भोगचलन गर्दै आएको जग्गाबाट पुल बनाउन लागेको भन्दै क्याम्पसको विरोध

समाधान संवाददाता २०७९ पुष २१ गते १९:३५

पोखरा ।
पृथ्वीनारायण क्याम्पस परिसरबाट मोटरेबल पुल निर्माण गर्न लागेपछि क्याम्पसले विरोध जनाएको छ । क्याम्पसले भोगचलन गर्दै आएको जग्गाबाट पोखरा महानगरपालिका १ र ११ जोड्नलाई सेती नदीमाथि मोटरेबल पुल निर्माण गर्न लागेपछि क्याम्पस प्रशासनले विरोध जनाएको हो ।

Advertisement


पुल सेक्टर पोखरा, कास्कीका योजना प्रमुख नवराज बास्तोलाले पुल निर्माण सुरु लागेको जानकारी क्याम्पसलाई गराएको थियो । क्याम्पसले भोगचलन गर्दै आएको कि. नं. ८३३ बाट पुल बनाउन लागेको हो । संघिय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय पुल सेक्टरले पोखरा वडा नं १ र ११ नं जोड्न निर्माण हुन थालेकोले सो पुलको लागि निर्माणस्थलसम्म सामाग्री पु¥याउन बाटो माग्दै गत पुस १२ गते क्याम्पसलाई पत्र लेखेको थियो ।

त्यसको विरोध गर्दै क्याम्पसले बिहीबार पत्रकारसम्मेलनमार्फत माफियाको प्रभावमा परेर क्याम्पस परिसरबाट पुल निर्माण गर्न लागेको आरोप लगाएको हो । क्याम्पस प्रमुख प्राडा सरोज कोइरालाले भने, ‘पुल निर्माण गर्न लागिएको जग्गा क्याम्पसको हो, केही जग्गा क्याम्पसको नाममा नभएपनि हकभोग गर्दै आइरहेका छौं ।’


पुलको पुस २३ गते शिलान्यास हुने कार्यक्रम थियो । तर, क्याम्पसको विरोधले शिलान्यास कार्य रोकिएको छ । ‘त्यहाँबाट पुल बन्नु हुन्न भन्ने हाम्रो माग हो, मेयर साबले फोन गरेर शिलान्यास रोकिएको बताउनुभयो,’ क्याम्पस प्रमुखले भने ।


पुल निर्माण कार्य बन्द गर्न र क्याम्पसको हित विपरित काम नगर्न आग्रह गरेको छ । निर्माणाधिन पुल सो जग्गा भुमाफियाले १ सय ६२ जनाको ३ सय १८ वटा कित्ताकाट भएको थियो । तर, सो कित्ताकाट २०५८ सालमा मालपोत कार्यालयले खारेज गरिदिएको हो ।

Advertisement


उक्त जग्गा क्याम्पसको भोगचलनमा रहेको र दर्ता प्रकृयामा समेत अगाडी बढेकाले क्याम्पसकै रहेको क्याम्पस प्रमुख कोइरालाले बताए । उनले भने, ‘हामी विकास विरोधी होइनौ, पुल बनाउने हो भने क्याम्पसकै दर्ताभित्रको जग्गाबाट पुल निर्माणका लागि सहमति दिन सकिन्छ ।’


क्याम्पसलाई थाहै नदिइ पुल निर्माण गर्नु भूमाफियाको चलखेल हुन सक्ने त्रिवि प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पस एकाइ समितिका सभापति डा. लक्ष्मीशरण अधिकारीले आशंका व्यक्त गरे । भूमाफियाहरु बलियो भएर लागेको उनको आरोप छ । ‘पुल त कति चोटि धर्ना बसेर यहाँ चाहियो भनेर जनदबाब दिएर त पाइदैन । ५ सय मिटरको दुरीमा त्यत्रो पुल खुसुखुसु क्याम्पसलाई थाहै नदिइकन कहाँ कहाँबाट सेटिङ भएर आको हाम्ले बुझेम’, उनले भने । उनले क्याम्पस प्रशासनले भोगचलन गर्दै आइरहेको जग्गा फुत्कन नदिने उल्लेख गरे ।


क्याम्पस रहेको जग्गा तत्कालीन समयमा रत्नाखर पराजुलीले १८७७ मा वृता पाएको जग्गा हो । सो जग्गा क्याम्पसको नाउँमा पराजुली परिवारले दिएका थिए । तर, जग्गाको मूल्यसँगै महत्व बढ्दै गएपछि २०४५ सालमा सोही परिवारबाट दर्ता छुट भनि कित्ता काट गरेकोमा पछि कुनै प्रमाण नपुग्ने भन्दै विभिन्न अदालतको निर्णयबाट क्याम्पसकै भोगचलन दिने देखिएको छ ।


हाल पि.एन क्याम्पसको स्वामित्वमा झन्डै ७ सय १६ रोपनी जग्गा छ । पुल निर्माणको विरोधमा भन्दा पनि क्याम्पसको नाममा नआएको जग्गा भुमाफियाको चङ्गुलमा पर्छ कि भनेर तर्सिएको बुझिएको छ ।


२०१७ साल भदौ १७ गते स्थापना भएको सो क्याम्पस गण्डकी प्रदेशको मात्रै नभइै मुलुककै अग्रणी शिक्षणसंस्थाको रुपमा पाइन्छ । यस क्याम्पसमा ५ वटा संकायका ३३ वटा विभाग र ३४ बिषयमा झन्डै १५ हजार विद्यार्थीहरु अध्ययनरत छन् ।

तपाईको प्रतिक्रिया