पाेखरा म्याराथनलाई सघाउने मेयरको वाचा

पोखरा ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा म्याराथन सफल बनाउन पोखरा महानगरले अपनत्व लिने बताएका छन् । नेपाली अग्रज खेलाडीको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले आयोजना गर्ने १७ औं संस्करणको पोखरा म्याराथन सफल बनाउने सन्दर्भमा आयोजित अन्तरक्रीयामा मेयर आचार्यले यस्तो वाचा गरेका हुन् ।
उनले भने, ‘पोखरा म्याराथन पोखरा महानगरको आफ्नै कार्यक्रम हो । यसलाई सफल बनाउन पोखरा महानगरले सहकार्यसँगै आवश्यक कार्य पूरा गर्नेछ ।’ पोखरा म्याराथनले १६ औं संस्करण पूरा गरिसकेकोले पनि यसको आफ्नै गरिमा रहेको बताउँदै मेयर आचार्यले धेरैभन्दा धेरै पोखरेलीलाई सहभागी गराउन सबै वडालाई तदारुकताका साथ काम गर्न आफूले निर्देशन दिने उनले सुनाए ।
महानगरसँग भगिनी सम्बन्ध रहेका मुलुकका खेलाडीलाई निमन्त्रणा गर्ने सँगै नेपालका अन्य सहरका मेयरलाई समेत निमन्त्रणा गर्ने गरी पोखरा महानगरले पत्राचार गर्ने मेयर आचार्यले बताए । मञ्चका निवर्तमान अध्यक्ष तेजबहादुर गुरुङले पोखरामा खेल संस्कृतिको विकास एवं प्रवद्र्धन गर्न पोखरा म्याराथनले महत्वपूर्ण भूमिका खेलेको बताउँदै पोखरा महानगरले अपनत्व ग्रहण गरेमा यसले थप उचाई प्राप्त गर्ने बताए ।
हालै मात्र पोखरा म्याराथनले अन्तर्राष्ट्रिय मान्यता पाएसँगै पोखरा म्याराथनको चर्चा अन्तर्राष्ट्रिय स्तरमा मात्रै नभई अन्तर्राष्ट्रिय धावको समेत ध्यनाकर्षण हुन थालेको उनले सुनाए ।
कार्यक्रम मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीको अध्यक्षतामा भएको थियो । १७ औं सफल पोखरा म्याराथन आगामी फागुन ६ गते शनिबार हुँदै छ । पोखरा रंगशालाबाट सुरु हुने पोखरा म्याराथनले पोखरा महानगरका १ देखि १७ नं वडाको रुटमा आयोजना हुने गर्दछ । पोखरा म्याराथन अन्तर्गत ४२.१९५ किमी, २१ किमी, १० किमी, ५ किमी, ह्विल चियर र दृष्टिविहीन दौड हुनेछन् । पोखरा म्याराथन खुलातर्फ यस वर्ष ५ लाख नगद पहिलो पुरस्कार छ ।
तपाईको प्रतिक्रिया