‘पालिकाले नापी ल्याइदिओस्’

समाधान संवाददाता २०७९ पुष २२ गते १०:५०

पोखरा ।
निर्वाचित भएर गएका जनप्रतिनिधि फर्किएर नआउने गुनासो व्याप्त छ । अन्नपूर्ण गाउँपालिकाकी जमुना विकले बिहीबार नेताले जनताले दैनिक जुधिरहेको विषयमा ध्यान दिनुपर्ने भन्दै आफ्ना समस्या सुनाइन् ।

Advertisement

२०३४/०३५ सालतिर नापीले गरेको जग्गा विभाजनमा आफूहरुको टोलमा एउटाको जग्गा अर्कैकोमा परेको भन्दै अन्नपूर्ण ३ का छ घर टोलकी जमुनाले गाउँपालिका गुहारेकी छन् । आर्थिक वर्ष २०७९/०८० को पहिलो चौमासिकमा भएका योजना तथा नियमित सेवा प्रवाहको विषयमा बिहीबार अन्नपूर्ण ३ पत्थरस्थित वडा कार्यालयमा आयोजित सार्वजनिक सुनुवाईमा उनले गाउँपालिका नेतृत्वको ध्यानाकर्षण गराएकी हुन् ।

‘नापीबाट गल्ती हुँदा एउटाको जग्गा अर्कैको कित्तामा गएको छ । टोलमा यही विषयले झगडा हुन्छ,’ उनले भनिन्, ‘गाउँपालिकाले नापी ल्याउन सक्छ कि सक्दैन ? ल्याइदिनुपर्यो‍ ।’ उनको गुनासो सुनेपछि पुनः नापी आवश्यक भए, त्यसलाई पहल गर्ने गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले आश्वासन दिए ।

अन्नपूर्ण ३ कै राजु पौडेलले गाउँपालिकाले तरकारीको बिउ बाँडे पनि बजार व्यवस्थापनमा ध्यान नदिएको गुनासो गरे । ‘बिउ बाँडियो तर बजार व्यवस्थापन देखिएन । त्यसमा ध्यान दिनुपर्‍यो,’ उनले भने, ‘बारीमा साग, तरकारी त्यत्तिकै छन् ।’ गाउँपालिका अध्यक्ष केसीले उत्पादित वस्तु बजारीकरणमा वास्तवमै समस्या भएकास गाउँपालिका सम्बोधन गर्न तयार रहेको बताए ।

कार्यक्रममा टोल टोलका सडकमा बत्ती हाल्नुपर्ने, बाँदरले खेतीमा समस्या पारेको, युवालाई रोजगारीको वातावरण बनाउनुपर्ने, बिउ वितरण आवश्यकभन्दा कम भएको, लालपुर्जा नपाएको, सडक योजनामा पैसा नहाल्देको, प्राविधिकले काम नगरिदिएको गुनासो गरेका थिए । गाउँपालिका अध्यक्ष केसीले सबै समस्या एकैपटक समाधान सम्भव नहुने, ढिलोचाँडो त्यसलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।

Advertisement

सार्वजनिक सुनुवाईमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले चौमासिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कुल बजेटमध्ये मंसिर मसान्तसम्म ३२.२६ प्रतिशत खर्च भएको देवकोटाले जानकारी दिए । मंसिर मसान्तसम्म ९० लाख ५ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

जनप्रतिनिधि तथा कर्मचारीको विवरण संकलन गरेर मुख्यमन्त्री कार्यालय पठाएको, सहकारी सञ्चालक तथा कर्मचारीलाई लेखा तालिम दिइएको, सेवाग्राहीलाई प्रतीक्षा कक्षको व्यवस्था गरेको, अध्यक्षको अनुपस्थितिमा सचिवालयबाट कामअघि बढाउने काम भएको उनले बताए । कृषितर्फ ५० प्रतिशत अनुदानमा २५ हजार केजी आलुको बिउ वितरण गरेको छ ।

११ वटै वडामा मोडल फर्म निर्माण, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाा तरकारी पकेट कार्यक्रम सम्झौताको तयारीमा रहेको, उवा र कोदो क्लस्टर निर्माण, हिउँदे फलफूल विरुवा वितरणको चरणमा रहेको प्रमुख प्रशासकीय अधिकृत देवकोटाले जानकारी दिए ।

गाउँपालिकामा ८ वटा टोल विकास संस्था, आमा समूह, बाल र युवा क्लब रहेको उनको प्रतिवेदनमा उल्लेख छ । चालु आर्थिक वर्षमा कुल १ सय ९१ वटा योजना रहेकोमा ३४ वटा योजना सम्झौता भइसकेको र २० वटाको भुक्तानी भइसकेको देवकोटाले जानकारी दिए । कोरोनाविरुद्ध ४० हजार २ सय १८ जनालाई खोप दिइएको छ भने स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरेर ५ सय १३ परिवारको बिमा गरिएको छ ।

गाउँपालिका प्रवक्तासमेत रहेका अन्नपूर्ण ७ का वडाध्यक्ष भरतमान गुरुङले लान्द्रुक खानेपानी योजनालाई सफल बनाएर गाउँपालिकाको खानेपानी समस्या समाधान गर्ने प्रतिबद्धता जनाए । उनले भूगोल ठूलो भएकाले सार्वजनिक सुनुवाई गर्दा सबैलाई एकै ठाउँमा समेट्न नसकिएको बताए ।

‘भौगोलिक विकटताले सबै ठाउँमा पुग्न सकिनँ । घुम्ती शिविरजस्तै सबै वडामा पुग्ने गरी वडा वडामा सुनुवाई गर्छौं,’ प्रवक्ता गुरुङले भने । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारी, अन्नपूर्ण १, २, ३ का वडाध्यक्ष क्रमशः तुलसीप्रसाद अधिकारी, पिताम्बर भण्डारी र फणीन्द्रप्रसाद पौडेलले बोलेका थिए ।

तपाईको प्रतिक्रिया