ह्याट्रिक सांसदलाई हराएका पदम, स्ववियु सभापतिदेखि स्वास्थ्यमन्त्रीसम्म

समाधान संवाददाता २०७९ माघ ४ गते ११:१२

पोखरा ।
पर्वतबाट २ पटक प्रतिनिधिसभा चुनाव जितेका नेकपा (एमाले)का केन्द्रीय सदस्य पदम गिरी स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त भएका छन् । ३ पटक सांसद चुनिएका नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुनप्रसाद जोशीलाई प्रतिनिधिसभा निर्वाचनमा २ पटकसम्म लगातार हराएका गिरी जिल्लाबाट संघमा मन्त्री बन्नेमा पहिलो हुन् ।

Advertisement

पर्वतले अहिलेसम्म राज्य र सहायकमन्त्री बाहेकको मन्त्री भने पाउन सकेको थिएन । पञ्चायत कालको सुरुआतमा मोदी गाउँपालिका अन्तर्गत देउराली लाङ्दीका गणेशबहादुर गुरुङ २०२२/२३ सालमा राज्यमन्त्री बनेका थिए । त्यसको केही वर्षपछि सोही ठाउँका पूर्व भारतीय सेना लालसिंह गुरुङ सहायकमन्त्री बने ।

२०३९ सालमा जलजला ४ मल्लाज माझफाँटका डम्मरबहादुर मल्ल यातायात राज्यमन्त्री बनेका थिए । त्यसपछि क्षेत्रबहादुर गुरुङ सहायक यातायात मन्त्री र पर्वत फलेवास ६ देवीस्थानकै डिल्लीराज पौडेल भूमिसुधार सहायकमन्त्री बन्न सफल भएका थिए ।

पर्वतमा यसअघि ६ जनामन्त्री बनेको भए पनि राज्यमन्त्री र सहायकमन्त्रीमै सीमित थिए । यसपटक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा पर्वतका पदम गिरीले मन्त्रीको रूपमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् । ‘पर्वतलाई लामो समयदेखि उपेक्षामा राखिएको थियो’, स्थानीय राजु पौडेलले भने, ‘अहिले मन्त्री पाएपछि पर्वतको विकास हुने अपेक्षा गरेका छौं ।’

विसं २०३३ मा पर्वतको कुश्मा नगरपालिका वडा नं ३ दुर्लुङमा जन्मिएका गिरीले समाजशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका छन् । उनले १४ वर्षको किशोर अवस्थादेखि नै विद्यार्थी राजनीति सुरु गरेका हुन् । पृथ्वीनारायण क्याम्पस पोखरामा भर्ना भएपछि सुरुका दिनमा अनेरास्ववियु पर्वत पोखरा सम्पर्क कमिटीको अध्यक्ष भई नेतृत्व सम्हालेका थिए ।

Advertisement

विद्यार्थी राजनीतिलाई नै निरन्तरता दिँदै गिरी २०५५ सालमा अनेरास्वियु पृथ्वीनारायण क्याम्पसको प्रारम्म्भिक कमिटीको सचिव र स्वतन्त्र विद्यार्थी युनियनको सदस्य निर्वाचित भएका थिए । २०५७ सालदेखि अनेरास्ववियु पृथ्वीनारायण क्याम्पसको प्रारम्भिक कमिटीको नेतृत्व गरेका गिरीले २०५९ माघ १९ को शाही ‘कु’ को विरुद्ध गणतन्त्रको माग गर्दै पिएन क्याम्पसबाट विरोध प्रदर्शनको नेतृत्व गरेका थिए ।

अनेरास्ववियुको १९ औं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सचिवालयमा निर्वाचित भएका गिरी स्ववियु परिचालन विभागको प्रमुख बनेका थिए । विद्यार्थी विशेष जिल्ला कमिटीको सदस्य हुँदै आफ्नो गृह जिल्ला पर्वतको पार्टी राजनीति शुभारम्भ गरे । पर्वतको सातौं जिल्ला अधिवेशनबाट उनी सचिवालय सदस्यमा निर्वाचित भएका थिए । नेकपा एमाले पर्वतको आठौं जिल्ला अधिवेशनबाट भने उनी अध्यक्षमा निर्वाचित भएका थिए ।

विद्यार्थी राजनीतिको समयमा धैर्यवान नेताको छवि बनाएका गिरी पार्टी राजनीतिमा भने गतिशील ढंगबाट अघि बढ्दै गए । फलस्वरुप उनी २०७४ सालको प्रतिनिधिसभा चुनावमा नेकपा एमालेबाट चुनावी मैदानमा होमिए । २०५६ सालको संसदीय चुनाव, २०६४ को पहिलो संविधानसभा र २०७० को दोस्रो संविधानसभा चुनाव जितेका अर्जुनसँग पदमको जित सो समयमा धेरैको लागि अपत्यारिलो थियो । यद्यपि गिरीले भारी मतान्तरसहित शानदार जित हासिल गर्दै देशकै कान्छो सांसदको रुपमा प्रतिनिधिसभामा प्रवेश गरेका थिए ।

नेकपा एमालेको दशौं महाधिवेशनबाट केन्द्रीय सदस्य तथा पर्वत जिल्ला सहइन्चार्ज बनेका गिरी प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा दोस्रो पटक नेकपा एमालेबाट निर्वाचित भए । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अर्जुन जोशीलाई दोस्रो पटक माथ खुवाउँदै विजयी पदमको मन्त्रालयको यात्रा भने पहिलो हो । यस पटक जोशीसँग ५ दलीय गठबन्धन थियो तर गिरी एक्लैले जितेनन्, पर्वतमा एमालेले क्लिन स्वीप गर्‍यो ।

तपाईको प्रतिक्रिया