सम्पादकीय: प्रतिपक्षविनाको व्यवस्थापिका

नेपालले बहुदलीय लोकतन्त्र अबलम्बन गरेको छ । संसदीय व्यवस्थामा प्रतिपक्षविहीन संसद्को कल्पना गरिँदैन । कुनै देशमा कुनै राजनीतिक पार्टी अत्यधिक लोकप्रिय बनेर तीन–चौथाई वा सोभन्दा बढी संख्यामा सिट जित्छ र त्यो पार्टी लोकतान्त्रिक मर्म र संसदीय व्यवस्थाको अनुपालक हो भने लोकप्रिय प्रतिपक्षीलाई पछाडिको बाटोबाट भए पनि जिताउने प्रयास गर्दछ । यस्ता केही उदाहरण छन् ।
नेपालमा पहिलो आमनिर्वाचनमा नेपाली कांग्रेसको दुईतिहाई बहुमत आएको थियो । त्यो केही सिट नेकपा र गोर्खा परिषद्ले जितेकै थिए । संसदीय व्यवस्थाको अभ्यास नभएको अवस्थामा पनि ती साना दल पद वा रणनीतिक चालबाजी गर्न सत्तासँग टाँसिन पुगेनन् । देशमा यो पटक भने अनौठो भयो । अहिले नेपालमा सात वटा गठबन्धन मिसिएको संयुक्त–पार्टीको सरकार छ ।
सरकार बनाउने पार्टी गठबन्धनको समीकरण भताभुंग हुँदा प्रतिपक्षमा बस्न बाध्य हुनुपर्यो भन्ने हर्ष–विषाद मनाइरहँदा उसले पनि सरकारलाई समर्थन गरेर नेपालको संसद्लाई प्रतिपक्षीविहीन बनाइदिंदा देखिएको अनौठोपन भने अस्वाभाविक नै हो । कांग्रेसको यो समर्थन सरकारको लोकप्रियताको आधारमा होइन, भोलि वर्तमान सत्ता–समीकरण भत्काउने बाटो तयार पारिएकोमात्र हो भन्न सामान्य बुद्धि भएको व्यक्तिले पनि धक मान्दैन ।
संसद् प्रतिपक्षविहीन भएकोमा खुसी मनाउनुको साटो भोलि सरकारलाई अस्थिर बनाउने, सत्ताका लागि राजनीतिमा विभिन्न थरीका विकृति–विसंगति निम्त्याउने रणनीति हो भन्ने देखिन्छ । यसै पनि नेपालमा बहुमत प्राप्तमात्र होइन, दुईतिहाई बहुमत पाएको पार्टी वा गठबन्धनले पनि पूर्णकाल शासन चलाउन पाएको इतिहास छैन ।
यस्तोमा भोलि सरकार अस्थिर बनाउनेगरी संसद्लाई प्रतिपक्षविहीन बनाउनु निम्न स्तरको कुटिलता हो । यसले संघीय लोकतान्त्रिक गणतन्त्रमा जनताले गरेको अपेक्षा पूरा गर्दैन । राजनीतिलाई देशको सर्वाेच्च नीति मान्नुपर्ने यथार्थ बिर्सेर घृणा गर्ने अवस्था आएको छ । यसको जिम्मेवार अहिलेको नेतृत्व नै हो । यो अवस्थालाई परिवर्तन गर्ने दायित्व पनि यही नेतृत्वकै हो । बस, दायित्व पूरा गर्ने वा नगर्ने भन्नेमात्र हो ।
नेपाललाई अहिले स्थिर सरकार चाहिएको छ । स्थिर सरकार भयो भने देशमा आर्थिक गतिविधिले गति लिन्छ । देशको विकासले फड्को मार्छ, आर्थिक चलखेल बढ्दा रोजगार सिर्जना हुन्छ, उद्योग–व्यवसाय चल्छ, ज्यानको बाजी थापेर देशको युवा वैदेशिक रोजगारमा जानुपर्दैन । तर यी काम हुन सकेका छैन् ।
विभिन्न थरीका प्रजातान्त्रिक व्यवस्थाका सरकार देखियो तर उपरोक्त काम हुन नसक्नुको पछाडि अस्थिर सरकार नै हो । स्थिर सरकार बनाउने र राजनीतिक स्थिरता कायम गर्ने दायित्व दलहरुको हो । जसले युग र व्यवस्था परिवर्तनको अगुवाइ गरे, उहीहरु नै सत्ताको स्वादमा डुबेपछि च्यूत हुनु विडम्बनापूर्ण छ ।
तपाईको प्रतिक्रिया