२ सय विद्यार्थीलाई छात्रवृत्ति

समाधान संवाददाता २०७९ माघ ८ गते १४:१६

पोखरा ।
पोखराका २ सय २ गरिब तथा जेहेन्दार विद्यार्थीलाई शनिबार छात्रवृत्ति वितरण गरिएको छ । मातृसेवा प्रतिष्ठान नेपाल ललितपुरको आर्थिक सहयोगमा पाल्पाली समाज पोखराले कास्कीको व्यवस्थापनमा समता शिक्षा निकेतन स्कुलका १ सय ९२ र आनन्दज्योति माध्यमिक विद्यालय पोखरा ३१ वेगनासका १० जना विद्यार्थीलाई १२ लाख ६ हजार बराबरको छात्रवृत्ति प्रदान गरिएको प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा पूर्व मन्त्री हरिप्रसाद पाण्डेले जानकारी दिए ।

उनले समता स्कुलका हरेक विद्यार्थीलाई १ वर्षको दरले ५ हजार ५ सय र आनन्दज्योतिका वाली विज्ञानतर्फका विद्यार्थीलाई १५ हजारको दरले छात्रवृत्ति प्रदान गरिएको बताए । संस्थापक अध्यक्ष पाण्डेले समता स्कुलका विद्यार्थीलाई लगातार ५ वर्षसम्ममा ५२ लाख ८० हजार बराबरको छात्रवृत्ति प्रदान गर्ने उल्लेख गरे ।

उनले समता शिक्षा निकेतन स्कुल काठमाडौका ८२ विद्यार्थीलाई समेत छात्रवृत्ति वितरण गर्ने बताए । अध्यक्ष पाण्डेले बैंकमा सयुक्त खाता खोलेर कोष खडा गरेर विद्यार्थीको पठनपाठनको व्यवस्था गर्न अभिभावकलाई प्रस्ताव गरे ।

Advertisement

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शिक्षाको उज्यालो घाम सबैको घर, परिवारमा पुग्नुपर्ने बताए । ‘नेपालको संविधानले निशुल्क शिक्षाको ग्यारेन्टी गरेको छ,’ मुख्यमन्त्री अधिकारीले भने, ‘प्रदेश सरकारले शिक्षा र स्वास्थ्यलाई निशुल्क गर्ने योजनाका साथ काम गरेको छ ।’

उनले शिक्षा र स्वास्थ्य निशुल्क गर्ने राज्यको नीतिलाई कार्यान्वयन गर्ने दिशामा प्रदेश सरकार अग्रसर भएको बताए । धन सम्पत्तीले सम्पन्न भए पनि विद्या नभए सुगन्ध नभएको फुल जस्तो हुने टिप्पणी गर्दै मुख्यमन्त्री अधिकारीले मातापिता र गुरुलाई खुसी बनाउन सके १ सय वर्ष तपस्या गरेजस्तो फल प्राप्ति हुन उल्लेख गरे ।

Advertisement

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज्य मुल्मीले राज्यले शिक्षा स्वास्थ्यको दायित्व पूरा गर्न नसकेको बताए । पूर्वमन्त्री तथा उद्योगी पाण्डेको सत्कार्यबाट धेरैभन्दा धेरै विद्यार्थी लाभान्वित भएको उनको भनाइ छ ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले यो सबै पोखरेलीका लागि अनुकरणीय काम भएको टिप्पणी गरे । कार्यक्रममा समता निकेतन स्कुलका संस्थापक अध्यक्ष उत्तम सञ्जेल, मातृ सेवा प्रतिष्ठान नेपालका उपाध्यक्ष तुलसा पाण्डे, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, पाल्पाली समाज पोखराका अध्यक्ष रेशम थापा ‘रचक’, समाजका निवर्तमान अध्यक्ष कुलप्रसाद घिमिरे, समाजका सल्लाहकार तथा छात्रवृत्ति छनोट समितिका संयोजक खेम सारु मगर लगायतले बोलेका थिए ।

मातृ सेवा प्रतिष्ठान नेपालले पाल्पाली समाज पोखराको व्यवस्थापनमा पूर्वमन्त्री पाण्डेको जन्मभूमि पाल्पामा ