विश्वासको मतः अविश्वासको वातावरण

मदन भण्डारी ।
लोकेले स्वास्नी पिट्दा सोझो शिक्षक राजेन्द्र भण्डारी गुहार गर्न पुगेछन् । लोकेले उल्टै राजेन्द्रलाई बलत्कारको बात् लगाइदिएछ । सोधपुछका लागि राजेन्द्रलाई डाँडानाक पुलिस चौकीमा लगिएछ । त्यही रात माओवादीले चौकी आक्रमण गर्दा राजेन्द्र मारिएछन् । अहिले लोकमानले राजेन्द्रकी दुलहीसँग मैत्रीपूर्ण सम्बन्ध गाँस्दैछ अरे । पाईका लागि उसले माछीकाँडे डाँडामा घर सारेछ ।
नवगठित सरकारद्वारा बिश्वासको मत मागिँदा विश्वासको आधार र सम्भोगको खेल तुलनीय लाग्यो । ‘समाधान’ को पुस १५ को अंकमा रीता गुरुङले ‘सम्भोग कि पुरुष भोग ?’ शीर्षात्मक लेख लेखेकी छन् । नेपालमा सम्भोग भन्नु नै पुरुष भोग हो भन्ने उनको ठहर छ ।
नेपालमा सत्ताभोग भन्नु नै निकृष्ट दलालले गर्ने वैदेशिक शक्तिको भक्ति रहेछ भन्ने अब छर्लङ्ग छ । ०७९ पुस १० र २६ का घटना पढ्नुपर्ने इतिहास होइन, सबै नेपालीले देखेभोगेको वर्तमान हो । पुस १० को नयाँ बनोटको सरकारलाई २६ मा विश्वासको मत प्राप्त भयो ।
राजा व्यक्ति होइन, संस्था हो । ३०१ औँ पृथ्वी जयन्तीपछि राजसंस्था हिउँझैँ, घामझैँ चहकिलो देखियो ।
‘प्रतिपक्षविहीनताको संकेत !’ मिडियाले उल्लेख गरे । फूलभित्र बन्दी एउटा भवँरोप्रति कवि कालिदासले द्रवित भएर सर्वयुगरोचक कविता लेखेछन्: ‘रात्रिर्गभिष्यति भविष्यति सुप्रभातम्….!’ तर राजेन्द्र भण्डारीको कारुणिक मृत्युमा कुनै नेपालीले शोक गर्न भ्याएन । बेला त्यस्तै थियो ।
अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद विरुद्ध जनजीविकाका लागि जनयुद्धले पराकाष्ठा छुँदै थियो । मकै पिन्दा घून पिसिन्छ भनेर जनताले आफ्नो समवेदनालाई थिचे । सुशासनको आशामा अपूरणीय क्षति र १७ हजार ज्यानको खति हुँदा पनि जनताले सहेर बसे ।
०५२ देखि ०७९ सम्म जनयुद्धवादीले अनेक पटक सत्ताभोग गरे । पानी, खानीदेखि रोशनी नानी जस्ता अनेकौँको जवानी लुट्ने कमरेडहरुले कहीँकतै साख जोगाएनन् । केपी ओलीलाई हटाएर देउवासँगको सत्तासुखमा टाँसिएका प्रचण्ड फेरि केपीसँगै बालकोटमा हात हल्लाउन पुगे ।
पार्टीका बुद्धिजीवी झर्ला र खाउँला भन्दै थिए तर पुस १० को पन्ध्रै दिनपछि कांग्रेसीले प्रचण्डको कुर्सी बेस्सरी हल्लाए । बासुकी नाग यज्ञतिर लम्किँदा इन्द्राशन डग्मगाएर हाहाकारमा परेका ईन्द्रको अवस्थामा प्रचण्ड पुगे ।
सांसदलाई बैँकक पठाउन, पुरुषलाई सुत्केरी भत्ता ख्वाउन र ब्लू फिल्म देखाएर अल्मल्याउन जान्ने देउवाले के करामत गर्ने हुन् भन्ने चासो जाग्यो । आर्जुले भारतेली नेतालाई दाई बनाएकै थिइन् । ढिपी कसेर देउवाले एमसिसी पास गराएकै थिए । भारतेली मिडिया र हाम्रा थुप्रै बुद्धिजीवी चाइनिज ग्लुका कुरा गरिरहेका थिए ।
फुकेर पाइला चाल्ने राजा वीरेन्द्रको वंशनास गर्नेहरुले यता र उता ढल्किरहने हाम्रा नेतालाई मुठीको माखो बनाउने सम्भावना बढेकै थियो । सुशील कोइराला र प्रकाश दाहाल पछिल्ला उदाहरण थिए । यसैले ०७९ पुस २५ को संसदको पहिलो बैठकमा ऊँटले गधाको स्वरको र गधाले ऊँटको रुपको प्रशंसा गरेको ठानियोे । २६ गते कसो होलाको खुल्दुली भयो ।
टालाटुली बटुली केपी ओलीद्वारा बनाइएको पुतली शेरबहादुरद्वारा झ्यारझुर पारिने पो हो कि ! विश्वासको मत लिइने क्षणसम्मै अविश्वासको वातावरण व्याप्त थियो । राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्री बनाइने हल्ला फैल्याइएकै थियो । कम्युनिस्ट अँध्यारिदै र राजावादी उज्यालिँदै थिए । राष्ट्रवादी छविका केपी ओलीले आन्तरिक मामलामा हस्तक्षेप नगर्न दक्षिण छिमेकीलाई ठाडै चुनौती दिए । हठात् विश्वासको मत जुट्यो ।
०१५ सालमा चुनाव हारेका सूर्यप्रसाद उपाध्यायलाई मन्त्री बनाउन बिपी कोइराला मञ्जुर थिएनन् तर भारतको हस्तक्षेपका कारण गृहमन्त्री बनाउनु परेको कुरा बिपीले उल्लेख गरेका छन् । ०६४ सालमा दुदुई ठाउँमा चुनाव हारेका माधव नेपाललाई उतैको आशीर्वादमा प्रधानमन्त्री बनाइएको थियो । प्रचण्डले विषवृक्ष भनेकै थिए ।
उतैको आदेशमा सर्वोच्चका प्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रचण्डले नै प्रधानमन्त्रीको जिम्मा सुम्पेका थिए । वैदेशिक ईशारामा हाम्रा नेता नाच्छन् भन्ने कुरा जगजाहेरै हुँदा २६ गते अलिकति पर्खाइको विषय बनेको थियो । समस्या सुल्झियो, केपी ओली–प्रचण्डले राम्रो भूमिका खेले । प्रधानमन्त्री प्रचण्डको काँधले इतिहासको सबैभन्दा महत्वपूर्ण जिम्मेवारी पायो ।
छोरी, बुहारी र तिनका साथीका जिम्मेवारी प्रचण्डले पूूरा गरिसकेका छन् । होलेरीमा सेनाद्वारा घेरिएका प्रचण्ड–बाबुरामलाई गिरिजाले चट्टै पार्न खोजेको बेला राजाले रोकेका थिए । यहीँदेखि कृष्ण सिटौलाद्वारा उचालिएका गिरिजा राजासँग चिढिए । बिपीमार्ग छाडेर प्रचण्डपथतिर लम्किए ।
गणतन्त्र नेपालको प्रथम राष्ट्रपति हुन हौसिए । नेपालमा इन्डोपश्चिमाको खेल दिनदुना रात चौगुना बढ्यो । चीन चिढिँदै जानु स्वभाविक थियो । नेपाली नेताले युक्रेनसँग रुस रिसाउनुको कारण बुझेर पनि बुझ पचाए । हाम्रो हालत झन्झन् बिग्रियो । ००७ सालदेखि यता नेपालमा सधैँ ३ राजनीतिक शक्तिको बलशाली उपस्थिति छ ।
