पाेखरा महानगरभित्र खानेपानीको महसुल फरक किन ?
साविक पोखरामा १० युनिटको १२० हुँदा साविक लेखनाथमा २२०


लेखनाथ ।
पोखरा महानगरपालिकाभित्रका नगरवासीले प्रयोग गर्दै आएको खानेपानीको महसुल फरकफरक छ । साविकको पोखरा नगर क्षेत्रभित्र खानेपानीको जिम्मा लिएको खानेपानी संस्थानले न्यूनतम १० युनिट बराबर १ सय २० र साविक लेखनाथ नगर क्षेत्रमा सञ्चालित लेखनाथ खानेपानी उपभोक्ता संस्थाले १० युनिट बराबर २ सय २० लिँदै आएको छ ।
लेखनाथ नगरपालिका हुँदादेखि नै यस क्षेत्रका बासिन्दाका लागि शुद्ध खानेपानीको जिम्मा लिँदै आएको लेखनाथ खानेपानी उपभोक्ता संस्थाले लगानीको आधार र सेवाको मापदण्डलाई हेरेर महसुल दर कायम गरे पनि महानगरपालिका भएपछि पनि महसुल महँगो नै छ । एउटै महानगरपालिकाभित्र नगरवासीले फरकफरक महसुल तिर्न बाध्य भएका छन् ।
पानीको महसुल समान हुनुपर्छ भन्ने आवाज उठेको छ । लेखनाथ खानेपानी उपभोक्ता संस्थाको १८ औं वार्षिक साधारण सभामा शुक्रबार बोल्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले समान परिमाणको पानी प्रयोग गर्दा समान महसुल कायम गर्न मूल्य समायोजन गर्ने विषयमा गम्भीरतापूर्वक लाग्ने विश्वास दिलाए । ‘दुई संस्थालाई फरक शैलीले महसुल लिने होइन, समान तरिकाले लिने बनाउन कसरी सकिन्छ भनेर नीति बनाउने छौं,’ आचार्यले भने ।
महानगरपालिकाभित्र १ लाख ५१ हजार घरधुरीका करिब ८० प्रतिशत जनता खानेपानीको पहुँचभित्र आइसकेको जानकारी प्रमुख आचार्यले दिए । ‘बाँकी नगरवासीलाई पनि सहज रुपमा खानेपानी उपलब्ध गराउन २० वर्षका लागि खानेपानी पुग्ने गरी दीर्घकालीन योजना बनाउने तयारीमा महानगर लागिपरेको छ,’ उनले भने ।
कार्यक्रममा साना सहरी खानेपानी महासंघका महासचिव रामप्रसाद उपाध्याय, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख गुरुप्रसाद पौडेल, नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, नेकपा एमालेका जिल्ला कमिटी सदस्य विष्णु पुन, नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य विनय थापा, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, कामना सेवा विकास बैंक गण्डकी प्रदेश क्षेत्रीय प्रमुख विष्णु गौतम, संस्थाका सल्लाहकार विश्वप्रकाश लामिछाने, संस्थापक अध्यक्ष शालिकग्राम पौडेल, निर्वतमान अध्यक्ष विष्णुप्रसाद बराल, उपभोत्ताहरुको तर्फबाट रामजी लामिछाने र इन्दिरा तिवारी लगायतले एक घर एक धाराको अवधारणाले बढ्दो जनसंख्यालाई आधार मानी मादी नदीको पानी सुरुङ मार्गबाट ल्याउने बृहत्तर योजना बनाउनुपर्ने सुझाव राखेका थिए ।
संस्थाका अध्यक्ष मुरारी शर्माले योजना सहित वर्तमान आवश्यकता र विगतमा गरिएका कामका बारेमा प्रकाश पारेको कार्यक्रमको सञ्चालन सचिव नारायणी भट्टराईले गरेकी थिइन् । धन्यवाद ज्ञापन उपाध्यक्ष पुष्पकमल ढुंगानाले गरेका थिए ।
सोही अवसरमा लामो समयदेखि काम गर्दै आएका कर्मचारी नवराज तिवारी, ईन्द्रप्रसाद पराजुली र उपभोक्ताहरुको तर्फबाट नारायणप्रसाद पौडेललाई सम्मान गरिएको थियो । २०६१ सालमा स्थापना भएको संस्थाले मुहान, बोरिङ र पम्पवेल पानीको स्रोत प्रयोग गरी १५ हजार पाँच सय ५७ धाराबाट ८८ हजार ६ सय ५ जनालाई खानेपानीको सुविधा प्रदान गर्दै आएको छ ।

भीमपाणि बराल
बराल समाधान दैनिक र समाधानन्युज डटकमका लागि लेखनाथ ब्युरोचिफ हुन् ।
तपाईको प्रतिक्रिया