बाटुलेचौरमा भैरव नाच

समाधान संवाददाता २०७९ पुष २५ गते १२:२७

पोखरा ।
पोखराको बाटुलेचौरमा ऐतिहासिक बाह्र भैरव नाच प्रस्तुत गरिएको छ । स्थानीय हिमालय क्लबको आयोजनामा ३८ वर्षपछि बाटुलेचौरको खेल मैदानमा नाच प्रस्तुत गरिएको क्लबका सचिव शिवराज देवकोटाले जानकारी दिए ।

२०४१ सालमा यस्तै प्रकृतिको ऐतिहासिक महत्व झल्काउने सांस्कृतिक नाच प्रस्तुत गरिएको थियो । नाच हेर्न त्यस क्षेत्रसहित विभिन्न ठाउँबाट व्यक्तिहरु सहभागी भएका थिए ।

३८ वर्षपछि बाटुलेचौरमा नाच हेर्न पाएकोमा खुसी लागेको छिमेकी गाउँ घार्मीबाट नाच हेर्न आएकी ७१ वर्षीया सरस्वती पौडेलले बताइन् । उनी जस्तै थुप्रै वृद्धवृद्धा चिसोको समेत पर्वाह नगरी मध्यरातसम्म त्यहाँ बसेका थिए ।

Advertisement

साँझ ६ बजेबाट सुरु नाच झण्डै पाँच घण्टासम्म चलेको थियो । सो अवसरमा क्लबका मानार्थ सदस्य बेनीबहादुर बस्नेतले भैरव सांस्कृतिक सरंक्षण समितिका अध्यक्ष तीर्थमान प्रधानांगलाई सम्मान गरे ।

नाचमा सहभागी कलाकारलाई समेत सम्मान गरिएको क्लबले जनाएको छ । सहभागीहरूले कार्यक्रम सफलताको कामना गर्दै आर्थिक सहयोग प्रदान गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया