सम्पादकीय: अवसर र चुनौतीको संगम

करिब दर्जन पार्टीको प्रतिनिधित्व भएको संसदमा अहिलेको सरकारले करिब शतप्रतिशत सांसदको मत पाएको छ । मंगलबार विश्वासको मत दिने बैठकमा उपस्थित २ बाहेक सबै सांसदले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रको दोस्रो आमचुनावपछि प्रचण्डको नेतृत्वमा करिब सर्वसम्मति जुटेको छ ।
पहिलो संविधानसभापछि संसदमा आउँदा प्रचण्ड कांग्रेस र एमाले दुवैको जोडभन्दा ठूलो थियो । अहिले माओवादीको आकार निकै सानो छ । नेपाली राजनीतिमा कति बेला के हुन्छ भनेर सजिलै अनुमान लगाउन सकिँदैन । स्थानीय तहदेखि गठबन्धनको अभ्यास सुरु भएकाले आम निर्वाचनपछि पनि सोही गठबन्धनकै सरकार बन्ने अपेक्षा थियो ।
एकाएक नयाँ समीकरण बन्न पुग्यो । कांग्रेससहितको गठबन्धनबाट चुनाव जितेका प्रचण्ड एमालेसहितका दलको सहमतिमा प्रधानमन्त्री बने । प्रचण्डको तेस्रो सत्तारोहण निकै चुनौतिपूर्ण छ । उनलाई समर्थन गर्ने दलहरु विभिन्न विचार र क्षेत्रका छन् । सबैलाई मिलाएर जनअपेक्षा सम्बोधन गर्नु उनका लागि फलामको च्यूरा चपाएसरह हुनेछ ।
हिजो साथ छाडेर प्रचण्ड नयाँ समीकरणका साथ प्रधानमन्त्री बनेका थिए, अहिले सोही दल कांग्रेसले समेत समर्थन गरेपछि राजनीति थप रोचक बनेको छ । संसदमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले सरकारको पक्षमा मत जाहेर गरेपछि संवैधानिकरुपमा बहुमतीय सरकारको रुपमा गठन भएको भए पनि प्रकारान्तरले यो राष्ट्रिय सहमतिकै सरकार बन्न पुगेको छ ।
अन्तिम समयमा आएर फरक परिवेशमा नयाँ समीकरणका साथ प्रधानमन्त्री बनेकाले प्रचण्डले आफैं पनि विश्वासको मत प्राप्त गर्ने सवाललाई चुनौतीकै रुपमा लिएका थिए । त्यही भएर संसद अधिवेशनको सुरुमै विश्वासको मत लिने तयारी गरिएको सजिलै बुझ्न सकिन्छ ।
तर घटनाक्रम यसरी बदलियो कि सरकारबाहिर रहेका कांग्रेस, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टीलगायत संसदमा प्रतिनिधित्व गर्ने दश दलले समर्थन गरेपछि वर्तमान सरकार राष्ट्रिय सहमतिको सरकारको रुपमा रुपान्तरित भएको छ । यसरी सहमतिको सरकारको नेतृत्व गर्ने अवसर विरलै आउँछ ।
यो अवसरमा प्रचण्डलाई केही राम्रा सम्भावना पनि छन् । शान्ति प्रक्रियाका केही मुद्दा सम्बोधन गर्न बाँकी नै छन् । सत्य निरुपण तथा बेपत्ताहरुको समस्या समाधान हुन बाँकी छ । नागरिकताको समस्या लगायतका केही पक्षलाई सम्बोधन गर्न संविधान नै संशोधन गर्नु जरुरी छ । संविधान संशोधनका लागि दुई तिहाइ आवश्यक हुन्छ ।
अहिलेको सरकारले जनताका युगीन आवश्यकताहरु पहिचान गरी संविधान संशोधन गर्न सक्छ, शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन सक्छ । यतिमात्र होइन, जनजीविकाका सवालमा गर्नैपर्ने केही काम गर्ने मौका र त्यसको जसअपजस सबैसँग बाड्ने मौका पनि यो सरकारलाई छ ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया