
पोखरा ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अंग्रेजी नयाँ वर्ष २०२३ को पहिलो दिन अर्थात पुस १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेसँगै पोखरेलीको साढे ४ दशकपछिको सपना पूरा भएको छ । विमानस्थल सञ्चालनमा आएसँगै पोखराका पर्यटन व्यवसायी पनि निकै उत्साहित भएका छन् ।
नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी सदस्य एवं अग्रज पर्यटन व्यवसायी वासु त्रिपाठीले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सारा पोखरेलीको साझा सपना पूरा हुँदा निकै खुसी लागेको बताए । उनले भने, ‘विसं २०३२ मा तत्कालीन अञ्चलाधीश डा शंकरराज पाठकले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको परिकल्पना गर्नुभएको थियो । उहाँको ऊर्जाशील क्षमताले तत्कालीन समयमा जग्गा अधिग्रहण सम्भव भयो, निरन्तरका प्रयासपछि आज पोखरेलीको सपना पूरा भयो ।’
विमानस्थल सञ्चालनमा आएसँगै पोखरामा विशेष गरी भारतीय धार्मिक पर्यटकको आगमन बढाउन सहयोगी हुने उनको विश्वास छ । साथै, गण्डकी प्रदेश र समग्र नेपालको पर्यटनका साथै आर्थिक, सामाजिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पोखराबासीको विकासप्रतिको एकीकृत धारणाले मात्र सम्भव भएको उनको बुझाइ छ ।
पोखरेलीको सपना साढे ४ दशकपछि पूरा भएको छ । पोखराका पर्यटन व्यवसायी पनि निकै उत्साहित छन्
पोखरा क्षेत्रीय विमानस्थल निर्माण सरोकार समितिले २०६८ चैत ११ मा विज्ञप्ति जारी गरी संघर्ष सुरु गरेको थियो । आन्दोलनमा १ सय ५१ श्रृखङ्लासम्म २ हजार ४ सय २ जनाले रिले अनसन बसेका थिए । सो समयमा आफूलगायतका केही व्यक्तिले आमरण अनशन बस्न तयार भएको भन्दै नामसमेत लेखाएको त्रिपाठीले स्मरण गरे । तत्कालीन समयमा पाँच सय वटा कारले काठमाडौँसम्म दबाबमूलक यात्रा गरेर नेपाल नागरिक उडड्यन प्राधिकरण घेरा हालेको अनुभव पनि उनीसँग छ ।
आधुनिक पोखरासँगै यसको निर्माणमा पूर्वपर्यटन मन्त्री स्व रवीन्द्र अधिकारीको योगदान बिर्सन नहुने त्रिपाठीको भनाइ छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ राष्ट्रिय गौरबको आयोजना यति छिटो पूरा भएर उद्घाटन हुनु आफैंमा गर्वको विषय भएको जनाउँदै अब पोखराको पर्यटनले गति लिनेमा आफू विश्वस्त भएको सुनाए । ‘पोखरामा विमानस्थल निर्माणलाई तत्काल नै नाफा/घाटा हेरेर हुँदैन, यसले यहाँको आर्थिक विकासमा दीर्घकालीनरुपमा कसरी लाभ हासिल गर्न सकिन्छ भन्ने विषयमा अबको बहस केन्द्रित गर्नुपर्छ’, श्रेष्ठले भने ।
उनले अन्तर्राष्ट्रियतर्फ बुद्ध एयरले पोखराबाट भारतका विभिन्न ३ गन्तव्यमा उडानका लागि पहल गरेको र अन्य एयरलाइन्सले पनि पोखराबाट उडानका लागि चासो देखाएको भन्दै सरकारले विशेष ध्यान दिन आवश्यक रहेको जनाए ।
रेष्टुराँ एन्ड बार एसोसियसन (रेवान) पोखराका अध्यक्ष नरेश भट्टराईले विमानस्थलको औपचारिक सञ्चालनले नयाँ वर्षको आगमनसँगै पोखरेलीमा थप खुसी सञ्चार गराएको बताए । उनले विमानस्थल सञ्चालनमा आउन सक्ने चुनौतीलाई सुरुदेखि व्यवस्थित गर्दैै लान सके यो सफल विमानस्थलको रुपमा स्थापित हुने विश्वास व्यक्त गरे ।
नेपाल एसोसियशन अफ टुर एन्ड ट्राभल एजेन्टस (नाट्टा) गण्डकी अध्यक्ष हरिराम अधिकारीले विमानस्थल सञ्चालनसँगै पोखराको पर्यटन क्षेत्र लाभान्वित हुने विश्वास व्यक्त गरे । ‘अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भयो, हवाईमार्गले अब पोखरालाई विश्वसँग जोड्ने छ । दिगो पर्यटनका लागि योसँगै अझै थप पूर्वाधार जरुरी छ’, अधिकारीले भने ।
लेखनाथ होटल तथा रेस्टुरेन्ट एसोसियसनका पूर्व अध्यक्ष दामोदारभक्त थापाले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै लेखनाथको पर्यटन प्रवद्र्धन र विकास हुनेमा आशावादी भएको सुनाए । उनले भने, ‘नयाँ विमानस्थलसँग लेखनाथको बेगनासम्मको दूरी जम्मा १० किलोमिटर छ, यसले साततालको सुन्दरता बोकेको लेखनाथमा पर्यटकीय गतिविधि पक्कै बढाउनेछ ।’
उनले पोखराको लेकसाइड र लेखनाथको बेगनास समदुरीमा रहेको र सरकारले समभाव राखेर पूर्वाधार विकास गर्नुपर्ने जोड दिए । ग्रेटर पोखराको अवधारणा अनुरुप कहाँ लगानी गर्दा पर्यटनमा दिगो विकास हुन्छ त्यसतर्फ ध्यान दिन उनको आग्रह छ ।
धार्मिक, सांस्कृतिक, प्राकृतिक, साहित्यिक एवं ऐतिहासिक रुपले रहेकाले पनि अबका दिनमा लेखनाथ उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै जाने उनको भनाइ छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्राष्ट्रिय विमानस्थलाई प्रभावकारी सञ्चालन गरेर देशकै गर्व गर्न लायक विमानस्थलको रुपमा विकास गर्नुपर्ने र सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने उनी बताउँछन् ।
चीनको एक्जिम बैंकको ७५ प्रतिशत ऋण र २५ प्रतिशत अनुदानमा करिब २२ अर्बको लागतमा विमानस्थल निर्माण भएको हो । विमानस्थल करिब ३ हजार ७ सय रोपनीमा निर्माण भएको छ ।

जमुना वर्षा शर्मा
डेढ दसकदेखि पोखरामा क्रियाशील पत्रकार शर्मा राष्ट्रिय समाचार समितिमा आवद्ध छिन्
तपाईको प्रतिक्रिया