लखनको सालिकमुनि पृथ्वी जयन्ती !

समाधान संवाददाता २०७९ पुष २७ गते २०:१३

पोखरा ।


जसलाई स्थानीयहरु पृथ्वीचोक भन्छन्, त्यहाँ प्रथम सहिद लखन थापाको सालिक छ । पहिला भने पृथ्वीनारायण शाहकै सालिक थियो । मुलकको राजनीतिक दृश्य र पृथ्वीचोकको दृश्य फेरियो । २०६२/६३ को जनआन्दोलन क्रममा तत्कालीन विद्रोही माओवादीले राजा पृथ्वीनारायणको सालिक उखेलेको थियो । सालिक उखेलिएको वर्ष दिनभन्दा धेरै समय त्यो ठाउँ बुच्चो रह्यो । त्यही बुच्चो ठाउँमा पछि प्रथम सहिद लखन थापाको सालिक ठड्याइएको हो । माओवादीबाट प्रधानमन्त्री बनेका बाबुराम भट्टराईले थापाको सालिक २०६९ फागुन १ गते अनावरण गरेका थिए ।


सहिद थापाको सालिक बनेयता यो चोकको नाम नै दोधारमा पर्दै आयो । कतिले यसलाई लखनचोकको नामले सम्बोधन गर्छन् भने कतिले पृथ्वीचोक नै भन्छन् । स्थानीय पसलमध्ये बहुसंख्यकका साइनबोर्डहरुमा पृथ्वीचोक नै उल्लेख छ ।
संयोग कस्तो जुरेको छ भने जुन विद्रोही शक्तिले शाहको सालिक उखेल्यो, जुन पार्टीका प्रधानमन्त्रीले अर्काे सालिक अनावरण गरे, अहिले फेरि सरकारको नेतृत्वमा पनि उही पार्टी छ । नेकपा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषदले पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गते सार्वजनिक विदा दिएको छ । दोस्रो जनआन्दोलनपछि माओवादी दबाबकै कारण काटिएको पृथ्वी जयन्तीको विदा यसपालि उसैले निरन्तरता दियो । प्रधानमन्त्री दाहाल आफैले पनि बुधबार गोरखा पुगेर शाहको सालिकमा माल्यार्पण गरेका छन् ।

Advertisement


पृथ्वी जयन्ती गएका वर्षहरुमा भन्दा यसपालि अलि धेरै उल्लासमय तरिकाले देशैभरि पनि मनाइएको छ । पोखरामा पनि पृथ्वीचोकमा लखन थापाकै सालिकमुनि पृथ्वी जयन्तीको एउटा कार्यक्रम भएको छ । पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन नागरिक मूल समारोह समितिका नामबाट आयोजित कार्यक्रम त्यहाँ भएको हो ।


त्यस अवसरमा गण्डकीका नवनियुक्त विनाविभागीय मन्त्री पञ्चराम गुरुङले पोखराको पृथ्वीचोकमा पृथ्वीनारायण शाहको सालिक राख्न माग गरे । उनी राप्रपाबाट मन्त्री भएका हुन् । ‘पृथ्वीचोकमा राखिएको लखन थापाको सालिक उच्च सम्मानका साथ बाजागाजा र पुष्पवृष्टि गर्दै अन्यत्र राखेर पृथ्वीचोकमा पृथ्वीनारायण शाहको सालिक राखौं,’ मन्त्री गुरुङले भने ।
मन्त्री गुरुङले राष्ट्रिय एकता दिवसमा सार्वजनिक विदा दिएकोमा धन्यवाद दिए । उनले संविधानमै अपरिवर्तनीय धाराका रुपमा यो दिवस राख्नुपर्ने बताए । पृथ्वीजयन्तीका अवसरमा राप्रपा कास्कीले बुधबार विहान सराङकोटको मेथलाङ पुगेर पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेको थियो । त्यसपछि पोखराको अमरसिंह चोकदेखि पृथ्वीचोकसम्म बृहत ¥याली निकालिएको थियो । ¥यालीमा राप्रपाका नेता, कार्यकर्तादेखि सर्वसाधारणसमेत ठूलो संख्यामा सहभागी भएको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले बताए ।

Advertisement


राप्रपाले पृथ्वीचोकमा रहेको लखन थापाको सालिकमुनि स्ट्यान्ड राखेर पृथ्वीनारायण शाहको सालिकको प्रतीक राखेको छ । उक्त अवसरमा मन्त्री गुरुङले पृथ्वीनारायण शाहकै कारण नेपाल राष्ट्र निर्माण भएको बताए । नेपाल देश बनाउने शाहलाई सम्मान गर्दै नेपाली भएकोमा गर्व गर्नुपर्ने बताए ।
राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङले सरकारले पृथ्वीजयन्ती मनाउन सुरु गरेकोमा सबै नेपालीको जीत भएको बताए । ‘सबैभन्दा पहिला हामी नेपाली हो, राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सम्मान र कदर गर्नुपर्छ,’ उनले भने, ‘फेरि सबै मिलेर पृथ्वीजयन्ती मनाउन पाउँदा खुशी लागेको छ, यो राप्रपाको मात्र नभएर सबै नेपालीको जीत हो ।’ राप्रपाले पृथ्वीचोकमै बुधबार साँझ दीप प्रज्वलनसमेत गरेको छ ।

तपाईको प्रतिक्रिया