डपथ अवलम्बन गरिँदा ठूलो जनधनको खति भएको साँचो हो । अहिले थरिथरिका मान्छे मन्त्री भएका छन् । वालेन शाहले सत्य बके; राजा हटाउने, राजा मार्ने र राजा फर्काउने सबै खाले मान्छे संसदमा छन् । राजनीतिका चतुर खेलाडी केपी ओली रुद्राक्षको माला पहिरन्छन् । धर्म, संस्कार र संस्कृति बुझेका नेताको संयोजन भरोसालाग्दो छ ।
राजनीति शास्त्रमा, कानुनमा डिजुरे र डिफ्याक्टो अधिकारको वर्णन हुन्छ । डिफ्याक्टो प्रधानमन्त्री प्रचण्ड हुन् तापनि डिजुरे (वास्तविक) अधिकार केपी ओलीमा निहित छ । स्वयं प्रचण्डद्वारा राजावादी घोषणा गरिएका केपी ओली राजनेताका रुपमा उदाएका छन्, आशाका केन्द्र बनेका छन् । ज्योतिषीकै भरमा ७ पटक प्रधानमन्त्री बन्ने शेरबहादुर देउवाको सपना तुहियो । गोविन्दराज पोख्रेलले भने, ‘विचारलाई तिलाञ्जली दिने कांग्रेसमा ९० प्रतिशत भए !’ १० प्रतिशत कांग्रेस अझै इमानमा रहेछन् । मलाई भाउन्न छुट्छ, माओवादीमा त्यस्ता ईमानी कति प्रतिशत होलान् ?
संविधानको धारा ७६ (२) नाघेर ३ तिर उक्लिने शेरबहादुरको सोँचले फेल खायो । खुल जा सिमसिम ! आर्जु म्यामको मन्त्र बिफल भयो । क्रान्तिको सपना बाँड्ने प्रचण्डमाथि फेरि एक पटक जनपत्यार पलाएको छ । मेरा मामालाई सुन्तलाका पायनियर भनेर गाउँमा सम्मान गरिँदैछ । कमरेड प्रचण्ड शेरबहादुरको तुलनामा कानू मामा जस्तै हुन् । हाम्रो उखानले भन्छ, नहुनु मामाभन्दा कानू मामा ठीक । नवनियुक्त प्रधानमन्त्रीज्यूको तेस्रो आँखा खुल्ने र उहाँमा वोधिसत्व प्राप्त हुने सम्भावना पनि त छ !

,

तपाईको प्रतिक्रिया