सम्पादकीय: अन्तर्राष्ट्रिय उडानको खोजी

समाधान संवाददाता २०७९ पुष २४ गते ११:५९

पुसको १७ गते धुमधामसँग पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन त भयो, तर त्यहाँबाट अन्तर्राष्ट्रिय उडान सुरु भएन । अन्तर्राष्ट्रिय भनेर आन्तरिक उडानमै विमानस्थ उद्घाटन जस लिने हतारो हो कि भनेर शंका गर्ने ठाउँ छ । अहिले सामान्य सुरुआत र अन्तर्राष्ट्रिय उडानसँगै भव्य समुदघाटन् गर्न सकिन्थ्यो ।

Advertisement

समुदघाटनबाटै यसको अन्तर्राष्ट्रिय प्रचार गरी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी र पर्यटक डाक्न सकिन्थ्यो । त्यसबारे कसले सोच्ने ? कसैले सोचेन । विमानस्थल निर्माण पोखराका लागि आफैमा स्वागतयोग्य हो । जसको सपना पोखरेलीले ४० वर्षअघि नै देखेका थिए । त्यसका लागि कैयौंको उठिवास पनि भएको छ, तसर्थ धेरै बलिदानी र त्याग यो विमानस्थलको जगमा छ भन्ने बिर्सन हुँदैन ।

अन्तर्राष्ट्रिय उडानको आवश्यकता पोखरालाई अन्तर्राष्ट्रिय गन्तव्यहरुसँग जोड्नका लागि हो । धेरैभन्दा धेरै पर्यटक डाक्नका लागि हो । र, अर्काे महत्वपूर्ण कुरा यो विमानस्थल निर्माणमा सरकारले २१ अर्ब जुन ऋण लिएको छ, त्यसैले देशलाई नै ऋणको पासोमा पार्ने मार्ग त खोल्दैन भन्ने शंका असत्य सावित गर्नुपर्ने चुनौती छ ।

अन्तर्राष्ट्रिय जहाज सेवा यहाँबाट चल्न सकेन भने पक्कै पनि विमानस्थल घाटामा जान्छ र ऋण तिर्न धौ हुन्छ । यस्तै ठूलो पूर्वाधारमा विदेशी ऋण लिँदा नै श्रीलंकाले ठूलो आर्थिक चपेटामा निस्सानिुपरेको हामी नेपाली साक्षी नै छौं । त्यो हाम्रा लागि पनि पाठ हो ।

नेपाल नागरिक उड्डय प्राधिकरणको स्वामित्वको यो विमानस्थल तयार गरेपछि मात्रै प्राधिकरणको दायित्व पूरा हुँदैन । आफ्नो विमानस्थलमा अन्तर्राष्ट्रिय विमान सेवाहरुलाई आकर्षित गर्नु उसको कर्तव्य हो । भारतले हवाई मार्गको अनुमति नदिँदा स्वदेशी विमान सेवा कम्पनी बुद्धले वनारससम्म पनि उडान गर्न पाएन, त्यसको हल खोज्न बुद्ध आफै पनि लाग्ला तर, प्राधिकरणले सरकारलाई त्यसबारे घच्घच्याइदिए हुन्थ्यो ।

Advertisement

सरकारले कूटनीतिक पहल गरी भारतीय आकाशमार्गबाट पोखरा हवाई उडान सहज हुने वातावरण बनाउन सक्नुपर्छ । होइन भने लामो बाटो गरी जहाज आउजाउ गर्नुपरे महँगो पर्छ, त्यसको मारमा यात्रु पर्छन् । वायुसेवा कम्पनीहरु पनि लामो र महँगो बाटो आउजाउ गर्न इच्छुक हुँदैनन् । यी समस्याको समाधान गरी अन्तर्राष्ट्रिय उडान सुरु हुन सकेमात्रै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सार्थकता हुन्छ ।

तपाईको प्रतिक्रिया