कांग्रेस र राजा मिल्दा राणा लखेटिए । कांग्रेस र एमाले मिल्दा पञ्चायत ढल्यो । काङ्ग्रेस र कम्युनिस्ट मिल्दा वीरेन्द्रको वंशनास भयो । वीरेन्द्रको वंशनासपछि नेपालमा राजसंस्था समाप्त भएको ठानेर केही नेता धेरै मल परेको आलुझैँ हौसिए । विदेशीका आडले कार्यकर्तामा भ्रम छरेर राजा ज्ञानेन्द्रका विरुद्धमा उफ्रिए ।
घनघोर दुःखको बेला, छोरोको भर थिएन । सेनाका टाउके उतै बिकेका थिए । आफैंले पालेटालेको कमल थापा मूसा प्रवृत्ति देखाउँथे । राजाले मान्छे मार्न चाहेनन् । भारतसँग लम्पसार परेनन् । जनताको नासो जनतालाई सुम्पिए तर जनताका प्रतिनिधि ठानिएकाहरु विदेशीका खेताला निस्के ।
लोकतन्त्र भनिने व्यवस्थामा सर्वत्र अव्यवस्था फैलियो । दल, दलदलमा फसे । माने पनि, नमाने पनि राजेन्द्र लिङ्देनको राप्रपाबाहेक अरु कुनै दलसँग ठोस नीति, योजना र कार्यक्रम छैन । संगठन दह्राे एमालेको मात्रै छ । पृथ्वी जयन्तीको सन्दर्भमा राप्रपा अलि बढी चलख्याइँ गर्दै छ । उसले पृथ्वीनारायण शाहको नामको नोट छाप्ने मुद्दा उठाएझैँ गर्यो, बिदालाई महत्व दियो ।
किन चाहियो बिदा ? कर्मचारी र साहुजीहरुलाई तास खेल्ने समय उपलब्ध गराउन ? पूर्व पञ्चहरुलाई भाषण ठोक्ने मञ्चमा भीड जम्मा गर्न ? पोखरामा सानो संस्था जरोटुप्पोले स्वस्फूर्त भेलाको जमर्को गर्दै आएको छ । पुष्पार्पण र अबीरमा कति बजेट चाहिन्छ ? आआफै खर्च गर्न सकिँदैन ? सालिक भत्काउनेले बनाउनुपर्छ । अग्रजले ग्राह्य पारेर नयाँ पुस्तालाई इतिहास पढाउनुपर्छ । फोटोमा थुक्ने आङ्काजीलाई पश्चिमाको पैसो आउँदो हो । भाषण गर्नेले पनि भाउ खोज्ने ?
मृतक राजेन्द्रकी दुलहीले लोकेलाई विश्वास गर्न गाह्राे भए पनि देउवाले प्रचण्डलाई विश्वास गरे । ‘नेपाली कांग्रेसले पक्षमा मतदान गर्नेछ !’ देउवाले भने । ‘डेमोक्रेसीको नयाँ भाष्य !’ केपी ओलीको कथन रह्यो । सरकारले विश्वासको मत सजिलै पायो, अविश्वासको वादल भने छायो । ‘यदि यो समर्थनमा कुनै जाल छैन भने स्वागत्योग्य हो !’ केपी ओलीले ढोकसा शब्द दोहोर्याए । तुफान अघिको प्रकृतिको शान्ति जस्तो सदनमा शान्ति फैलियो । भत्ता पचाउन पुगेकाले ताली पिटे ।
बिपीको उपचार खर्च राजाले बेहोरेका थिए । कांग्रेस–कम्युनिष्ट मान्छे हुन् यदि भने धन्यवादी चरित्र चाहिन्छ । त्यहीँ राष्ट्रिय एकता सम्भव छ । राजा व्यक्ति होइन, संस्था हो । ३०१ औँ पृथ्वी जयन्तीपछि राजसंस्था हिउँझैँ, घामझैँ चहकिलो देखियो ।
तपाईको प्रतिक्रिया