पहिलो दिनमै गयल प्रदेश सांसद

पोखरा ।
गण्डकी प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठक सोमबार बस्यो । प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालको अध्यक्षतामा बसेको पहिलो बैठकमा २ जना सांसद अनुपस्थिति भए ।
६० सदस्ययीय गण्डकी प्रदेश सभामाको पहिलो बैठकमा ५७ जनाले मात्र हाजिरी गरेको सचिवालयका एक कर्मचारीले जानकारी दिए । ३ जनाको हाजिरी नभएपनि सोमबारको बैठकमा २ जना सांसद अनुपस्थिति भएको उनको भनाइ छ ।
‘प्रदेश सभामा भएका सदस्यमध्ये १ जनाले सभाको अध्यक्षता गर्दा हाजिर गर्नुभएन । २ जनाले चाहिँ हाजिर गर्नुभएन कि प्रदेश सभामा आउनुभएन । त्यो छुट्याउन समय लाग्छ,’ ती कर्मचारीले भने । पहिलो बैठकमा हाजिरीमा गयल हुने प्रदेश सांसदहरु जीतप्रसाद आलेमगर र विमला गौचन हुन् । गौचन नेपाली कांग्रेस म्याग्दीबाट सामानुपातिक सांसद बनेकी हुन् । आलेमगर तनहुँ २ (२)बाट प्रत्यक्ष निर्वाचित भएका हुन् ।
उनीहरुसँग समाधानले कुरा गर्दा गौचनले आफू संसद आएपनि हाजिरी गर्न भुलेको बताइन् । ‘हैन, संसद त आएको थिएँ । तर, हाजिरी गर्न भुलेछु,’ उनले भनिन् । यता सांसद आलेमगरले आफू आउँदाआउँदै बाटोमा ट्राफिक जामले नभ्याएको सुनाए । ‘प्रदेश प्रमुखले ३ बजे भन्नुभएको थियो ।
सोही अनुसार म बाटोमा आउँदै थिएँ । तर, ट्राफिक जाममा परेकाले पहिलो संसद बैठकमा उपस्थित हुन सकिनँ,’ आलेमगरले भने । कांग्रेसका अर्का सांसद महेन्द्रध्वज जिसी पनि संसद बैठक बसेर सकिँदामात्रै भित्र पस्न भ्याएका थिए ।
सोमबार सभामा दुई वटा अध्यादेश पेस भएका थिए । आधा घन्टा पनि संसद बैठक चलेन । बैठकमा प्रदेश निजामती सेवा र स्थानीय सेवा गठन तथा सञ्चालन सम्बन्धी अध्यादेश पेस भएका हुन् । सरकारले ल्याएका अध्यादेशहरु संसद बसेको पहिलो बैठकमै पेस गर्नुपर्ने कानुनी प्रावधान छ । सोही अनुसार अध्यादेश टेबल गरिएको हो ।
तपाईको प्रतिक्रिया