प्रदेशको औचित्यमाथि उठेका प्रश्नको जवाफ कामबाटै दिनेछौं

खगराज अधिकारी, मुख्यमन्त्री, गण्डकी प्रदेश
नेपालको संविधानमा भएको प्रावधान बमोजिम सम्वत् २०७९ साल मंसीर ४ गते गण्डकी प्रदेश सभाको दोश्रो कार्यकालको लागि निर्वाचन सम्पन्न भई प्रदेश सभाको गठन भएको छ । प्रदेश सभाको सदस्यकोरुपमा हामीले सपथ लिइसकेका छौं । प्रदेश सभाले आफ्नो कार्यारम्भ गरिसकेको छ । संवैधानिक व्यवस्था र प्रदेश सभाको संरचना अनुसार माननीय प्रदेश प्रमुखबाट मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया प्रारम्भ भएअनुसार नेकपा (एमाले), नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र सदस्य समेत गरी बहुमतको समर्थनको आधारमा म गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त भएको छु । यस शुभ घडीमा मतदान मार्फत् हामीलाई यो स्थानमा पु¥याउनुहुने आदरणीय मतदाताहरुप्रति आभार प्रकट गर्दछु । साथै निर्वाचन सम्पन्न गर्ने कार्यमा खटिने निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारीहरु, जनसमुदाय र सरोकारवाला सबैमा धन्यवाद ज्ञापन गर्दछु ।
नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलन लगायतका संघर्षको क्रममा जीवन वलिदान गर्नुहुने सम्पूर्ण ज्ञातअज्ञात सहिदहरुप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु । आन्दोलनको क्रममा घाइते भएका, बेपत्ता भएका र पीडित भएका दिदीबहिनी, दाजुभाइहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु । नेपालको युगान्तकारी परिवर्तनका लागि भएका आन्दोलनमा अगुवाई गर्नुहुने आदरणीय पुष्पलाल, बिपी कोइराला, मदन भण्डारी, मनमोहन अधिकारी, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला लगायत अग्रज व्यक्तित्वहरुको योगदानको स्मरण गर्दै सम्मान व्यक्त गर्दछु ।
सभामुख महोदय,
संघीयता नेपालको लागि नयाँ अभ्यास हो । पाँच वर्ष अगाडि शुन्य संरचनाबाट शुरु भएको प्रदेशले अहिले आफू अडिने आधार खडा गरेको छ । प्रदेश संरचना सुनिने अवस्थाबाट देखिने अवस्थामा पुगेको छ । प्रदेश सरकार सञ्चालन र सेवाप्रवाह गर्नका लागि केही भौतिक, प्रशासनिक र कानूनी पूर्वाधारहरु खडा भएका छन् । यसअघि गठन भएका दुइवटै सरकारले प्रदेशलाई स्थापित गर्न गरेका कामहरुको म स्मरण गर्न चाहन्छु । सरकार निर्माण, कानून निर्माण, सुशासन कायम गर्न र बजेट निर्माण र स्वीकृति गर्ने कार्यमा योगदान पु¥याउनुहुने प्रथम पाँच वर्षका सम्पूर्ण माननीय सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्दछु ।
प्रथम कार्यकालमा प्रदेशलाई स्थापित गर्न धेरै कामहरु भएका छन्, प्रयासहरु पनि भएका छन् । त्यसो हुँदाहुँदै पनि सरकारले जनअपेक्षा पूरा गर्न सकेको अवस्था छैन । संविधानमा भएका मौलिक अधिकारको व्यवहारमा प्रत्याभूत गर्न सकिएको छैन । सेवाप्रवाह सरल र सहज बनाउने प्रयासले सार्थकता पाउन सकेको छैन । प्रदेशमा रहेका सबै स्थानीय तहहरुलाई सडक सञ्जालले जोड्न सकिएको छैन । ट्रयाक खोलिएका सडकहरुको स्तरोन्नति गर्ने कार्य बाँकी नै छ ।
बिग्रिएका सडकहरुको समयमै मर्मत गरी अद्यावधिक राख्न सकिएको छैन । निर्माण शुरु भएका कैयौं योजनाहरु समयमै सम्पन्न हुन नसक्दा सरकारप्रति जनविश्वास खस्केको अवस्था छ । सबै घरपरिवारमा आधारभूत खानेपानी सेवा पु¥याउन बाँकी नै छ । खेतीयोग्य जमिनमा बा¥है महिना सिँचाइ सेवा उपलब्ध गराउन सकिएको छैन । प्रदेशवासीले सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाएको अनुभव गर्न सकेका छैनन् । प्रदेश सरकारको कार्यसम्पादनको लागि आवश्यक पर्ने सबै कानूनहरु निर्माण भइसकेको अवस्था छैन । प्रदेशका युवा जनशक्ति रोजगारीको लागि देश बाहिर जानुपर्ने अवस्था यथावत् नै रहेको छ । प्रदेश निजामती सेवालाई सुदृढ र जनउत्तरदायी बनाउने कानूनी संरचना तयार पार्न ढिलो भइसकेको छ ।
