पोखरा महोत्सव सुरु

समाधान संवाददाता २०७९ पुष २८ गते १०:४४

पोखरा ।
शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनका लागि युनाइटेड क्लबले आयोजना गरेको ११ औंं पोखरा महोत्सव बुधबारदेखि सुरु भयो । ‘युवाको जाँगर, राष्ट्र निर्माणको आधार’भन्ने नाराका साथ माघ ९ गतेसम्म पोखराको अमरसिंह चौरमा चल्ने महोत्सव गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सुरुआत गरे ।

Advertisement

महोत्सवको उद्घाटनअघि पोखरा रंगशालादेखि सुरु भएको झाँकीसहितको र्‍याली अमरसिंहचौरमा पुगी कार्यक्रम स्थलमा पुगी सभामा परिणत भएको थियो । कार्यक्रममा मुख्यमन्त्री अधिकारीले मेला, महोत्सवले आर्थिक गतिविधिलाई चलायमानमा टेवा पुग्ने बताए ।

‘कोरोना कहरका कारण आर्थिक गतिविधि चलायमान हुन सकेन,’ उनले भने, ‘मेला महोत्सव तथा पर्यटन प्रवद्र्धनका क्रियाकलाप गरेर आर्थिक गतिविधि बढाउन आवश्यक छ ।’ उनले पोखरा र आसपासमा आयोजना हुने महोत्सवहरुले आर्थिक क्रियाकलाप बढाउन सहयोग पुगेको बताए ।

युनाइटेड क्लबले महोत्सव गरी सामाजिक काममा समेत अग्रणी भएको उल्लेख गर्दै उनले मेला, महोत्सवमा हुने व्यापारिक स्टलमा स्वदेशी उत्पादनलाई जोड दिनसमेत आग्रह गरे । युवालाई स्वदेशमै रोक्नका लागि पनि स्वदेशी उत्पादन र बजारीकरण आवश्यक रहेको मुख्यमन्त्री अधिकारीको भनाइ छ । उनले मेला, महोत्सवले स्थानीय भाषा, संस्कृतिको उत्थानसमेत गर्ने उल्लेख गरे ।

सेती नदीलाई साहसिक पर्यटकीय गन्तव्य निर्माणमा पहलकदमी गर्ने

Advertisement

गण्डकी प्रदेश सभा सदस्य वेदबहादुर गुरुङ (श्याम)ले सामाजिक काममा अग्रसर क्लबले उद्देश्य अनुसार काम गरेको बताए । गण्डकी प्रदेशमा आर्थिक क्रियाकलाप र पर्यटकीय गतिविधी बढाउन पोखरा महोत्सवले उल्लेख्य भूमिका खेलेको उनको दाबी छ ।

गण्डकी प्रदेश सभा सदस्य भीम कार्कीले पोखरा महोत्सव महोत्सवको पनि महोत्सव भएकाले सबैको साथ सहयोग आवश्यक भएको उल्लेख गरे । उनले महोत्सवकै आयोजना गरी सामाजिक कामका अलवा पर्यटन प्रवद्र्धनको काम गरेको बताए ।

गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले गण्डकी प्रदेशका सामाजिक संघ, संस्थामा क्लब सबैको ध्यान खिच्न सफल भएको दाबी गरे । पोखरा ताल र हिमाल हेर्ने सहरमात्र नभएर सेती नदीको बारेमा कोही कसैले चासो नदिँदा क्लबले सेती खोंचलाई साहसिक पर्यटकीय गन्तव्य निर्माणमा अगाडि बढाएको उनले उल्लेख गरे ।

राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोगका सदस्य जुद्वबहादुर गुरुङले क्लबसँगको सहकार्यमा प्रकृति र संस्कृति संरक्षणको काम गरेको बताए । पोखरा महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष सन्तोष बास्तोलाले क्लबको सामाजिक कामले वडा कार्यालयको गौरव बढाएको बताए । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले महोत्सव आसपासको क्षेत्रमा शान्ति सुरक्षालाई चुस्त, दुरुस्त बनाउन ध्यान दिने उल्लेख गरे ।

अमरसिंह माध्यमिक विद्यालयका प्रध्यानाध्यापक तेजस्वी बरालले क्लबसँग विद्यालयले शैक्षिक तथा सामाजिक काममा सहकार्य गरेको बताए । क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले महोत्सवको ११ औं संस्करणसम्म आइपुग्दा पोखरामा खुला पर्यटकीय चिडियाखाना निर्माणलाई प्रारम्भ गर्न सफल भएको उल्लेख गरे ।

यो महोत्सवदेखि पोखराको बीच भाग भएर बग्ने सेती नदीलाई साहसिक पर्यटकीय गन्तव्य निर्माणमा पहलकदमी गर्ने र आफ्नै जग्गा भएको लेखनाथको अर्चलेमा बहुद्देश्यीय भवन निर्माण गरी जेहेन्दार विद्यार्थीका लागि आवासीय व्यवस्था सहितको शिक्षालय निर्माण गर्नतर्फ लाग्ने उनले बताए ।

क्लबका अध्यक्ष राजु श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष लोकबहादुर थापा, महासचिव दिनेश सुनार, कोलपाटन आमा समूहका अध्यक्ष सावित्री पौडेल लगायतले महोत्सवका बारेमा बोलेका थिए । महोत्सवको क्रममा भएको झाँकी प्रर्दशनमा नेपाल मगर संघ रामबजार इकाइ प्रथम भएको छ ।

झाँकीमा भुरुँदी स्यो बौद्ध अर्घौ तमु समाज द्वितीय, डढुवा दुर्छा लमजुङ तमु समाज तृतीय र थारु समाज कास्कीले सान्त्वना पुरस्कार पाएका छन् । महोत्सवको र्‍यालीतर्फ ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय राजयोग प्रशिक्षण केन्द्र पोखरा १० प्रथम, सुनकोशी आमा समूह पोखरा १० द्वितीय, नेपाल तामाङ घेदुङ संघ कास्की तृतीय र नागबेली सिर्जनशील आमा समूहले सान्त्वना पुरस्कार प्राप्त गरे ।

महोत्सवको पहिलो दिन लोकदोहोरीतर्फ प्रजापति पराजुली, जीवन दहाल, चोलेन्द्र पौडेल, शिवहरि ढुंगाना, सरला पाण्डे, तुलसा जिसी, रमा राना, दीपक अधिकारी लगायतले लोकदोहोरी प्रस्तुत गरे । साँझको लाइभ कन्सर्टतर्फ रहस्य र सैनिक साभियरको प्रस्तुति रह्यो ।

महोत्सवको दोस्रो दिन बिहीबार लोकदोहोरीतर्फ पुरुषोत्तम न्यौपाने, जीवन दाहाल, बबिता बानिया (जेरी), शिवहरि ढुंगाना, कृष्ण सुवेदी, जीवन सिग्देल, प्रदीप त्रिपाठी, दुर्गा क्षेत्री, तुलसा जिसी, नवराज अधिकारी लगायतको प्रस्तुति रहनेछ ।

हास्यव्यंग्यतर्फ कमेडियन जादुगर दीपक थापामगरले प्रहसन देखाउने छन् । लाइभ ब्यान्डतर्फ द स्क्रयाच जर्नीको प्रस्तुति रहने महोत्सव प्रचारप्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

तपाईको प्रतिक्रिया