पृथ्वीनारायणको सम्झना

स्ट्रगल राना ।
पृथ्वीनारायण शाह वि.सं. १७९९ मा गोर्खा राज्यको राजगद्दीमा बस्दा अहिलेको नेपाल सरहदभित्र ५२ वटा स–साना राज्य अस्तित्वमा थिए । काठमाडौं उपत्यकामा ३ वटा मल्ल राज्य, गण्डकी प्रदेशमा चौबिसे राज्य, कर्णाली प्रदेशमा बाइसे राज्य र पूर्वमा तीनवटा सेन राज्य थिए । दक्षिणको भारतीय उपमहादीप पूर्ण रुपले ‘इस्ट इन्डिया कम्पनी’को रुपमा ब्रिटिस साम्राज्य अन्तर्गत थियो ।
उता, चीन साम्राज्यको कमजोर राजनीतिक अवस्थाका कारण तिब्बत अर्ध स्वतन्त्र अवस्थामा थियो । उत्तरको भन्दा पनि दक्षिणको छिमेक तत्कालीन नेपालका लागि संकट र समस्या थियो किनभने ब्रिटिस साम्राज्यवादका खुनी आँखाहरु यो समृद्ध भू–भागमा परेका थिए र कुनै पनि बेला शिकार हुने खतरा विद्यमान थियो ।
यस्तो जटिल र संवेदनशील भू–राजनीतिक पृष्ठभूमिमा आजकल यदाकदा विस्तारवादी भनिने गरेका तिनै पृथ्वीनारायण शाहले सानो र गरिब गोर्खा राज्यबाट अरु अहिलेको नेपालको एकीकरण गरे र दक्षिण एसियाको सबैभन्दा पुरानो राष्ट्रको निर्माण गरे ।
इतिहासका विद्धानहरुका अनुसार, प्राचीन कालमा नेपालको भू–भाग विशाल थियो । स्कन्द पुराणमा पनि नेपाल राष्ट्रको अस्तित्व उल्लेख गरिएको छ र हिमवत् खण्डलाई नेपाल भनिएको छ । पूर्वमा आसामदेखि पश्चिममा काश्मिरसम्मको हिमाली प्रदेश नेपाल थियो ।
पहाडी, विकट र गरिब गोर्खा राज्यका राजा पृथ्वीनारायण शाहले राज्य विस्तार गरेर अहिलेको नेपाल राष्ट्रको जग बसाले
प्राचीन कालमा विशाल अस्तित्व बोकेको नेपाल मध्य कालमा खास गरी ईशाको ११ औं शताब्दीदेखि टुक्रिन सुरु गरेको हो । त्यति बेलै दक्षिण भारतबाट सिम्रौनगढमा आएर नान्यदेवले कर्णाट वंशीय शासन शुरु गरे । यसलाई तिरहुत राज्य भनिन्थ्यो । पछि पाल्पाका राजा मुकुन्द सेनले विजय गरे । उनका छोराहरुलाई भाग लगाउँदा मकवानपुर, चौदण्डी र विजयपुर सेन राज्यको रुपमा स्थापित भए ।
उता, कर्णालीको विशाल खस राज्य टुक्रिएर कालान्तरमा बाइसे र चौबिसे राज्य बने भने नेपाल मण्डल भनिने काठमाडौँ उपत्यकामा मल्ल वंशका ३ राज्य निर्माण भए । पृथ्वीनारायण शाहको गोर्खा तिनै चौबिसेमध्येको एक थियो । पहाडी, विकट र गरिब गोर्खा राज्यका राजा पृथ्वीनारायण शाहले राज्य विस्तार गरेर अहिलेको नेपाल राष्ट्रको जग बसाले ।
उनका छोरा, नातिहरुको पालामा आईपुग्दा विभिन्न आरोह अवरोह पार गर्दै आधुनिक नेपालको स्वरुप कायम हुन पुग्यो । पृथ्वीनारायण शाहद्वारा नेतृत्व गरी निर्माण भएको नेपाल एकीकरण हो वा विस्तार भन्ने सन्दर्भमा आजकल फरक धारणा देखा पर्न थालेका छन् । एकथरीले यो गोर्खा राज्यको विस्तार मात्र हो भन्छन् भने अर्का थरीले हिजोको ‘एक जाति, एक भाषा’ को मानक स्थापित गर्ने संरचनाले सिकाएको एकीकरण भन्छन् ।