सभामुख महोदय,
मेरो नेतृत्वमा गठन भएको सरकारले गण्डकी प्रदेशका विद्यमान समस्या समाधान गरी ‘समृद्ध प्रदेश, सुखी प्रदेशवासी’ को लक्ष्य हासिल गर्न भरमग्दुर प्रयास गर्नेछ । नेपाल सरकारले भर्खरै पारित गरेको न्यूनतम् साझा कार्यक्रममा समावेश भएका नीति तथा कार्यक्रमहरुलाई प्रदेश तहमा समेत प्राथमिकताका साथ कार्यान्वयन गरिनेछ । प्रदेशको शासकीय क्षमता अभिवृद्धि गर्न र सेवाप्रवाह सहज बनाउन प्रदेश सरकारले कार्यारम्भ गरिसकेको विषय यस सम्मानित सभा समक्ष राख्न चाहन्छु । जनतामा सुशासनको अनुभूति दिलाउने र प्रदेश सरकार मातहतका कार्यालयहरुबाट प्रवाह हुने सेवामा जनताको पहुँच वृद्धि गरी सेवा प्रवाहलाई झन्झटमुक्त बनाउने विषयलाई प्राथमिकतामा राख्ने काम गरिनेछ । प्रदेश सरकारको कार्यसम्पादनलाई डिजिटलाइज गरिनेछ ।
अनलाइन सेवाप्रवाहलाई थप प्रभावकारी बनाइनेछ । जनतालाई समयमै सुलभ तरिकाले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु गण्डकी प्रदेश सरकारको प्राथमिकताको काम हो । यसका लागि प्रदेश सरकार मातहतमा रहेका अस्पतालहरुको स्तरोन्नती गरी स्वास्थ्य सेवा प्रवाह गर्ने क्षमता बृद्धि गरिनेछ । मृगौला सम्बन्धी रोगका कारण डायलाइसिस गराउनुपर्ने अवस्थामा पुगेका सबै विरामीहरुलाई निःशुल्क डायलाइसिस गराउन नसकिएको तथ्यलाई मध्यनजर गरी मेरो नेतृत्वको सरकारले मन्त्रिपरिषद्को पहिलो बैठकबाट नै डायलाइसिस सेवा विस्तार गर्ने निर्णय गरेको कुरा यस सम्मानित सभासमक्ष राख्न पाउँदा मलाई खुशी लागेको छ । स्वास्थ्य विमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन आवश्यक पहल गरिने विषय समेत म यस अवसरमा राख्न चाहन्छु । कृषियोग्य जमिनमा बा¥है महिना सिँचाइ पु¥याउने कार्यलाई अगाडि बढाइनेछ । कृषि भूमिको खण्डीकरण गर्ने कार्यलाई निरुत्साहित गरिनेछ । कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण र व्यावसायीकरण गरी उत्पादन र उत्पादकत्व बृद्धि गर्ने कार्यक्रम सञ्चालन गरिनेछ । कृषकलाई मल, बीउ तथा कृषि सामग्री समयमै सहज तरिकाले उपलब्ध गराउन पहलकदमी लिइनेछ ।
कृषि क्षेत्रमा उत्पादनमा आधारित अनुदान प्रणाली अवलम्वन गरिनेछ । कृषि विमा कार्यक्रमलाई प्रभावकारी ढंगले लागू गरिनेछ । सबै घरधुरीमा विद्युत सेवा विस्तार गरी उज्यालो गण्डकी प्रदेश कार्यक्रमलाई पूर्णता दिइनेछ । विद्युतीय सवारी साधनको प्रयोगलाई बढावा दिन विभिन्न स्थानहरुमा चार्जिङ स्टेशन निर्माण गरिनेछ । गण्डकी प्रदेशलाई पर्यटकीय राजधानी घोषणा गर्ने कार्यलाई साकार बनाइनेछ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई सम्पर्क बढाइ व्यस्त विमानस्थलकारुपमा विकास गर्न र यसबाट गण्डकी प्रदेशले अधिकतम आर्थिक लाभ लिने वातावरण सिर्जना गरिनेछ ।
गण्डकी प्रदेश प्राकृतिक स्रोतसाधनले भरिपूर्ण प्रदेश हो । विश्वको सबैभन्दा उचाइमा रहेको तिलिचो ताल, फेवाताल लगायतका तालतलैयाहरु, धौवादीमा रहेको फलाम खानी, अविरल जलप्रवाह हुने नदीहरु अपार सम्भावना भएका प्राकृतिक सम्पदाहरु हुन् । यी प्राकृतिक स्रोतसाधनहरुको अधिकतम उपयोग गरी प्रदेशको आर्थिक विकास गरिनेछ । गण्डकी प्रदेश प्राकृतिक विपदबाट बढी प्रभावित हुने प्रदेश हो । प्राकृतिक विपदबाट हुने क्षतिलाई न्यूनीकरण गर्न निरोधात्मक रणनीतिलाई प्राथमिकतामा राखेर काम गरिनेछ । साथै विपद्बाट प्रभावित व्यक्ति र क्षेत्रको शीघ्र उद्धार र पुनर्लाभको कामलाई स्थानीय र संघ सरकारसँग समन्वय गरी कार्यान्वयन गरिनेछ ।
