को बन्छ सभामुख र उपसभामुख ?

समाधान संवाददाता २०७९ पुष २९ गते १०:४३

सञ्जय रानाभाट,पोखरा ।
प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन भइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार गण्डकीमा माघ ३ गतेभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्छ ।

Advertisement

माओवादीबाट सभामुख र एमालेबाट उपसभामुख बनाउने पक्कापक्की सत्ता गठबन्धनले गरेको छ । यो सँगै सभामुख र उपसभामुख बन्न नेताहरू दौडधुपमा लागेका छन् । निर्वाचन हुन अब केही दिनमात्र बाँकी हुँदा माओवादीले सभामुख र एमालेले उपसभामुखमा कसलाई उठाउने भन्ने यकिन गरेको सार्वजनिक छैन ।

यस कारण सांसदहरु सभामुख र उपसभामुख बन्न सांसदहरूले लबिङ सुरु गरेका छन् । सभामुखमा माओवादीबाट कृष्ण धिताल र सुशीला सिम्खडामध्ये एक हुने स्रोत बताउँछ । तर, माओवादी संसदीय दलका नेता तथा विना विभागीय मन्त्री हरिबहादुर चुमानले यस विषयमा पार्टीमा छलफल नभएको जिकिर गरे ।

माओवादीबाट सभामुख र एमालेबाट उपसभामुख बनाउने पक्कापक्की सत्ता गठबन्धनले गरेको छ

उनले बिहीबार बेलुकासम्म संसदीय दलको बैठक बसेर सभामुखको उम्मेदवार टुंगोमा पुर्‍याउने सुनाए ।‘अहिलेसम्म को हुने भन्ने टुंगोमा पुगेको छैन । यद्यपि एक दुई जना साथीहरुले इच्छा देखाइरहनुभएको छ । उहाँहरूमध्येबाट पार्टीमा छलफल हुन्छ सोही अनुसार नाम टुंगिन्छ,’ नेता चुमानले भने ।

Advertisement

स्रोतका अनुसार नेताहरुले गण्डकीको सभामुखमा कृष्ण धिताललाई बनाउनुपर्ने जोड गरिरहेका छन् । तर, धितालले सभामुख भन्दा पनि मन्त्रीको आकांक्षा देखाएकाले थप छलफलमा माओवादी नेताहरु जुटेका हुन् ।

‘माओवादी एक सांसदका अनुसार धितालले आफूले सभामुख भन्दा पनि मन्त्री पाउनुपर्छ भनेर केन्द्रीय नेतासँग लबिङ गर्नुभएको छ । तर, हामीहरुले उहाँलाई सभामुखकै भूमिका निभाउनुपर्ने जोड गरिरहेका हौं,’ ती सांसदले भने ।

धिताललाई माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि सभामुखमै जोड गरिरहेको स्रोत बताउँछ । ‘पार्टी अध्यक्ष पनि गोरखाबाट चुनाव लड्नुभएको यस कारण गोरखाबाट सभामुख बनाउनुपर्छ भन्ने उहाँको जोड छ । उहाँले सभामुख भन्दा मन्त्रीमा इच्छा देखाएकाले हामी टुंगोमा पुग्न नसकेका हौं,’ उनले भने ।

धितालले पनि घुमाउरो तरिकाले आफू मन्त्री बन्ने चाहेको संकेत गरे । यद्यपि धिताल पार्टीले गरेको निर्णय नै अन्तिम हुने बताउँछन् । ‘मेरो व्यक्तिगत इच्छाभन्दा पनि पार्टीले निर्णय गर्छ । मेरो त्यहीमा सहमति हुन्छ । मेरो अहिले यो वा त्यो पद भन्ने छैन,’ धितालले भने । यता सुशीला सिम्खडा पनि सभामुख बन्न सकारात्मक छिन् ।

उनले पनि आफूलाई पार्टीले जुन पदका लागि योग्य सम्झन्छ सोही अनुसार अगाडि बढ्ने बताउँदै आएकी हुन् ।
यता एमालेलाई पनि माओवादीले सभामुख नटुग्याउँदा उपसभामुख टुंगाउन मुस्किल परेको हो । सभामुख वा प्रदेश उपसभामुखमध्ये एकजना महिला हुनुपर्ने संवैधानिक व्यवस्था हुँदा एमालेबाट महिला वा पुरुष कसलाई पठाउने अलमल भएको छ ।

एमाले नेता तथा गण्डकीका सचिव धनञ्जय दवाडीले माओवादीले महिला वा पुरुष भनेर टुंगाएपछि मात्र पार्टीको बैठकले निर्णय गर्ने बताए । ‘पहिलो कुरा त सत्ता गठबन्धनमा एमालेले उपसभामुख पाउने सहमति भएको छ । सोही अनुसार पहिल माओवादीले सभामुख टुंग्याउनुपर्ने हुन्छ । उहाँहरुले निर्णय गर्नेबित्तिकै प्रक्रियामा अगाडि बढ्छांै,’ दवाडीले भने ।

संविधानमा पनि उपसभामुख फरकफरक दलको प्रतिनिधित्व गर्नुपर्ने व्यवस्था छ । स्रोतका अनुसार एमालेबाट उपसभामुखमा महिला भन्दा पुरुष सांसदले बढी इच्छा देखाइरहेका छन् । यद्यपि पुरुषले पाउने सम्भावना कम छ ।

पुरुषतर्फ भीमबहादुर कार्की र गोविन्दबहादुर नेपालीले इच्छा देखाइरहेका छन् भने महिलातर्फ पद्मा जिसीले आकांक्षी देखाएका एमाले एक नेताले बताए । ‘पुरुष भए कास्कीबाट भीमबहादुर कार्कीको प्रवल सम्भावना छ भने महिला भए सर्वसम्मत पद्मा जिसी हुनुहुन्छ,’ ती नेताले भने ।

स्रोतका अनुसार मुख्यमन्त्री खगराज अधिकारी पनि उपसभामुख कास्कीबाट बनाउन चाहन्छन् । कास्कीले मुख्यमन्त्री पाएपछि मन्त्री पाउने सम्भावना निकै कम हुँदा उससभामुख कास्कीबाट बनाउने अधिकारीको भित्री चाहना छ । यस कारण अधिकारीले पुरुष भए कार्कीलाई बनाउन इच्छा देखाएका छन् ।

तपाईको प्रतिक्रिया