स्वतन्त्र विद्यार्थी युनियन सभापतिदेखि मुख्यमन्त्रीसम्म

समाधान संवाददाता २०७९ पुष २६ गते ११:२०

सञ्जय रानाभाट, पोखरा ।
नेकपा एमाले नेता तथा पूर्व गृहमन्त्री खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्री बनेका छन् । माओवादी केन्द्रले समीकरण बदल्दा अधिकारीले गण्डकीको तेस्रो मुख्यमन्त्री बन्ने अवसर पाएका हुन् । एमालेको समर्थन पाएर संघीय सरकारमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि गण्डकी प्रदेशमा समीकरण स्वतः बदलियो ।

Advertisement

अधिकारी ३३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भए । एमालेका २२, माओवादीका ८, राष्ट्रिय प्रजातन्त्र पार्टीक २ र एकीकृत समाजवादीमा प्रवेश गरेका राजीव गुरुङउर्फ दीपक मनाङेको १ गरी ३३ सांसदको उनलाई समर्थन छ ।

कास्की क्षेत्र नम्बर १ (१) बाट निर्वाचित भएका अधिकारी संघीय सरकारमा स्वास्थ्य मन्त्री र गृहमन्त्री भइसकेका छन् । मुख्यमन्त्री अधिकारी केपी ओली नेतृत्वको सरकारमा गृहमन्त्री बनेका छन् । संसद विघटन भएको तत्कालीन समयमा अधिकारीले १३ दिन गृहमन्त्री बन्ने अवसर पाए ।

त्योभन्दा अगाडि ०७१ सालमा उनी सुशील कोइराला प्रधानमन्त्री हुँदा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका छन् । स्वास्थ्यमन्त्री हुँदा स्वास्थ्य बिमा सुरुवात गरेर अधिकारीले आमनागरिकको पक्षमा उल्लेखनीय काम गरेका थिए ।

प्रतिनिधिसभामा २ पटक निर्वाचित भएर मन्त्री भइसकेका अधिकारीले ०७४ सालको निर्वाचनमा वाम गठबन्धनबाट चुनाव जितेका थिए । उनले कांग्रेसका यज्ञबहादुर थापालाई पराजित गरेका थिए । यस पटक उनी एमालेकै संगठनको बलमा चुनाव लडे र जित हात पारे ।

Advertisement

उनले पाँच दलीय गठबन्धनका साझा उम्मेदवार दीपक कोइरालालाई पराजित गरेका हुन् । ०७४ को निर्वाचनमा वाम गठबन्धन हुँदा कास्की १ बाट अधिकारी र १ (१) बाट कोइराला चुनिएका थिए । अधिकारी यस पटक गण्डकीको मुख्यमन्त्री बन्ने लक्ष्यसहित प्रदेशमा चुनाव लडेका हुन् ।

०५१ र ७४ सालमा प्रतिनिधिसभा संसदमा निर्वाचित भइसकेका अधिकारीले २०५१ सालमा कांग्रेसका तत्कालीन महामन्त्री तारानाथ रानाभाटलाई पराजित गरेका थिए । ०५१ सालबाट संसद यात्रा सुरु गरेका अधिकारीलाई तत्कालीन एमाले संसदीय दलका नेता मनमोहन अधिकारीले सचेतकका नियुक्त गरेका थिए ।

अधिकारी ०४८, ५६ र ०६४ को चुनावमा पराजित भएका थिए । पहिलो संविधानसभाको निर्वाचन ०६४ सालमा पराजित भएपछि उनले ०७० मा टिकट नै पाएनन् । ०७४ मा कास्कीबाट चुनाव जितेलगत्तै उनी एमालेको प्रमुख सचेतक बने । वाम गठबन्धन हुँदा अधिकारी हटेर माओवादीका देव गुरुङ प्रमुख सचेतक बनेका थिए । नेकपा हुँदा उनी केन्द्रीय कमिटी सदस्य एवं गण्डकी प्रदेश सहइन्चार्जको जिम्मेवारीमा थिए ।

अहिले एमालेमा अधिकारी संगठन विभाग प्रमुखको जिम्मेवारीमा छन् । एमाले अध्यक्ष ओलीसँग पञ्चायतका बेला सँगै जेल बसेका अधिकारी २०२९ देखि राजनीतिमा होमिएका हुन् । उनी त्यति बेला स्थानीय आनन्दज्योति माविको अनेरास्ववियु सभापति थिए । ०२९ सालबाटै अधिकारी सक्रिय राजनीतिमा होमिए ।

उनी २०४०/४१ मा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सभापति बने । अधिकारी अनेरास्ववियुको केन्द्रीय कमिटी उपाध्यक्ष, एमाले कास्की सचिव हुँदै जिल्ला कमिटी अध्यक्षसमेत भएका थिए ।

तपाईको प्रतिक्रिया