८ निर्माण कम्पनीलाई अल्टिमेटम

सुन्दरकुमार थकाली २०७९ पुष २५ गते १०:२०

जोमसोम ।
बेनी जोमसोम कोरला सडक आयोजनाका ८ निर्माण कन्ट्रक्सनलाई ७ दिने अल्टिमेटम दिइएको छ । कोरला सडक आयोजनाले सम्झौता अनुसार तोकिएको समयमा काम सम्पन्न नगरेका निर्माण कम्पनीलाई अन्तिम चेतावनी स्वरुप अल्टिमेटम दिएको हो ।

Advertisement

राष्ट्रिय गौरवको सडक आयोजनासँग सम्झौता गरे पनि तोकिएको समयमा काम नगरेको, पटक पटक म्याद थप गर्नु परेको र काममा फर्किन यअसघि लिखित पत्र र मौखिक निर्देशन दिई आग्रह गरिएको भए पनि निर्माण कन्ट्रक्सनहरुले आयोजनाको ताकेतालाई अटेरी गर्दा सडक तथा पुल निर्माण अलपत्र छन् ।

निर्माण कम्पनीले पछिल्लो पटक थप गरिएको म्यादमा पनि प्रतिवद्धता अनुसार काम नगरेकाले सार्वजनिक सूचना प्रकाशित गरी ७ दिने अल्टिमेटम दिइएको आयोजना प्रमुख जगत प्रजापतीले जानकारी दिए । सूचना प्रकाशित भएको मितिले तोकिएको समयमा काममा विलम्ब हुँदा सार्वजनिक खरिद सम्झौता मुताबिक ठेक्का अन्त्य किन नगर्ने र अन्य कारण के हो भनी जवाफ माग गरिएको छ ।

बेनी जोमसोम कोरला सडक र पुलको काम समयमा नगर्ने ठेकेदार कम्पनीहरुलाई सम्झौता तोड्ने चेतावनीसहित अन्तिम अल्टिमेटम

आयोजनाले चित्तबुझ्दो जवाफ नआए वा काममा नफर्किए ठेक्का सम्झौता अन्त्य गरी कालोसूचीमा राख्ने चेतावनीसमेत दिएको छ । आयोजनाले पुस ७ गते सूचना प्रकाशित गरी निर्माण कम्पनीहरुलाई यथाशीघ्र काममा फर्किन अल्टिमेटम दिएको हो ।

Advertisement

बेनी जोमसोम ७६ किमी सडकको खण्ड २ र ३ को जिम्मा पाएको शर्मा गजुरमुखी, जोमसोम कागबेनी कालोपत्र सडकको जिम्मा लिएको रौटाहा आत्रेय सारस जेभी, कोवाङ जोमसोम १६ किमी सडकको निर्माण कन्ट्रक्सन, लार्जुङ र कैकु खोला पुलको कन्ट्रक्सन गणपति ग्रुप अफ कन्ट्रक्सन, मार्फा, छुसाङ र घमी पुलको जिम्मा लिएको हिमढुङ ठोक्कर इमोटल जेभी, चराङ पुलको सम्झौता गरेको काष्ठमाण्डप कन्ट्रक्सन र कागबेनी पुलको कन्ट्रक्सन गल्वा रफिना जेभी लगायतका निर्माण कन्ट्रक्सनलाई काममा फर्किन अल्टिमेटम दिइएको हो ।

जोमसोम कोरला सडकको चराङमा ८० मिटर लामो पक्की पुल निर्माणको जिम्मा काष्ठमाण्डप निर्माण कन्ट्रक्सनले पाएको थियो । २०७५ असार २९ गते सम्झौता भएको यो पुलको लागत १० करोड १८ लाख छ । पटक पटक म्याद थप हुँदै आएको पुलको भौतिक प्रगति ५५ प्रतिशत छ ।

आयोजना अन्तर्गत मुस्ताङको मार्फा, छुसाङ र घमीमा गरी ३ पुलको जिम्मा पाएको हिमढुङ ठोक्कर इमोटल जेभीले पनि पटक पटक म्याद थप हुँदासमेत पुल निर्माणको काममा ढिलासुस्ती गरेको छ । मार्फा र छुसाङ खोलाको पुल एउटै ठेक्का हो । कुल लागत २१ करोड ५८ लाखमा निर्माण कम्पनीले पुल बनाउने सम्झौता गरेको थियो । कन्ट्रक्सनले घमी खोलामा ६ करोड ८० लाखमा अर्को पुल बनाउने सम्झौता पनि गरेको थियो ।

