४ सदस्यीय मन्त्रिपरिषद्

समाधान संवाददाता २०७९ पुष २६ गते १०:१७

सञ्जय रानाभाट/रिखिराम जिसी
पोखरा ।
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीसहित ३ मन्त्रीले सोमबार पद तथा गोपनियताको शपथ लिएका छन् । पदभारलगत्तै पत्रकारसँग कुरा गर्दै मुख्यमन्त्री अधिकारीले सानो संख्याको मन्त्रिपरिषद् गठन गर्ने प्रतिक्रिया दिएका थिए ।

Advertisement

अधिकारीले एमालेकी सीता सुन्दास, माओवादीका हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरुङलाई मन्त्री नियुक्त गरे । उनीहरु सबैले सोमबारै शपथ ग्रहण गरेका हुन् । मुख्यमन्त्रीबाहेक अरु सबै विना विभागीय मन्त्री हुन् । सरकारको प्रवक्ताको जिम्मेवारी पाएकी सुन्दास स्याङ्जा १(१) बाट प्रदेश सभामा निर्वाचित भएकी हुन् ।

उनलाई गण्डकी प्रदेश सरकारको पहिलो बैठकले प्रवक्ताको जिम्मेवारी तोकेको हो । यसअघि स्याङ्जा जिल्ला समन्वय समिति प्रमुख रहेकी सुन्दास जिल्ला समन्वय समिति महासंघकी संस्थापक अध्यक्षसमेत थिइन् ।
माओवादीबाट संसदीय दलका नेता हरिबहादुर चुमानले पनि विना विभागीय मन्त्रीको रुपमा शपथ लिएका छन् ।

मुख्यमन्त्रीमा आकांक्षा देखाएका चुमान दोस्रो पटक गण्डकी प्रदेशको मन्त्री बनेका छन् । चुमान यसअघि पृथ्वीसुब्बा नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री थिए । चुमान तनहुँ १(२)बाट प्रदेश सभामा निर्वाचित भएका हुन् । माओवादीको नेतृत्व गर्दै सरकारमा गएका उनले भौतिक पूर्वाधार मन्त्रालय पाउने सम्भावना छ ।

अघिल्लो कार्यकालमा शून्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले यसपालि समानुपातिकमा २ सिट पाएको छ । केन्द्रमा सत्ता गठबन्धनमा रहेको राप्रपासमेत मन्त्रिमण्डलमा सहभागी भएको छ । राप्रपाले स्वास्थ्य मन्त्रालयको दाबी गर्दै सरकारमा सहभागी भएको हो । विना विभागीय मन्त्रीको रुपमा सपथ लिएका गुरुङ राप्रपा गण्डकी प्रदेश अध्यक्ष हुन् ।

Advertisement

मुख्यमन्त्रीमा दाबी पेश गरेकै दिन खगराज नेतृत्वको गण्डकी सरकारले ४ सदस्यीय मन्त्रीपरिषद् बनाएको हो । अधिकारीले बढीमा ९ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने सरकारकै एक मन्त्रीले बताए । ‘उहाँले हिजोको सरकारले जस्तो गरे पनि आफूले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने बताउनुभएको छ । बढीमा ९ सदस्यीय मन्त्रीपरिषद् गठन हुन्छ,’ ती मन्त्रीले भने ।

४ सदस्यीय मन्त्रिपरिषद गठन गरेका खगराज विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने योजनामा छन् । संविधानले प्रदेश सभा सदस्यको २० प्रतिशत हुने गरी मन्त्री बनाउन पाइने व्यवस्था गरेको छ । गण्डकीमा ६० सदस्यीय प्रदेश सभा छ । तसर्थ गण्डकीमा त्यसको २० प्रतिशत अधिकतम १२ मन्त्री बनाउन मिल्छ । तर, अधिकारीले अहिले १२ जना मन्त्रीको सट्टा ९ मात्र बनाउने तयारी गरेको स्रोत बताउँछ ।

सत्ता गठबन्धनको प्रारम्भिक भागबन्डामा प्रदेश सरकारमा मुख्यमन्त्रीसहित एमालेका ४, माओवादीका ४ र राप्रपाका १ जनालाई मन्त्री बनाउने तयारी छ । गण्डकी प्रदेशको संस्थापक मन्त्रिपरिषदमा एमाले नेता पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा ७ मन्त्री थिए । गुरुङले ०७८ जेठ पहिलो साता कार्य विभाजन नियमावली संशोधन गरेर ८ सदस्यीय मन्त्रिपरिषद् बनाए । उनको सरकार ढलेपछि कांग्रेसका कृष्णचन्द्र नेपाली नेतृत्वको सरकारमा १२ जना मन्त्री थिए ।

पदभारलगत्तै ५ निर्णय
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री अधिकारीले पदभार ग्रहणसँगै ५ निर्णय गरेका छन् । मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेशमा रहेका डायलासिस सेवा आवश्यक पर्ने मृगौला पीडितलाई लक्षित गरी प्रदेश मातहतका अस्पतालमा डायलायसिस सेवा विस्तार गर्ने निर्णय गरेको छ ।

पदभार ग्रहणलगत्तै बसेको मन्त्रिपरिषद बैठकले प्रदेशको शासकीय क्षमता अभिवृद्धि गर्न सुशासन कायम गर्ने र सेवा प्रवाह सहज बनाउनका लागि सुझाव पेस गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको बैठक तथा प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको छ । यस्तै, बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी विनाविभागीय मन्त्री सीता सुन्दासलाई तोकेको छ ।

तपाईको प्रतिक्रिया