१५ वर्षअघि बनेको थियो यतीको जहाज

पोखरा ।
पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको जहाज १५ वर्षअघि उत्पादन भएको पाइएको छ । यो एटीआर कम्पनीले उत्पादन गरेको सिरियल नम्बर–७५४ जहाज हो ।
७२–२१२ ए प्रकारको यो जहाजले पहिलो उडान सन् २००७ अगस्ट १ मा गरेको थियो । यतीले नुक एयरलाइन्सबाट यो एटीआर किनेको हो । थाइल्यान्डको नुकलाई यो एटीआर भारतको किङफिसरले बेचेको थियो ।
किङफिसर एयरलाइन्सले ६ वर्ष चलाएपछि सन् २०१३ बाट नुक एयरले प्रयोग गर्दै आएको थियो । यतीले नुकबाट जहाज सन् २०१९ मार्च २६ मा किनेर नेपाल भित्र्याएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले प्राविधिक कारणले जहाज दुर्घटना भएको हुनसक्ने अनुमान गरेका छन् ।
‘मौसमको समस्या थिएन, विमानको प्राविधिक कारणले दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ,’ उनले भनेका छन्, ‘विमानमा आकाशमै आगोको झिल्को देखिएको जानकारी प्राप्त भएको छ ।’ जहाज दुर्घटना भएलगत्तै काठमाडौंबाट प्राविधिक टोली पोखरा हिडिसकेको प्राधिकरणले जनाएको छ।
मृतकका परिवारले कति पाउँछन् बिमा ?
काठमाडौंबाट बिहान पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर ७२ विमान दुर्घटना सेती नदी खोंचमा दुर्घटना भयो । विमानमा ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य गरी ७२ जना यात्रु सवार थिए । जसमा नेपाली यात्रुको संख्या ५३ जना, विदेशी यात्रुको संख्या १० जना विदेश र भारतीय यात्रुको संख्या ५ जना रहेको थियो ।
विमान चालक दलसहित विमानमा सवार सबै यात्रुको मृत्यु भएको छ । यती एयरलाइन्सले विमानमा सवार यात्रुहरुको बिमा हिमालयन एभरेष्ट इन्स्योरेन्स (साबिकको हिमालयन जनरल)मा गरेको थियो । हिमालयन एभरेष्ट इन्स्योरेन्सले भने वेलायती पुनर्बीमा कम्पनी एमएआरएस पुनर्बीमा कम्पनीसँग गराएको थियो ।
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक एंव प्रवक्ता राजुरमण पौडेलले विमान दुर्घटना भएपछि कम्पनीले दुर्घटना भएको विमानको क्षति मूल्यांकन गर्न सिङ्गापुरबाट सर्भेयर बोलाएको जानकारी दिए । ‘हिमालन एभरेस्ट इन्स्योरेन्समा मिमा गरिएको छ,’ पौडेलले भने, ‘विमानको क्षति मूल्यांकन गर्न कम्पनीले सिंगापुरबाट सर्भेयरसमेत मगाइसकेको छ ।’ कम्पनीले प्राधिकरणको समन्वयमा सर्भेयर बोलाएको हो ।
नेपालमा व्यवसायिक हवाई उडान सुरु भएदेखि नै आन्तरिक उडानमा सवार यात्रुको बिमा रकम २० हजार अमेरिकी डलर कायम गरिएको थियो । र, आजसम्म पनि उक्त बिमाशुल्क नै कायम रहेको पौडेल बताउँछन् । हवाई जहाजमा सवार प्रत्येक यात्रुको बिमा २० हजार अमेरिकी डलरको हुन्छ । चालक दलका सदस्यको बिमा भने ४० हजार अमेरिकी डलरको हुन्छ ।
अन्य बीमाभन्दा हवाई बिमामा अत्यधिक जोखिम हुन्छ । नेपाली बिमा कम्पनीहरुले थोरैमात्र जोखिममात्रै राखेर बाँकी जोखिम पुनर्बीमामार्फत् बाहिर पठाउने उनको भनाइ छ । धेरै जोखिम हुने भएकाले बिमा कम्पनीहरुले हवाई बीमाको पुनर्बीमा प्रख्यात पुनर्बीमा कम्पनीहरुमा गर्ने उनी बताउँछन् ।
हवाई जहाज सञ्चालन गरिरहँदा विभिन्न प्रकारको क्षति र नोक्नसानी हुने खतरा रहन्छ । हवाईजहाज दुर्घटना वा एकआपसमा ठोक्किएको अवश्थामा हवाई जहाजका यात्री, मालसामान र चालक दलका सदस्यलाई पनि क्षति पुग्न सक्छ ।
तपाईको प्रतिक्रिया