पोखरा विमान दुर्घटना: पर्वतका एकै परिवारका ४ को मृत्यु


पर्वत ।
आइतबार पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परी पर्वतका १० जनाको ज्यान गएको पुष्टि भएको छ । मृतक सबैको सनाखतसमेत भइसकेको छ । पर्वतको विहादी गाउँपालिका वडा नं ५ की ६३ वर्षीया जमुना शर्मा विगत ३ महिनादेखि काठमाडौँमा छोरासँग बस्थिन् ।
यही माघ ४ गते माइती गाउँ विहादी वडा नं ४ को वानीपोखरामा बाबुआमाको चौरासी पूजामा सरिक हुनका लागि छोरा युवराजसहित नाति र नातिनीसँग उनी पोखरा फर्किंदै थिइन् । बाबाको जन्मघर, गाउँ घुुम्न जान पाउँदा दुवै छोराकै खुसी देखिन्थ्ये ।
तर उनीहरुको खुसी विमानवाट झर्न नपाउँदै बिलायो । आइतबार काठमाडौंबाट पोखरा जाँदै गरेको यती एयरलाइन्सको विमान दुर्घटनामा परी ६३ वर्षीया जमुना शर्मा, उनको छोरा ४० वर्षीय युवराज शर्मा, नातिनी १३ वर्षीया आयुर्दी शर्मा र नाति ४ वर्षीय बेवीन शर्माको निधन भएको छ ।
लामो समयदेखि गाउँ नआएका छोरा र नाति नातिनीसँग गाउँ फर्किंदा जमुना खुसी त थिइन् नै साथै उनले माइतीमा आफ्ना आमाबुवाको चौरासी पूजामासमेत जाने योजना बनाएकी थिइन् । तर विमान दुर्घटनासँगै उनको सपना अधुरै रह्यो ।
जमुना आधा समय काठमाडौं छोरासँग र आधा समय गाउँमा नै बस्थिन् । छोरा अन्तर्राष्ट्रिय एकीकृत विकास केन्द्र (इसिमोड)मा आइटी अधिृकतका रुपमा कार्यरत थिए भने बुहारी सरु शर्मा त्रिभुवन विमानस्थलमा टावर कन्ट्रोलर अफिसर थिइन् ।
एकै परिवारका ४ जनाको निधन भएपछि अहिले पूरै गाउँ शोकमा डुबेको छ । गाउँमा रहेका आफन्त शव पहिचान गरी अन्त्येष्टिका लागि पोखरातर्फ लागेका छन् । दुर्घटनामा ज्यान गुमाउने कुश्मा ९ कटुवाचौपारीका ४६ वर्षका अरुण पौडेल र उनकी छोरी वर्ष ११ की प्रसिद्धी पौडेल विद्यालय बिदा भएपछि आफन्तलाई भेटघाट गर्नका लागि आएका थिए ।
काठमाडौँको बृहस्पति विद्याश्रममा कक्षा ५ मा पढ्ने प्रसिद्धी जन्मघर पर्वत आउने क्रममा उनीहरू दुर्घटनामा परेका हुन् । ‘छोरीको स्कुल बिदा पनि भएकाले दाजुभाइ भेटौँ भनेर जन्मघर आउन लाग्नुभएको रहेछ’, अरुणका छिमेकी उपेन्द्र अधिकारीले भने, ‘उहाँहरूलाई लिन भाइ (अरुणका भाइ केशव) विमानस्थलमै पुग्नुभएको थियो ।’
केशवले नै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएर अरुण र प्रसिद्धीको शवको पहिचान गरेका हुन् । पौडेल गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा चुनावमा पर्वतबाट स्वतन्त्र उम्मेदवार बनेका थिए ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।
तपाईको प्रतिक्रिया