मार्फा खोलामा १ सय २० मिटर, छुसाङ खोलामा ९० मिटर र घमी खोलामा ४० मिटरको पुल बनाउने सम्झौता छ । यी पुल बनाउन २०७५ मा ठेक्का सम्झौता भएको थियो । मार्फा र घमी पुलको औसत भौतिक प्रगति ७५ प्रतिशत र घमी पुलको ४४ प्रतिशत छ ।

जोमसोम कोरला सडक अन्तर्गत कागबेनीमा निर्माणाधीन कागबेनी पुल अन्तिम चरणमा पुगेर अलपत्र छ । २०७४ मा सम्झौता भएको पुलको जिम्मा गाल्वा रफिना जेभीले लिएको थियो । २ करोड ८८ लाखमा सम्झौता भएको पुलको लम्बाइ २५ मिटर छ ।

पुलको भौतिक प्रगति ९० प्रतिशत भएपछि कन्ट्रक्सनका प्रतिनिधि सम्पर्कविहीन छन् । आयोजना अन्तर्गत मुस्ताङको कैकु खोला पुल र लार्जुङ खोला पुलको जिम्मा एउटै निर्माण कन्ट्रक्सन गणपति ग्रुप काठमाडौंले लिएको थियो । २०७६ असार ३१ गते सम्झौता भएका यी दुबै पुल अहिले अलपत्र छन् ।

लार्जुङ खोला पुलको लागत ३ करोड २८ लाख र कैकु खोला पुलको लागत ३ करोड २४ लाख छ । लार्जुङ पुलको भौतिक प्रगति ७० प्रतिशत र कैकु पुलको भौतिक प्रगति ४५ प्रतिशत छ । राष्ट्रिय गौरवको बेनी जोमसोम सडकको खण्ड २ र ३ को जिम्मा शर्मा गजुरमुखीले लिएको छ । २०७४ मा सम्झौता भएका यी २ प्याकेजमध्ये तेस्रो प्याकेज मुस्ताङ खण्ड अन्तिम चरणमा छ भने म्याग्दी खण्डको भौतिक प्रगति ७० प्रतिशत छ ।

म्याग्दी खण्डमा पछिल्लो भिओसहित ७२ करोड २१ लाख लागत छ । यहाँ निर्माण कन्ट्रक्सनको ढिलासुस्ती र प्राकृतिक विपद्का कारण सडकको भौतिक प्रगति हुन नसकेको हो । जोमसोम कागबेनी १३ किमी अस्फाल्टसडक निर्माण लामो समयदेखि अलपत्र छ । रौटाहा आत्रेय सारस जेभीले जिम्मा लिएको यो सडकको लागत २८ करोड १४ लाख छ । सम्झौता अवधि २०८० असोजसम्म रहे पनि हालसम्म सडकको भौतिक प्रगति ७ प्रतिशतमात्र छ ।

कोवाङ जोमसोम सडक पनि अलपत्र छ । यहाँ निर्माण कम्पनीले केही दिनभित्र कामलाई निरन्तरता दिने जनाएको छ । आयोजना प्रमुख जगत प्रजापतीले अल्टिमेटम दिएपछि निर्माण कम्पनी सम्पर्कमा आउन थालेको दावी गरे । तर, आयोजनाले निर्माण कम्पनी काममा फर्किन सम्पर्कमा आएको बताए पनि धेरैजसो निर्माण कम्पनीका प्रतिनिधि अझै सम्पर्कमा आएका छैनन् ।

सरकारले उत्तरी छिमेकी देश चीनसँग व्यापार तथा पारवाहन मार्ग विस्तार गर्ने उद्देश्यले २०७४ देखि राष्ट्रिय गौरवको बेनी जोमसोम कोरला सडक आयोजना सुरु गरेको हो । आयोजनाले सडक तथा पुलमा हालसम्म करिब ९ अर्ब लगानी गरिसकेको छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया