मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शुक्रबार विश्वासको मत लिँदै छन् । ६० सदस्यीय प्रदेश सभाका ३३ सांसदको समर्थनसहित मुख्यमन्त्री बनेका थिए । एमाले संसदीय दलका नेता अधिकारीलाई एमालेका २२, माओवादीका ८, राप्रपाका २ र १ स्वतन्त्र सांसदको समर्थन छ ।
संविधानको धारा १ सय ६८ को उपधारा २ अनुसार अधिकारी २५ पुसमा मुख्यमन्त्री नियुक्त भएका हुन् । त्यसरी नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । विश्वास मत पाएसँगै अधिकारीले मन्त्रिपरिषद् विस्तार गर्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।
मुख्यमन्त्री नियुक्त भएलगत्तै अधिकारीले राजधानी गएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका थिए । विश्वासको मत लिएपछि उनी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न जाने स्रोतले जनाएको छ । कांग्रेस संसदीय दलको शुक्रबार नै विश्वासका मत दिन नदिनेबारे निर्णय गर्ने जनाएको छ । स्रोतका अनुसार अधिकारीले नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेलाई भेटेर विश्वासको मत माग्ने छन् ।
मुख्यमन्त्रीले विश्वासको मत लिनेसम्बन्धी सूचना प्रदेश सभाको बैठक शुक्रबार प्रदेश सभाको ज्येष्ठ सदस्य मित्रलाल बस्यालबाट पढेर सुनाउने छन् । विश्वासको मत लिने दिन प्रदेश सभामा विश्वासको मत लिन बस्यालले मुख्यमन्त्रीलाई प्रस्ताव पेस गर्न समय दिनेछन् । यसपछि सभामुखले मुख्यमन्त्री अधिकारीले आफूलाई विश्वासको मत दिन संसदमा सहभागी दलहरुसँग प्रस्ताव राख्नेछन् ।
मुख्यमन्त्रीले संसदमा विश्वासको मत लिनुअघि संसदमा सांसदहरुलाई आफूलाई विश्वासको मत दिन प्रस्ताव पेस गर्ने छन् । प्रस्ताव पेससँगै विश्वासको मत किन दिने भन्नेबारेमा आफ्नो सम्बोधन गर्ने छन् । विश्वासको मत लिने प्रस्तावबारे सांसदहरुले बोल्न चाहेमा सभामुखले उनीहरुलाई बोल्न समय उपलब्ध गराउँछन् । सभामुखले दिएको समयसीमाभित्र सांसदहरुले आफ्नो धारणा राख्नेछन् ।
प्रदेश सभामा आफूले राखेको विश्वासको मत दिने प्रस्तावमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ मुख्यमन्त्री अधिकारीले दिने छन् प्रश्नको जवाफ दिइसकेपछि संसदमा मत विभाजनको प्रक्रिया सुरु हुनेछ । संसदमा मत विभाजन भइसकेपछि विश्वासको मत दिन राखेको प्रस्ताव संसदमा निर्णयार्थ प्रस्तुत हुन्छ । त्यो प्रस्ताव भने मत विभाजनबाट हुन्छ । निर्णयार्थ प्रस्तुत भइसकेपछि मुख्यमन्त्रीलाई विश्वासको मत दिने प्रक्रिया सुरु हुन्छ ।
सदस्यहरुलाई प्रस्तावको पक्षमा र विपक्षमा दस्तखतसहितको मत दिन समय उपलब्ध गराइन्छ ।
सांसले विश्वासको मत दिइसकेपछि पनि सांसदहरुलाई आफ्नो मत सच्याउन सभामुखले समय उपलब्ध गराउनेछन् । सभामुखले उपलब्ध गराएको समयसीमामा सांसदहरुले आफूले दिएको विश्वासको मत सच्याउन पाउनेछन् ।
यो प्रक्रिया सकिएपछि सभामुखले पाएको विश्वासको मतको नतिजा सुनाउँछन् । विश्वासको मतको परिणाम सुनाइसकेपछि उक्त प्रस्ताव प्रदेश प्रमुख संसद सचिवालयले लेखेर पठाउँछ । मुख्यमन्त्रीले पेस गरेको विश्वासको मत सभाबाट बहुमतको साथ अनुमोदन भएपछि संवैधानिक व्यवस्थाबमोजिम विश्वासको मत प्राप्त भएको मानिन्छ ।
मनाङेले विश्वासको मत नदिने
गण्डकी प्रदेशका प्रदेश सभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङेले मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत नदिने भएका छन् । मुख्यमन्त्री दाबी गर्दा समर्थन जनाएका मनाङेले विश्वासको मत नदिने भएका हुन् ।
मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने गरी शुक्रबार बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत दिन आफू सहभागी नहुने मनाङेको भनाइ छ । ‘संघीयता विरोधी पार्टी पनि सरकार छ, त्यसो भएपछि मैले किन विश्वासको मत दिने ?, उनले समाधानसँग भने, ‘म विश्वासको मत दिन जान्नँ, घरमै सुतेर बस्छु ।’
प्रदेश सभामा निर्विरोध निर्वाचित भएका मनाङे केही समयअघि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । मुख्यमन्त्री अधिकारी मनाङेसहित ३३ सांसदको समर्थनमा पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले पुस २९ गते प्रदेश सभामा विश्वासको मत लिँदै छन् ।
तपाईको प्रतिक्रिया