जिसस पदाधिकारीका माग: राष्ट्रिय सभामा मताधिकार देऊ

समाधान संवाददाता २०७९ पुष २४ गते ११:०१

पोखरा ।
पोखरामा २ दिनसम्म चलेको जिल्ला समन्वय समितिको भेलाले पोखरा घोषणा जारी गरेको छ । भेलाले समन्वय समितलाई स्थानीय सरकारलाई अनुगमन गर्न प्रभावकारी बनाउन काम, कर्तव्य र अधिकार स्पष्ट हुने गरी काननु बनाउनुपर्ने माग राख्दै पोखरा घोषणा पत्र जारी गरेको हो ।

Advertisement

जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखलाई राष्ट्रिय सभाका सभासद् निर्वाचनमा मतदान गर्न पाउने अधिकार भेलाले माग गरेको छ । जिल्ला समन्वय ऐन बनाउन पनि प्रदेश सरकारले वास्ता नगरेकाले समितिको भूमिकाप्रति प्रश्न उठिरहेको उल्लेख गर्दै घोषणापत्रमा स्थानीय सरकारको रेखदेख गर्न सक्ने अधिकार दिन माग गरिएको छ ।

जिल्ला सभा र जिल्ला समन्वय समितिको व्यवस्था तथा यसको काम, कर्तव्य र अधिकार स्पष्ट गर्न नेपाल सरकारले जिल्ला सभा व्यवस्थापन र समन्वय समिति सञ्चालन ऐन तत्काल जारी गरेको छ ।

प्रभावकारी ऐन नहुँदा समन्वय समितिको अनुगमनलाई गाउँपालिकाको एउटा वडा सदस्य र वडा सचिवले पनि नटेरेनन् भन्दै भेलामा आवाज उठेका थिए ।

समितिलाई अधिकार तथा स्रोत, साधन दिन नसकेकाले जिससको कार्य सम्पादन कमजोर रहेकाले ७ वटै प्रदेशबाट जिल्ला समन्वय समिति सञ्चालन ऐन तत्काल जारी भनिएको माग गरिएको छ ।

Advertisement

जिससको आन्तरिक आय जम्मा भए पनि उक्त कोष सञ्चालन कार्यविधि बनाई जिल्ला सभालाई खर्च गर्न पाउने अधिकार दिन माग गरिएको छ । घोषणापत्रमा भनिएको छ, ‘पोखरा घोषणा पत्रमा समन्वय ऐन कार्यन्वयनका लागि अविलम्ब नियमावली जारी गरी जिससको समन्वयलाई प्रभावकारी बनाउनुपर्छ ।

जिल्ला स्तरका विकास, समन्वय, सहजीकरणसम्बन्धी निर्देशन सहयोग समिति, व्यवस्थापन समिति जस्ता समितिको अध्यक्षता संयोजनमा रहने व्यवस्था गर्नुपर्छ,’ पत्रमा उल्लेख छ ।

गण्डकी प्रदेश अध्यक्षमा कास्कीका लीलाधर
जिल्ला समन्वय समिति महासंघ गण्डकीको अध्यक्षमा एमालेका लीलाधर पौडेल निर्विरोध भएका छन् । दलीय भागबण्डा गरेर टुंग्याइएको समितिमा नेकपा माओवादी केन्द्रका सोमबहादुर जिसी उपाध्यक्ष, सचिवमा नेपाली कांग्रेसका सरस्वती बगाले, उपसचिवमा एमालेका खड्काराज बगाले चयन छन् ।

भागवण्डा अनुसार एमालेले अध्यक्ष र उपसचिवसहित ८ सदस्य, नेपाली कांग्रेसले सचिवसहित ४ सदस्य, माओवादीले उपाध्यक्ष र राप्रपाले कोषाध्यक्षसहित २ सदस्य पाएको छ ।

सदस्यमा बुनाकुमारी रिमाल, विष्णुराम विक, जानकी विश्वकर्मा, दीलकुमारी खत्री, तिलादेवी राना आले, सुरेन्द्र गुरुङ, हेमनाथ शर्मा र चिनबहादुर घले निर्वाचित भएका हुन् ।

केन्द्रमा पनि महासंघको अध्यक्षमा राजन मेहेता, उपाध्यक्षमा लुम्बिनी गौतम, महासचिवमा अशोककुमार घिमिरे, उपाध्यक्षमा दीपककुमार गौतम, सनबहादुर राई निर्वाचित भए ।

शुक्रबार जिल्ला समन्वय समिति कास्कीको व्यवस्थापनमा बैठक भएको हो । महासंघका अध्यक्ष नवराज गेलालको अध्यक्षतामा भएको परिषद शुक्रबार उद्घाटन भएको थियो ।

शुक्रबारको समारोहमा अतिथि र सहभागीलाई तनहुँ समवन्य प्रमुख शान्तिरमण वाग्लेले स्वागत र कास्की प्रमुख लीलाधर पौडेलले धन्यवाद ज्ञापन गरेका थिए ।

तपाईको प्रतिक्रिया