सभामुख महोदय,
युवाहरुलाई सीपमूलक तालिम दिई व्यवसाय सुरु गर्ने सुरुवाती पुँजी (सिड मनी) सहुलियत दरमा उपलब्ध गराइनेछ । उत्पादनसँग युवा अभियान सञ्चालन गरिनेछ । गण्डकी विश्वविद्यालयलाई पर्याप्त स्रोतसाधन उपलब्ध गराइ स्तरोन्नतिमा विशेष जोड दिइनेछ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा विश्वविद्यालयसँग समन्वय गरी प्रदेशमा मानव संशाधन विकास गरिनेछ । गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठानको भौतिक पूर्वाधार निर्माण सम्पन्न गरी प्राविधिक शिक्षाको पठनपाठन प्रारम्भ गरिनेछ । लैङ्गिक हिंसा तथा जातीय छुवाछुत लगायत विभेदका सबै अवस्थाको अन्त्यको लागि सामाजिक जागरण अभियान र सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ । जातीय छुवाछुत र भेदभाव उन्मूलन सम्बन्धमा प्रदेशस्तरीय कानून निर्माण गरिनेछ ।
प्रदेशभित्र बसोबास गर्ने गुरुङ, छन्त्याल, तामाङ, थकाली, थारु, नेवार, मगर लगायतका विभिन्न जातजातिहरुको मौलिक भाषा, संस्कृति र परम्परालाई दिगो संरक्षण र प्रवर्द्धन गर्ने कार्यलाई जोड दिइनेछ । प्रदेशका सबै स्थानीय तहलाई सडक सञ्जालबाट जोड्ने कार्यलाई पूर्णता दिइनेछ । प्रदेश गौरवको आयोजनाको रुपमा रहेको त्रिवेणी–पोखरा–कोरला सडक निर्माण तथा स्तरोन्नतिको काम पूरा गरिनेछ । कोरला नाका खुला गर्न विशेष पहल गरिनेछ । सहरी क्षेत्रमा हुने ट्राफिक जाम कम गर्न आवश्यक पूर्वाधारहरु निर्माण गरिनेछ ।
पोखराको नयाँ एयरपोर्टदेखि पृथ्वीचोक हुँदै लेकसाइडसम्म छुट्टै द्रुतमार्गको अध्ययन गरी निर्माण कार्य प्रारम्भ गरिनेछ । प्रदेशमा हाल निर्माणाधीन सडक र पुलहरुको निर्माण कार्य पूरा गरी सडकमा जनताको पहुँच सुरक्षित गरिनेछ । कच्ची सडकलाई पक्की गर्ने कार्य द्रुतगतिमा अघि बढाइनेछ । संघ र स्थानीय तहसँग समन्वय गरी विकास निर्माणका कार्यहरुलाई प्रभावकारी ढंगले कार्यान्वयन गरिनेछ । आयोजनाहरु छनोट, वितरण र कार्यान्वयनमा हाल देखिँदै आएको क्षेत्रीय असन्तुलन हटाइनेछ । प्रदेशमा राजस्व वृद्धि गर्ने उपायहरु खोजी गरिनेछ । नेपाल सरकारबाट प्राप्त हुने अनुदान र राजश्व बढाउन आवश्यक पहल गरिनेछ । बजेट निर्माण र कार्यान्वयनमा आर्थिक अनुशासन कायम गरिनेछ । उपलब्ध स्रोतसाधनको महत्तम उपयोग गरिनेछ ।
सभामुख महोदय,
नेपालको संविधानमा गरिएको व्यवस्था अनुसार प्रदेश सभाका लागि भएको दोस्रो निर्वाचनबाट म मुख्यमन्त्री पदमा नियुक्त भएको छु । मेरो नेतृत्वमा गठन भएको सरकारले मैले माथि उल्लेख गरेको कार्यहरु प्रदेश सरकारको प्रथम पञ्चवर्षीय योजनासँग समेत सम्बन्धित छन् । कार्यक्रमले नेपाली जनताको विकास र समृद्धिको आकांक्षा पूरा गर्न र दीगो विकास लक्ष्य पूरा गर्न सहयोग गर्ने विश्वास लिएको छु । यस सन्दर्भमा विगतका सरकारहरुले थालनी गरेका आयोजना तथा कार्यक्रमहरु समयमै सम्पन्न गर्ने प्रतिवद्धता समेत व्यक्त गर्दछु । मलाई समर्थन गर्न नेपाली काँग्रेस पार्टीलाई समेत अनुरोध गर्दछु । हामी हाम्रा कामहरुबाट नै प्रदेशको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफ दिनेछौं । तसर्थ नेपालको संविधानको धारा १६८ को उपधारा (४) र प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम मलाई विश्वासको मत दिनुहुन प्रदेश सभाका सम्पूर्ण माननीय सदस्यहरुमा अनुरोध गर्दै विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्दछु ।
(गण्डकी प्रदेश सभामा २०७९/०९/२९ मुख्यमन्त्री अधिकारीले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्ताव)
तपाईको प्रतिक्रिया