तर यथार्थचाहिँ के हो भने पृथ्वीनारायण शाहले जुन एकीकरण वा विस्तार जे गरे त्यो समयको आवश्यकता थियो । यदि त्यसो हुँदैनथ्यो भने अहिलेको नेपालको स्वरुप सम्भव हुने थिएन । अथवा एक न एक जना पृथ्वीनारायण शाहको भूमिकामा उभिनु त पथ्र्यो । ऐतिहासिक तथ्यहरुले भन्छन्, नेपालको भूगोललाई एकत्रित गर्नका लागि विभिन्न काल खण्डमा विभिन्न व्यक्तिले प्रयास गरेका थिए ।
कर्णाली प्रदेशमा नागराज, पाल्पाका मुकुन्द सेन, काठमाडौँका यक्ष मल्लले यस्तो प्रयास गरेका थिए । उनीहरु पूर्ण सफल पनि हुन सकेनन्, निरन्तरता दिन पनि सकेनन्, पृथ्वीनारायण शाह त्यो समयका माग थिए, जसको नेतृत्वमा यसले पूर्ण र दीगो स्वरुप धारण गर्यो । किनभने त्यस बेलाका साना र कमजोर राज्यहरु कुनै पनि समय ब्रिटिसहरुको हातमा जान सक्थे यदि राज्य बलियो र सशक्त हुँदैनथ्यो भने ।
पृथ्वीनारायण शाहले नेपाल राष्ट्रको एकीकरण या निर्माणमात्र गरेनन्; अझ आफ्ना उत्तराधिकारीलाई शासनको तालिम पनि दिएर गए । आफ्ना दिव्य उपदेशमार्फत उनले नेतृत्वले अबलम्बन गर्नु पर्ने नीतिहरुको दिशानिर्देश पनि गरेर गए । एउटा राष्ट्रका सबै पक्षमा आवश्यक पर्ने राजनीतिको खाका उनले आफ्ना उपदेशमा पेश गरेका छन् । राजनीति, अर्थनीति, विदेश नीतिको विषय जुन पृथ्वीनारायण शाहले निर्देश गरेका छन्, आजसम्म पनि कामयावी र अपरिहार्य छन् ।
प्रजातन्त्र र लोकतन्त्रको सम्बन्धमा उनले भन्ने गरेको ‘प्रजा मोटा भया, दरबार बलियो रहन्छ’ भन्ने भाव सान्दर्भिक छ । उनी भन्ने गर्थे, ‘दुनियाँ जसदेखि राजी रहन्छन्, उसैलाई कजाई दिनु’ । यसै गरी ‘खानी भयाका ठाउँमा घर भया घर अन्यत्र सारी खानी चलाउनू’ ले अर्थनीतिलाई प्रष्ट पार्दछ । घूसको विषयमा उनले भन्ने गरेको कुरा आधुनिक युगको सुशासनसँग मेल खान्छ ।
अझ नेपालको भू–राजनीतिक अवस्थालाई मध्ये नजर गर्दै उनले राष्ट्रले अवलम्बन गर्नुपर्ने विदेश नीति स्पष्ट हुन्छ । यो विषय युगान्तरसम्म पनि काम लाग्ने खालको छ । हामीले हाम्रो परराष्ट्र नीति उनले भने जस्तै असंलग्न हुनु पर्छ जुन आधुनिक सरकारले पनि घोषित रुपमा अपनाइरहेको छ । समग्रमा पृथ्वीनारायण शाह साम्राज्य स्थापना गर्ने शासकमात्र थिएनन्; विभिन्न राज्यलाई अकण्टक अखण्ड र सार्वभौम बनाई राख्ने अक्किल भएका युगीन व्यक्तित्व पनि थिए ।
कतिपयले आरोप लगाउने गरेका उनका क्रूर व्यवहारहरुको विषय बढाइचढाइ गरिएको प्रतिशोधपूर्ण अभिव्यक्ति पनि हुन सक्छ । त्यसो त ३ सय वर्ष अघिको नेपालमा पूर्ण लोकतन्त्र र मानव अधिकार खोज्नु पनि कल्पनामात्र हो । साँचो यो हो कि अहिले हामी जुन भूगोलमा जुन पहिचानका साथ बाँचिरहेका छौँ; त्यसको पछाडि उनै पृथ्वीनारायण शाहको कुशल र योग्य नेतृत्वले गर्दा हो ।
तपाईको प्रतिक्रिया