प्रदेश सभाको पहिलो बैठकमा २ अध्यादेश पेस

समाधान संवाददाता २०७९ पुष १९ गते ११:१३

पोखरा ।
गण्डकी प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन सोमबार सुरु भएको छ । अधिवेशनको पहिलो बैठकमा २ वटा अध्यादेश पेस भएका छन् । बैठकमा प्रदेश सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले अध्यक्षता गरे । सभामुखको निर्वाचन नभएको अवस्थामा ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्ने संवैधानिक व्यवस्था छ ।

Advertisement

बैठकको सुरुमा ज्येष्ठ सदस्य बस्यालले प्रदेश प्रमुखको अधिवेशन आह्वानको पत्र पढेर सुनाएका थिए । त्यसपछि २ अध्यादेश पेस गरिएको थियो । बैठकले प्रदेश सभाको काम कारबारहीलाई नियमित गर्न गण्डकी प्रदेश, प्रदेश सभा नियमावली २०७४ लाई स्वीकार गरी बैठक सञ्चालन गर्न प्रस्ताव गरेका थिए । सांसदहरुले त्यसलाई पारित गरेका थिए । अधिकांश सांसदले टेबुल ठोकेर समर्थन जनाए भने कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले हात उठाएर समर्थन गरेका थिए ।

६० सदस्यीय प्रदेश सभाको पहिलो बैठकमै ३ जना सांसद गयल भएका थिए, तर ती ३ जनाको नाम प्रदेश सभा सचिवाललय खुलाएको छैन

सोमबारको बैठक ३ बजे सुरु भएर १० मिनेटमै सकिएको थियो । कांग्रेसका अर्का सांसद महेन्द्रध्वज जिसी बैठक सकिएसकेपछि मात्रै संसद पुगेका थिए । युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ सभाको अन्तिम लहरमा थिए ।

मर्यादापालकले मन्त्रीहरु सबैभन्दा अगाडि बस्नुपर्ने संकेत गरेपछि उनी अघि गएका थिए । ६० सदस्यीय प्रदेश सभाको पहिलो बैठकमै ३ जना सांसद गयल भएका थिए, तर ती ३ जनाको नाम प्रदेश सभा सचिवाललय खुलाएको छैन ।

Advertisement

प्रदेश सभाका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले ‘गण्डकी प्रदेशको निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ र ‘स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ संसदमा पेस गरेका हुन् । उक्त बैठक अध्यादेश पेस गरेसँग सकिएको थियो ।

उक्त अध्यादेश प्रदेश सरकारले अघिल्लो संसद बैठक अन्त्य भइसकेपछि गत असोज ७ गते जारी गरेको थियो । त्यसलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रमाणीकरण गरेका थिए । संसद नभएका बेला जारी गर्न सकिने अध्यादेश अर्काे संसद अधिवेशन डाकिँदा पहिलो बैठकमै पेस गर्नुपर्ने कानुनी व्यवस्था छ । प्रदेश सभाका ज्येष्ठ सदस्य बस्यालले अर्को बैठक पुस २९ गते बस्ने गरी स्थगित गरे । गण्डकी प्रदेश सभाका नवनिर्वाचित सदस्यहरुले १४ पुसमा सपथ लिएका थिए ।

सरकार गठन नभइसकेको हुँदा सोमबार प्रदेश सभामा सांसदहरु प्रतिपक्ष र सत्तापक्ष नबनी छ्यासमिस बसेका थिए । संसदीय परम्परामा सत्तापक्ष सभामुखको दायाँ र प्रतिपक्ष बायाँ बस्ने प्रचलन हुन्छ ।

तपाईको प्रतिक्रिया