अन्तर्राष्ट्रिय जुनियर टेनिस सुरु

समाधान संवाददाता २०७९ पुष २० गते ११:२५

पोखरा ।
पोखरामा दोस्रो मनुश्री ̸ भिग्नजित अन्तर्राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता सुरु भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा उक्त प्रतियोगिता पोखरा रंगशालास्थित टेनिस कोर्टमा सुरु भएको हो ।

Advertisement

प्रतियोगिता अन्तर्गत पहिलो दिन गल्र्स र ब्वाइजतर्फ १३ सिंगल्सका पहिलो चरणका इभेन्ट भएको टुर्नामेन्ट डाइरेक्टर राजन पौडेलले जनाए । प्रतियोगिताको पहिलो दिन यू–१४ ब्वाइजतर्फ स्पर्श तिमिल्सिना, शाश्वत बज्रचार्य, दर्शिल श्रेष्ठ विजयी भएका छन् ।

निशाद जोशीले स्पर्शलाई वाक ओभर दिएका थिए भने अदित नेपालले दर्शिललाई वाक ओभर दिएका थिए । शास्वतले सन्दीप विकलाई ६–०, ६–२ को सोझो सेटमा पाखा लगाए । त्यसै गरी व्रिजेश अर्याल र सृजन भट्टराईसमेत सोही उमेर समूहबाट आ–आफ्नो खेल जित्दै विजेता बने ।

यता, गल्र्स यु १४ को खेलमा शिभाली गुरुङले समृद्धि महर्जनलाई ६–४, ६–३ ले, स्वस्तिका विष्टले करमिष्ठा श्रेष्ठलाई ६–०, ६–० ले पराजित गर्दा यु १६ गल्र्सतर्फ सुनिरा थापाले समृद्धि महर्जनलाई ६–०, ६–१ ले पछि पारिन् । स्वस्तिका विष्टले करमिष्ठा श्रेष्ठलाई ६–९, ६–३ ले पराजित गरेका छन् ।

यु १० गल्र्सतर्फ शाल्भी शेरचनले सुवर्ण गुरुङलाई ६–१, ६–० ले पराजित गरेको आयोजकले जनाएको छ । यु १२ गल्र्समा शाल्भी शेरचनले आरुषी तुलाचनलाई ६–२, ६–० ले पाखा लगाइन् । शिभालीले केजिया शाक्यलाई ६–०, ६–० को सोझो सेटमा पराजित गरिन् ।

Advertisement

१४ वटा इभेन्टमा ३७ खेलाडीको सहभागिता छ भने प्रतियोगितामा गल्र्सतर्फ १५ र ब्वाइजतर्फ २२ खेलाडीको सहभागिता रहेकोमध्ये पोखराका ८ तथा अन्य खेलाडी पोखरा बाहिरका छन् । प्रतियोगितामा यू–८, यू–९, यू–१०, यू–१२, यू–१४ र यू–१६ ब्वाइज तथा गल्र्स सिंगल्सका साथै ओपन ब्वाईज तथा गल्र्स डबल्स गरी विभिन्न १४ ईभेन्टमा प्रतिस्पर्धा भइरहेको छ ।

जुनियरतर्फ यू–८, यू–९ र यू–१०, ब्वाईज तथा गल्र्स सिंगल्स विजेता तथा उपविजेताले गिफ्ट ह्याम्पर तथा मेडल प्राप्त गर्ने छन् भने यू–१२ ब्वाईज तथा गल्र्स सिंगल्स बिजेताले जनही नगद ८ हजार तथा उपविजेताले जनही नगद ५ हजारसहित मेडल प्राप्त गर्ने प्रतियोगिताकी संयोजक प्रिती बरालले जानकारी दिइन् ।

त्यस्तै यु १४ ब्वाइज तथा गल्र्स सिंगल्स विजेताले समान जनही नगद १२ हजार, उपविजेताले समान जनही नगद ६ हजारसहित मेडल प्राप्त गर्ने छन् । यू–१६ ब्वाइज तथा गल्र्स सिंगल्स विजेताले समान जनही नगद १५ हजार, उपविजेताले समान जनही नगद ७ हजार ५ सय तथा ब्वाईज तथा गल्र्स ओपन डबल्सतर्फ बिजेताले समान जनही नगद १५ हजार, उपविजेताले समान जनही नगद ७ हजार ५ सयसहित मेडल प्राप्त गर्ने संयोजक बरालले बताइन् ।

यसअघि प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका सांसद प्रकाश बरालले गरेका थिए । संघका अध्यक्ष लोकबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थ, पोखरा महानगर खेलकुद विकासका अध्यक्ष दीपकबहादुर गोदार र जिल्ला खेलकुदका कार्यालय प्रमुख डिबी नेपालीले बोलेका थिए ।

तपाईको प्रतिक्रिया