कलाकार रञ्जितको ९१ को जन्मोत्सव

पोखरा ।
कलाकार कृष्णगोपाल रञ्जितले ९१ औं जन्मोत्सव गृहनगर पोखरामा मनाएका छन् । काठमाडौंमा बस्दै आएका रञ्जित जन्मोत्सवको अवसरमा जन्मभूमि पोखरा आएका थिए । त्यही अवसरमा उनका भतिजाहरू वैकुण्ठ, शिव, सुदर्शन र विजय रञ्जित तथा बुहारीहरुले आफ्ना काकालाई दीर्घायुको कामनासहित जन्मोत्सव मनाउने चाँजो मिलाएका थिए ।
त्यस अवसरमा रञ्जित परिवारका सदस्यहरुसहित वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्स्यायन’, कविद्वय तीर्थ श्रेष्ठ, रमेश श्रेष्ठ, शिक्षासेवी जर्ज जोन, कलाकार सुनील सिग्देलसहितका व्यक्तित्वहरुले कृष्णगोपाललाई जन्मोत्सवको शुभकामना प्रदान गरे । कलाकार रञ्जितले शिक्षासेवी जर्ज जोनसँग २०१० को दसकमा काठमाडौंमा भेटेको र सँगै एउटै इन्स्ट्च्यिुटमा काम गरेको सम्झना गरे ।
कमर्सियल आर्टिस्ट रञ्जितले आफ्नो कलाको प्रेरणा स्रोत प्रकृति भएको सुनाए । सानै उमेरमा काठमाडौंमा गएका उनले आफूले पढ्न भने नपाएको बताए । ‘पढ्न पाइएन अनि फुर्सदमा कोर्दाकोर्दै कलाकार भइएछ ।’ उनले २८ वर्ष नेपाल वायुसेवा निगममा सेवा गरेका थिए । वायुसेवा निगमको लोगो आकाश भैरव रंग्याउने कलाकार उनै हुन् ।
उनी साइनबोर्ड र होर्डिङ बोर्डको संस्कृति नेपालमा आफूले भित्र्याएको पनि सम्झना गर्छन् । ९१ वर्षमा छँदा पनि अझै फुर्तिला कलाकार रञ्जित अचेलका दिनहरु पनि कला कोरेर बिताउँछन् । ठट्यौला स्वभावका कलाकार रञ्जितले अन्त्यमा भने, ‘सय वर्ष बाँच्ने हो, त्यतिखेर पनि पोखरा आउँछु है ।’
तपाईको प्रतिक्रिया