विमान दुर्घटनाको कारण खोज्दै फ्रान्सेली टोली

समाधान संवाददाता २०७९ माघ ५ गते १०:२४

पोखरा ।
आइतबार भएको यती एयरलाइन्सको एटिआर विमान दुर्घटनाको अध्ययन गर्न विमान निर्माता फ्रान्सेली कम्पनीको टोली पोखरा आएको छ । विमान निर्माता कम्पनीबाटै प्रतिनिधि मंगलबार नेपाल आएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

Advertisement

बुधबारमात्र ९ सदस्यीय त्यो टोली पोखरामा आइपुगेको हो । ‘घटनास्थलमा अझै पनि सुरक्षा निकायले खोजी जारी गरेको छ । घटनास्थल खाली भएको छैन । एटिआर कम्पनीको टोली पोखरा आएर घटनास्थल अवलोकन गरिसक्यो,’ टोलीलाई सहयोग गरिरहेका १ जनाले भने ।

टोलीले बुधबार नै प्रत्यक्षदर्शी र आसपासका घरमा घटनाका बारेमा जानकारी लिएको छ । ‘जुन घटना भयो । त्यो दिन प्रत्यक्ष दुर्घटना देख्ने ४÷५ जनासँग टोलीले सोधपुछ गरिसकेको छ । बिहीबार विमानस्थलमा पनि पुग्ने कार्यक्रम छ । मृतकबारे बुधबारै त्यो टोलीले जानकारी लिइसक्यो,’ ती अधिकृतले भने ।

कास्कीका सिडिओ टेकबहादुर केसीले भने फ्रान्सेली टोलीसँग आफूहरुको कुरा नभएको बताए । ‘हाम्रो काम दुर्घटनामा पर्नेहरुको खोजी नै हो । प्रमाणहरु संकलन गर्ने हो । सुरक्षा निकायको त्यो टोलीले काम गरिरहेको छ ।

फ्रान्सेली टोलीसँग हाम्रो कुनै सम्बन्ध छैन । उहाँहरु घटनाको बारेमा अनुसन्धान गर्न आउनुभएकाले हामीसँग कुरा गर्नुपर्ने पनि देख्दिनँ,’ केसीले भने, ‘बरु घटनामा १ जनाको खबर अज्ञात नै छ । हाम्रो सुरक्षाको टोलीले खोजी गरिरहेको छ ।’

Advertisement

दुर्घटनाको जानकारी ‘ब्ल्याक बक्स’को आधारमा हुन्छ । नेपालमा ब्ल्याक बक्स रिडिङ गर्ने मेसिन नहुँदा अध्ययनका लागि फ्रान्स नै लैजानुपर्ने नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । नेपालमा पहिलोपटक एटिआर विमान दुर्घटना भएकाले पनि विमान निर्माता कम्पनीले दुर्घटनाप्रति चासो दिएको हो ।

आइतबार दुर्घटनामा परेको जहाजमा ७२ यात्रु थिए । तीमध्ये ७१ जनाको मृत्यु पुष्टि भइसकेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले २२ जनाको शव परिवारलाई बुझाइसकेको छ । ४९ जनाको शव पहिचानका लागि काठमाडौं लगिएको छ ।

नेपाल सरकारले पनि दुर्घटनाको अनुसन्धान गर्न पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गरेको छ । त्यो आयोगले पनि काम सुरु गरिसकेको हो । त्यो आयोगले ब्ल्याक बक्सको रिपोर्ट कुरिरहेको १ सदस्यले बताए । ‘ब्ल्याक बक्सको रिपोर्ट आएपछि नै अझै बढी थाहा हुन्छ । यस कारण सुरुमा ब्ल्याक बक्सको रिपोर्ट नआइकन भन्न सकिँदैन’, आयोगका ती सदस्यले भने ।

आयोग सदस्यमा हवाई विज्ञ दीपकप्रसाद बास्तोला र क्याप्टेन सुनील थापा, हवाई मर्मत विज्ञ एकराज जंग थापा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् ।

तपाईको प्रतिक्रिया