२२ औं आहा रारा पाेखरा गोल्डकप: कस्ले उचाल्ला उपाधि ?

पोखरा ।
२२ औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार प्रतिस्पर्धा हुँदै छ । संकटा क्लब र भुटनिज स्पोटस् क्लब यसका लागि भिड्दै छन् । सेमिफाइनलमा एपिएफ र चर्च ब्वाइजलाई हराउँदै फाइनल पुगेका संकटा र भुटनिज उपाधिका लागि शनिबार दिउँसो साढे १ बजे आमनेसामने हुँदै छन् ।
दोस्रो पटक सहभागिता जनाएको भुटनिज र पाँचौ पटक सहभागिता जनाएको संकटाबीच उपाधिका लागि रोचक प्रतिस्पर्धा हुने देखिन्छ । विदेशी टिम भुटनिज र ‘ए’ डिभिजन लिगको तयारी गरिरहेको संकटामा केही खेलाडी विदेशी छन् ।
संकटाले प्रतियोगिताको केही दिनअघि मात्रै स्टार खेलाडी सुनील बल, सुरजज्यु ठकुरी, आयुष घलान, निशान खड्का र टिकेन्द्र थापालाई टिममा अनुबन्ध गरेको थियो । भुटनिजले उक्त प्रतियोगितामा सहभागी हुन ४ करोडभन्दा बढी खर्च गरेको टिम व्यवस्थापनले दाबी गर्दै आएको छ ।
संकटाका प्रशिक्षक सल्यान खड्की उपाधि जित्नकै लागि आएको बताउँछन् । ‘सबै टिम जित्नका लागि आउँछन्, हामी पनि जित्नकै लागि आएका छौं,’ उनले भने ।
विपक्षी टिमका खेलाडीप्रति आफूहरु सतर्क रहेको प्रशिक्षक खड्कीले सुनाए । उनले भने, ‘विपक्षी टिमका केही विदेशी खेलाडी अग्ला छन्, केही एड्भान्चेजचाहिँ अवश्य रहन्छ । तर, फुटबल हाइटले नभई स्किलले खेलिन्छ । हामी त्यसमा सर्तक छौं ।’
प्रदीप हुमागाईंले २०६९ मा थ्रीस्टार क्लबलाई ११ औं आहा रारा गोल्डकपको उपाधि दिलाएका थिए । उपाधि जितेको १० वर्षपछि प्रदीपलाई प्रशिक्षकको रुपमा उपाधि जिताउने अवसर छ । उनी अहिले भुटनिजका प्रशिक्ष छन् ।
भुटनिजका प्रशिक्षक प्रदीप हुमागाईं आफ्नो टिमलाई उपाधि चुम्ने मौका मिलेको बताउँछन् । फाइनल खेललाई आफूहरुले सहज रुपमा खेल्ने हुमागाईंले बताए । ‘इजी रुपमा खेल्छौं । उहाँहरु(संकटाका खेलाडी) प्रोफेसनल हुनुहुन्छ । खेलमा प्रतिस्पर्धा नै हुन्छ,’ उनले थपे ।
प्रदीप अमेरिकामा बस्छन् । अमेरिका रहेर पनि नेपालीलाई नै किन प्रशिक्षण दिनु भएको छ भन्ने प्रश्नमा हुमागाईंले भने, ‘विदेशमा जति सेवा, सुविधा पाए पनि नेपाली खेलाडी, समर्थकसँग काम गर्दा आत्मसन्तुष्टि मिल्छ ।’
संकटाका कप्तान सुनील बलले पाहुना टोलीसँग फाइनल खेल खेल्न पाउँदा खुसी लागेको उल्लेख गरे । ‘उहाँहरु हाम्रो पाहुना हो, पाहुना टोलीसँग खेल्न पाउँदा खुसी लागेको छ,’ बलले भने, ‘उहाँहरुबाट हामीले धेरै सिक्नेछौं ।’
अघिल्ला खेलमा भुटनिजले सुरुआती समय १ गोल गरे पनि त्यसपछि कुनै गोल गर्न सकेको छैन । भुटनिजका क्याप्टेन पूजन थापामगर अघिल्ला खेलमा भएका कमजोरी हटाउँदै फाइनलमा राम्रो प्रदर्शन गर्ने प्रतिज्ञा गर्छन् । । ‘खेलमा कमजोरी हुन्छ । कमजोरीलाई सुधार गरेर जानेछौं,’ उनले भने ।
बलियो संकटा
