कृष्ण केसीलाई कांग्रेसको साधारण सदस्यबाट समेत निस्कासन माग्दै उजुरी
आरोप निराधार हुन्, सामना गर्न तयार छु: केसी

पोखरा ।
नेपाली कांग्रेस कास्कीका पूर्व सभापति कृष्ण केसीलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्कासन गर्न माग गर्दै केन्द्रीय अनुशासन समितिमा उजुरी परेको छ । भर्खरै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा अन्तर्घात गरेर पार्टीका उम्मेद्वारलाई हराएको दाबी गर्दै पार्टीबाट निस्कासन गर्न माग गरिएको हो ।
कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा पराजित कांग्रेस उमेद्वार किशोरदत्त बराल र प्रदेश सभा १ (१) का उम्मेद्वार दीपक गुरुङले पूर्व सभापति केसीले अन्तर्घात गरेकै कारण आफूहरुले हारेको दाबी गर्दै अनुशासन समितिमा उजुरी दर्ता गराएका छन् ।
किशोरदत्त बराल नेपाली कांग्रेस कास्कीका सभापति हुन् भने दीपक गुरुङ महासमिति समिति सदस्य हुन् । नेपाली कांग्रेस कास्कीका निवर्तमान सभापति केसी महासमिति सदस्य छन् । कास्की कांग्रेसको अधिवेशनमा बराल सभापतिमा निर्वाचित भएपछि उनीहरुबीच राम्रो सम्बन्ध नभएको कांग्रेस स्रोत बताउँछ । पछिल्लो समय सभापतिमा बराललाई जिताउन केसीसमेत लागेका थिए ।
गएको प्रतिनिधि सभा निर्वाचनमा केसी संघीय सांसदका आकांक्षी थिए । तर पार्टी नेतृत्वले जिल्ला सभापति बराललाई उम्मेद्वार बनायो । ०७४ को निर्र्वाचनमा प्रदेश सांसदमा चुनाव लडेका केसी एमालेका मानबहादुर गुरुङसँग पराजित भएका थिए ।
आफूभन्दा सिनियर नेता तथा निवर्तमान सभापति केसीलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्कासन गर्न माग गरेका कास्की कांग्रेस सभापति बरालले अन्तर्घातका प्रमाणहरु सहित निवदेन दर्ता गराएको समाधानलाई बताए ।
‘कृष्ण केसीले हामीहरुलाई हराउन खेलेका भूमिका सप्रमाण फेला पारेकाले कारवाहीका लागि उजुरी दिएका हौं,’ सभापति बरालले समाधानसँग भने, ‘भिडिओ, अडिओ, म्यासेन्जरमा भएका संवाद, अन्तर्वार्ता र समाचारहरुले उहाँले हराउन यथेस्ट भूमिका खेलेको पुष्टि गर्छन् ।’
मेरोविरुद्ध उजुरी दिनेलाई मेरोभन्दा ठूलो कारबाही गर्नुपर्ने स्थिति हुन सक्छ: कृष्ण केसी
यसअघि मंसिर १५ गते बसेको जिल्ला कार्यसमितिको बैठकले प्रमाणहरु फेला पारेमा जिल्ला सभापतिले केन्द्रमा उजुरी गर्न सक्ने निर्णय गरेकाले सोही बमोजिम आफूहरुले अनुशासन समितिमा निवेदन दिएको बरालले बताए । टिकटबारे छलफल हुँदा केसीले विद्रोहको धम्की दिएको उनले सुनाए । ‘म कम्युनिस्टबाट विद्रोह गरेर कांग्रेस भएको हुँ, टिकट पाइनँ भने विद्रोह गर्न सक्छु भन्नुहुन्थ्यो,’ उनले भने ।
कांग्रेसको अनुशासन समितिको नेतृत्वमा आनन्द ढुंगाना मात्र छन् । समिति विस्तार भएको छैन । सो समितिले अन्तरघात गर्नेहरुको बारेमा उजुरी दिन पुस १५ गतेसम्म समय दिएको १२ गते नै आफूले निवदेन दर्ता गराएको बरालले समाधानलाई बताए । अहिले उजुरी दिने समय थप गरेर माघ १५ सम्म पुर्याइएको छ ।
कृष्ण केसीले भने स्थानीय निर्वाचनमा महानगरपालिकामा कांग्रेसको उम्मेदवार पराजित हुँदा कुनै समीक्षा नगरिएको बताएका छन् । आफूमाथिका आरोप निराधार भएको भन्दै त्यसको समाना गर्ने पनि उनले बताएका छन् ।
तपाईको प्रतिक्रिया