घट्दो जनसंख्याले चिन्तित चीन

समाधान संवाददाता २०७९ माघ ६ गते ११:२१

बेइजिङ ।

चीनको जनसंख्या ६० वर्षयताकै कम देखिएको छ । जन्मदरमा उल्लेख्य गिरावट आएसँगै जनसंख्या कम हुँदै गएको तथ्यांक चिनियाँ राष्ट्रिय तथ्यांक विभागले मंगलबार सार्वजनिक गरेको हो । सन् २०२२ मा चीनको जनसंख्या १ अर्ब ४१ करोड थियो । यो संख्या सन् २०२१ को तुलनामा ८ लाख ५० हजारले कम हो ।

सन् २०२१ मा १ करोड ४१ लाखको जन्म भएको मा सन् २०२२ मा केबल ९० लाख ५६ हजारको जन्म भएको राष्ट्रिय तथ्यांक विभागको तथ्यांक छ । विभागले हङकङ, मकाउ र चीनमा बसोबास गर्ने विदेशी नागरिकहरू बाहेक केन्द्र सरकारको सबै तथ्यांक यसमा समावेश गरेको जनाएको छ ।

Advertisement

यस्तै, गत वर्ष चीनमा जन्मदरभन्दा मृत्युदर ऐतिहासिक रूपमा बढी देखिएको थियो । यति धेरै मृत्युदर भएको यो पहिलोपटक हो । जनसंख्या नियन्त्रण गर्ने नीतिका कारण पनि चीनमा केही वर्षयता जनसंख्या घट्दो छ । चीनले दशकमा एकपटक गरिने जनगणना सन् २०२१ मा सार्वजनिक गरेको थियो । जसमा त्यहाँको जनसंख्या दशकौँयताकै कम दरमा बढेको पाइएको थियो ।

यसअघि चिनियाँ सरकारी तथ्यांकले त्यहाँ जनसंख्या संकट देखाएको थियो । जसले कालान्तरमा चीनको ज्यालामजदुरी वर्ग घट्ने र स्वास्थ्य सेवासहित अन्य सामाजिक सुरक्षा खर्चलाई बढाउने आकलन गरिएको थियो । चीनमा विवादास्पद एक–सन्तान नीतिका कारण जनसंख्या वृद्धिमा प्रभाव परेको हो । तीव्र जनसंख्या वृद्धिदर कम गर्न भन्दै सरकारले सन् १९७९ मा ‘एक दम्पती एक सन्तान’ नीति सुरू गरेको थियो ।

Advertisement

नीतिको उल्लंघन गर्नेलाई सरकारले जरिवाना तिराउने गरेको थियो भने कतिपयले त आफ्नो जागिर नै गुमाउनुपरेको थियो । ऐतिहासिक रूपमै छोरीभन्दा छोरालाई प्राथमिकता दिने संस्कार रहेको चीनमा यस नीतिले थप प्रभाव पार्‍यो किनकि एक सन्तान पनि छोरा रोज्ने र छोरी भए गर्भपतन गराउनेको संख्या समेत बढ्यो । त्यसपछि सन् १९८० यता चीनमा छोरीभन्दा छोराको संख्या बढी रहँदै आएको छ ।

पछि नीति हटाउँदा पनि अधिकांश विवाहित दम्पतीले सन्तान जन्माउने चाहना नराखेपछि जनसंख्या वृद्धि गराउने विषय चीनमा चुनौती बनेको छ । सन् २०१६ मा यो नीति हटाएर सरकारले एक दम्पतीले दुई सन्तान जन्माउन पाउने नयाँ नीति ल्यायो । पछिल्ला दिनहरूमा बच्चा जन्माउन प्रोत्साहनका लागि चीन सरकारले कर कटौती र गर्भवतीको स्वास्थ्य तथा स्याहारका लागि विभिन्न सुविधासहित विशेष छुटको व्यवस्था गरेको छ ।

सरकारले दोस्रो मात्र नभई तेस्रो सन्तान जन्माउनसमेत प्रेरित गर्दै आएको छ । तर यो प्रभावकारी देखिएको छैन । व्यस्त जीवनशैली, कामकाजी आमाका लागि सुविधा नहुने, खर्चिलो शिक्षा प्रणाली र बालबच्चाको स्याहारजस्ता विषयलाई नयाँ नीतिले नसमेटेका कारण अधिकांश दम्पतीले बच्चा जन्माउने चाह नराखेको विज्ञहरूको भनाइ छ । चीनमा विशेष गरी शहरी क्षेत्रमा बालबच्चा हुर्काउन धेरै खर्चिलो हुने र उनीहरूका लागि समय छुट्याउन परिवारलाई कठिन पर्ने भएकाले पनि धेरैले बालबच्चाको चाहना नराखेको बताइन्छ ।

सन् २०२२ को अक्टोबरमा राष्ट्रपति सी चिनफिङले चीनमा जन्मदर बढाउने विषयलाई प्राथमिकता दिने बताएका थिए । त्यतिबेला उनले प्रत्येक पाँच वर्षमा बेइजिङमा हुने चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनमार्फत सरकारले मुलुकको जनसंख्या वृद्धिको विषयमा राष्ट्रिय रणनीति बनाउने बताएका थिए ।

पछिल्लो समय चीनको कमजोर बनिरहेको अर्थतन्त्रमा घट्दो जनसंख्याले समेत नयाँ चुनौती थपेको छ । विशेष गरी अमेरिका, युरोप र केही एसियाली मुलुकहरूसँग चिनियाँ व्यापार र सम्बन्धमा तिक्तता देखा परिरहेको छ ।

चीनको जनसंख्यासम्बन्धी अध्ययन गरिरहेका विज्ञ तथा जनसंख्याविद् यी फुसियान भन्छन्, ‘चीनको वास्तविक जनसंख्या संकट हाम्रो कल्पनाबाहिर र चीनका पुरानो अर्थतन्त्र, समाज, सुरक्षा र विदेश नीति सबै गलत जनसांख्यिक विवरणमा आधारित छन् ।’ यीको अनुसन्धानका अनुसार चीनको जनसंख्या परिकल्पना गरिएभन्दा गम्भीर तवरले घट्न थालेको सन् २०१८ यता हो ।

“चीन विश्वमै कम प्रजनन दर भएको मुलुक हो । यसको तुलना केबल दक्षिण कोरिया र ताइवानसँग गर्न सुहाउँछ,’ यी थप्छन्, ‘चीन धनी नहुँदै बुढो भएको छ ।’ चीनमा जस्तै, एसियाका विकसित मुलुकहरू जापान र दक्षिण कोरियामा पनि वृद्ध मानिसको संख्या र जन्मदरमा उल्लेख्य गिरावट देखिएको छ ।

अनुवाद: उकालो डटकम

तपाईको प्रतिक्रिया