संकटामा ३ जना विदेशी खेलाडी छन् । विदेशी खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् । टिममा रहेका स्टेफन बिनोङ र मेसुके ओलामाउले जारी प्रतियोगितामा समान ३–३ गोल गरेका छन् । उनीबाहेक संकटाले केही दिन अघि मात्रै स्टार खेलाडीलाई टिममा अनुबन्ध गरेको थियो । जसको कारण संकटा यस प्रतियोगितामा बलियो रुपमा प्रस्तुत भइरहेको छ ।
एक पटक प्रतियोगिताको उपाधि जितेको संकटा दोस्रो पटक उपाधि उचाल्ने दाउमा छ । २०६१ मा भएको तेस्रो आहा रारा गोल्ड कपमा पहिलो पटक सहभागिता जनाएको संकटाले क्वाटर फाइलनसम्मको यात्रा तय गरेको थियो ।
पहिलो खेलमा धरान फुटबल क्लबलाई २–० ले पराजित गरेको संकटा क्वाटर फाइनलमा मनाङ मस्र्याङ्दी क्लबसँग २–० ले पराजित हुँदै बाहिरिएको थियो । त्यसपछि भने लामो समय संकटाले आहा रारामा सहभागिता जनाएन । २०७० को १२ औं संस्करणमा संकटा दोस्रो पटक सहभागी भयो । सो संस्करणमा पनि क्वाटर फाइलनबाट बाहिरियो ।
जाउलाखेल युथ क्लबलाई १–० ले पराजित गर्दै क्वाटर फाइलनमा प्रवेश गरेको संकटा दोस्रोपटक मनाङ मस्र्याङ्दी क्लबसँग २–० ले पराजित हुँदै बाहिरिएको थियो । तेस्रो सहभागितामा भने संकटाले आहा रारा गोल्ड कप उपाधि उचालेको थियो । १९ औं संस्करणको पहिलो खेलमा मनाङ मस्र्याङ्दीलाई १–० ले पराजित गर्दै शानदार सुरुआत गरेको संकटाले एपिएफलाई २–० ले पराजित गर्दै फाइलनको यात्रा तय गरेको थियो ।
फाइनलमा अफ्रिकन रुट्सलाई ट्राइबेकरमा ४–२ ले पराजित गर्दै संकटाले पहिलो पटक उपाधि जितेको थियो । २० औं संस्करणमा भने संकटा पहिलो खेलमै मच्छिन्द्र क्लबसँग ४–१ ले पराजित हुँदै बाहिरिएको थियो ।
पाँचौं पटक सहभागिता जनाएको संकटा यसपालि उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो पटक फाइलन पुगेको छ । पहिलो खेलमा त्रिभुवन आर्मीलाई ३–१ ले पराजित गरेको संकटाले सेमिफाइलनमा एपिएफलाई ४–१ ले हराएको थियो ।
उदाउँदो भुटनिज
२२ औं संस्करणको फाइनलमा पुगेको विदेशी क्लब भुटनिजको आहा रारामा यो दोस्रो सहभागिता हो । २१ औं संस्करणमा पहिलो पटक सहभागिता जनाएको भुटनिज युथ क्लब पहिलो सहभागितामा एपिएफसँग ३–१ ले पराजित हुँदै बाहिरिएको थियो ।
दोस्रो पटक सहभागी भएको भुटनिज केही दिनअघि मात्रै झापाको प्रतियोगितामा सहभागी भएको थियो । झापाको दमकमा रहेको भुटानी शरणार्थी शिविर बेलडाँगीमा पुस दोस्रो साता भएको जय हुमागाई स्मृति गोल्डकप प्रतियोगिताको उपाधिसमेत भुटनिज क्लबले जितेको थियो ।
आहा रारामा यस पटक भने आहा रारा गोल्डकपको सर्वाधिक सफल टिम मनाङ मस्र्याङ्दी क्लबलाई १–० ले पराजित गर्दै संकटाले शानदार सुरुआत गरेको थियो । सेमिफाइनलमा नवप्रवेशी चर्च ब्वाइज क्लबलाई १–० ले पराजित गर्दै भुटनिज फाइनल पुगेको हो ।
नेपालका प्रतियोगितामा भाग लिन ४ करोड रुपैयाँभन्दा बढी यो टिमले खर्च गरिसकेको छ । नेपाल आउने खेलाडीका लागि यो सिजनमा मात्रै १४ हजार डलर दिएको व्यवस्थापन टोलीले दाबी गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया