माया हाइड्रोपावरको आइपिओ आउँदै

समाधान संवाददाता २०७९ माघ ५ गते ११:३०

काठमाडौं ।
माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गरेपश्चात आगामी माघ १३ गतेदेखि सर्वसाधारणको लागि प्रतिकित्ता १ सय अंकित दरमा १९ लाख ९२ हजार कित्ता सेयर प्राथमिक सार्वजनिक निष्कासन(आइपीओ) बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले आफ्नो जारी पुँजी १ अर्बको ३४ प्रतिशतले हुने ३४ करोड मूल्य बराबरको कुल ३४ लाख कित्ता साधारण सेयरमध्ये आयोजना प्रभावित स्थानीयका लागि कुल १० लाख कित्ता शेयर निष्सकासन गरी बाँडफाँट गरिसकिएको छ ।

त्यस्तै २ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, १ लाख २० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको र ४८ हजार कित्ता कर्मचारीलाई छुट्याई बाँकी १९ लाख ९२ हजार कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ ।

Advertisement

कम्पनीले निष्कासन गर्ने सेयरमा लगानीकर्ताले छिटोमा यही माघ १७ गतेसम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे माघ २७ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता खरिदका लागि आवेदन दिन सकिनेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड छ ।

इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट ‘सी–आस्वा’ प्रणालीमार्फत र ‘मेरो शेयर’बाट आवेदन दिन सकिने जनाइएको छ ।

Advertisement

कम्पनीलाई ईक्रा नेपालले ‘ईक्राएन्पी आईआर बीबी माइनस’ प्रमाणपत्र प्रदान गरेको छ । कम्पनीले सङ्खुवासभाको धर्मदेवी नगरपालिकाको माया खोलामा १४ दशमलव ९मेगावाट क्षमताको मायाखोला जलविद्युत आयोजना निर्माण गरेकोे छ ।

तपाईको प्रतिक्रिया