पानीरंगको चित्रकला प्रर्दशनी गरिने

समाधान संवाददाता २०७९ माघ ५ गते १०:४७
Exif_JPEG_420

पोखरा ।
हेमकान्ति आर्ट ग्यालरीले नो गट्स नो स्टोरी दोस्रो हिडन सोल फेसन फ्युजन प्रर्दशन कला र चित्रकला प्रदर्शनी गर्न लागेको छ । यो ग्लायरीले इन्टर नेसनल वाटर कलर सोसाइटी (आइडब्लुएस)बाट मान्यता प्राप्त गरेको छ ।

आइडब्लुएस ग्लोबल वाटर कलर डेको ११ औं वार्षिकोत्सवको अवसरमा बुद्धीज एटेलियरसँगको सहकार्यमा माघ ७ गते शनिबार होटल बाराहीमा चित्रकला प्रर्दशनी गर्न लागेको कार्यक्रम संयोजक ज्योति गुरुङले जानकारी दिइन् । उनले प्रर्दशनीमा ४ वर्षदेखि ३६ वर्ष उमेर समूहका २१ जना कलाकारको सहभागिता रहने बताइन् ।

‘अन्तर्राष्ट्रिय रुपमा प्रमाणित ग्यालरी तथा संस्थाले यस्तै प्रकारको पहिलो राष्ट्रिय चित्रकला प्रर्दशनी सफलता पूर्वक सम्पन्न गरिसकेको छ,’ संयोजक गुरुङले भनिन्, ‘दर्शकको माग अनुसार हामी नयाँ विचार र अवधारणा लिएर दोश्रो पटक आएका छौं ।

Advertisement

यस पटक हामी फेसन र कलालाई सयुक्त रुपमा प्रस्तुत गर्ने तयारी गरेका छौं ।’ उनले फेसन र कला एक अर्कासँग सम्बन्धित भएको संयुक्त रुपमा प्रस्तुत गर्न लागेको जानकारी दिइन् । संयोजक गुरुङले प्रर्दशनीमा कलाकारको प्रस्तुति र चित्रकला प्रर्दशनी गरिने बताइन् ।

हेमकान्ति आर्ट ग्यालरीका सञ्चालक हेमकान्ति गुरुङले प्रर्दशनीले युवा तथा बाल बालिकामा आत्मविश्वास जगाउनुका साथै नयाँ पुस्ताको लुकेर क्षमतालाई पनि बाहिर ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । लामो समयदेखि फेसनको चलन परिवर्तन हुँदै आएको जानकारी दिँदै उनले युवा नयाँ फेसनतर्फ आकर्षित भएकाले फेसनसँग पेन्टिङ फ्युजनले नयाँ ट्वीस्टसहित ग्ल्यामर थपिने विश्वास व्यक्त गरिन् ।

Advertisement

उनले आर्ट ग्यालरीले युवा कलाकारलाई अन्तर्राष्ट्रिय रुपमा अवसर दिने र नेपालको कलालाई विश्वमा प्रवद्र्धन गर्ने जानकारी दिइन् । प्राज्ञ तथा कलाकार बुद्धि गुरुङले अग्रज कलाकार दुर्गा बराल (वात्स्यायन)ले २०२८ सालदेखि पानी रंगको चित्रकला स्कुलको सुरुवात गरेको जानकारी दिए ।

त्यही स्कुलमा २०३६ सालमा हरेराम जोजेजू र आफू स्वयं विद्यार्थीको रुपमा गएको उल्लेख गर्दै उनले पानी रंगको चित्रकलाबारे ज्ञान दिन बुद्धीज् एटेलियर २०५६ सालमा स्थापना गरेको बताए । एटेलियरलाई ललित कलाको सानो पानी रंगको स्कुलको रुपमा चिनिएको जानकारी दिँदै उनले ४ वर्ष भन्दा माथिका विद्यार्थीलाई आधारभूत प्रशिक्षण दिन गठन गरिएको स्कुलले धेरै युवा कलाकार उत्पादन गरेको उल्लेख गरे ।

उनले पोखरामा आर्ट ग्यालरी नहुँदा होटल पार्टी प्यालेसमा चित्रकला प्रर्दशनी गर्न लागेको जानकारी दिए । प्राज्ञ गुरुङले सिर्जनशील कलाकार समूहले आर्ट ग्यालरी स्थापनाका लागि पोखरा महानगरपालिकालाई ध्यानाकर्षण गराएको सुनाए ।

तपाईको प्रतिक्रिया