हाइ क्याम्पमा कोरियालीको मृत्यु

समाधान संवाददाता २०७९ माघ ३ गते ११:४५

जोमसोम ।
मुस्ताङ र मनाङको सीमावर्ती क्षेत्र थोरङ्लापासमाथि हाइक्यापमा कोरियाली महिलाको मृत्यु भएको छ । समुन्द्री सतहदेखि करिब ५ हजार ३ सय ५० मिटरमा अवस्थित थोरङ्पासको हाइक्याम्प माथिको पदमार्गमा किमजेसुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।

थोरङ्पास क्षेत्रमा कोरियन महिलाको मृत्यु भएको सूचना मनाङ प्रहरी र एक्यापलाई आइतबार बिहान करिब साढे १० बजे प्राप्त भएको जिल्ला प्रहरी कार्यालय मनाङका निमित्त इन्चार्ज रामकृष्ण श्रेष्ठले जानकारी दिए । थोरङ्लापमा कोरियन महिला किम जेसुनको लेंक लागेर मृत्यु भएको निमित्त प्रहरी इन्चार्ज श्रेष्ठले बताए ।

महिलाको शव उद्दारका लागि २ प्रहरी र १ एक्यापका कर्मचारी घटनास्थलमा पुगिसकेका छन् । मनाङ ङिस्याङ गाउँपालिकामा महिलाको लेंक लागेर मृत्यु भएको एक्याप मनाङका कार्यालय प्रमुख लेखनाथ गौतमले जानकारी दिए ।

Advertisement

राउन्ड अन्नपूर्ण चक्रीय पदमार्गमा यात्रा गर्ने क्रममा उनको मृत्यु भएको हो । हिउँद यामको मौसममा सो क्षेत्रमा अत्यधिक चिसो छ । चिसोकै कारण महिलाको मृत्यु भएको हुनसक्ने एक्याप प्रमुख गौतमको अनुमान छ ।

जनवरी १० मा लमजुङको बेसीसहरबाट मनाङ प्रवेश गरेकी ती महिला तिलिचो ताल वा थोरङ्पासका लागि पदयात्रामा निस्किएकी थिइन् । उनको उमेर भने दुई थरी देखिएको छ । प्रहरीको रेकर्डमा ५३ वर्ष र एक्यापको रेकर्डमा २७ वर्ष उल्लेख छ ।

Advertisement

मनाङ एक्यापले शव उद्धारका लागि सम्बन्धित दूतावासँग समन्वय भइरहेको बताएको छ । कार्यालय प्रमुख गौतमले दूताबासले घरपरिवारसँग समन्वय गर्ने प्रक्रियाअघि बढेको जानकारी दिए । राउन्ड अन्नपूर्ण पदयात्रा गर्ने क्रममा मनाङ प्रवेश गरेको ५ दिनपछि ती महिलाको मृत्यु भएको हो ।

उद्वारका लागि गएका ३ जनामध्ये दुई प्रहरीसमेत लेक लागेर बिरामी परेको एक्याप मनाङले जनाएको छ । ‘शव उद्धारका लागि २ प्रहरी र हाम्रा कर्मचारी थोरङ्लापास पुगेका छन् । चिसोले बिरामी भएको भन्ने छ, शव व्यवस्थापनमा कठिनाइ भएको छ,’ उनले भने । ती महिला चिसो मौसममा बिना ट्राभल एजेन्सी एक्लै यात्रामा थिइन् ।

तपाईको प्रतिक्रिया