
सञ्जय रानाभाट, पोखरा ।
गण्डकी प्रदेशमा कुनै पनि दलको बहुमत नआएकाले प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दुई वा दुई भन्दा बढी दलको समर्थनमा सरकार गठन गर्न आह्वान गरेका छन् । प्रमुख गुरुङले बिहीबार दिउँसो प्रदेशमा नयाँ जनमतसहितको सरकार गठन आह्वान गरेका हुन् । सरकार गठन गर्न गुरुङले ५ दिनको समय राखेर दाबी पेस गर्न भनेका छन् ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री दाबी गर्न पुस २५ गते सोमबार दिउँसो ४ बजेसम्मको समय सीमा तोकिएको छ । ‘संविधानको १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभाको सदस्यलाई गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्ति गर्नका लागि पुस २५ गते सोमबार ४ बजेभित्र दाबी पेस गर्न अनुरोध छ,’ प्रदेश प्रमुख गुरुङको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
केन्द्रमा माओवादी नेतृत्वको सरकार बनेसँगै प्रदेशमा भागबन्डा नहुँदा कसको नेतृत्वमा सरकार बन्नेचाहिँ अझै यकिन भइसकेको छैन । एमाले–माओवादीले केन्द्रको ‘सिग्नल’ कुरिरहेका छन् । तर, सरकार बनाउन एमाले र माओवादीको आआफ्नै दाबी छ । केन्द्रीय नेताहरुबीच माओवादी र एमालेबीच गण्डकीको मुख्यमन्त्री एमालेलाई समझदारी बनेको स्रोत बताउँछ ।
६० सदस्यीय प्रदेश सभा रहेको गण्डकीमा सरकार गठन गर्न ३१ सदस्य आवश्यक पर्छ । प्रदेशमा नेपाली कांग्रेसको २७, नेकपा एमालेको २२ र माओवादी केन्द्रको ८ सांसद छन् । संघीय सरकारलाई समर्थन गरेको राप्रपाका २ सांसद छन् । एकीकृत समाजवादीका एक सांसद छन् ।
यसरी हेर्दा केन्द्रीय समीकरणका मुख्य दल एमाले र माओवादी र राप्रपाका गरी ३२ सांसद पुग्छन्, जुन बहुमत हो । एकीकृत समाजवादीका १ सांसद थपिए ३३ सांसद हुन्छन् । एसका सांसद राजीव गुरुङ (दीपक मनाङ)ले सत्ता गठबन्धनलाई समर्थन गर्ने संकेत गरेका छन् ।
एमाले संसदीय दलका नेता खगराज अधिकारी केन्द्रीय तहमा हुने तालमेलमा ढुक्क छन् । उनले देशभर सत्ता गठबन्धनमा भागबन्डा हुँदा पनि गण्डकीको मुख्यमन्त्री एमालेले नै पाउने विश्वासमा देखिन्छन् । बिहीबार एमाले गण्डकी प्रदेशको बैठक जारी छ । त्यो बैठकबाट एमालेले मन्त्रीहरु पनि टुंगाउने एमाले नेता बताउँछन् ।
उनीहरु केन्द्रले १/२ दिनमै मुख्यमन्त्रीको भागभन्डा टुंगो लगाउने र मुख्यमन्त्रीको एमाले नै पाउने दाबी गर्छन् ।
गण्डकीमा सांसद संख्याको हिसाबले माओवादीभन्दा एमाले करिब ३ गुण ठूलो छ । एमालेका नेताहरु प्रदेशमा माओवादीलाई सभामुख दिएर मुख्यमन्त्री आफूहरुले लिने मनस्थितिमा छन् ।
गठबन्धनका दलहरु समग्र विषयमा सहमति खोजेर समयमै प्रदेश प्रमुख समक्ष दाबी पेस गर्ने बताउँछन् । ‘एक नेताका अनुसार प्रदेश प्रमुखले ५ दिनको समय दिएपनि ३ दिनभित्रै सरकारको दाबी भइसक्छ,’ गठबन्धनका एक नेताले भने ।
माओवादी केन्द्रबाट सांसदीय दलका नेता हरिबहादुर चुमान केन्द्रले निर्णय नलिँदासम्म सरकार गठनको सुरु नहुने बताउँछन् । उनले भने, ‘मुख्यमन्त्रीमा हाम्रो दाबी हो । एमालेबाट पनि दाबी गर्नुभएको छ । तर, हामीले यसपटक गण्डकी आफूहरुले पाउनुपर्ने दाबी स्वाभाविक छ,’ उनले भने, ‘हाम्रो दाबी यसपटक सरकारको नेतृत्व माओवादीले पाउनुपर्छ भन्ने हो ।
०७४ सालमा गण्डकीमा एमाले नेतृत्व सरकार बन्यो । यसपटक एमालेले माओवादीलाई सरकारको नेतृत्व गर्ने अवसर दिनुपर्छ ।’ उनका अनुसार पहिलो २ कार्यकाल माओवादीले सरकार सञ्चालन गर्न पाउनुपर्ने बताए ।
गण्डकीको गणित
कांग्रेस २७
एमाले २२
माओवादी ८
राप्रपा २
एस १

सञ्जय रानाभाट
रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।
तपाईको प्रतिक्रिया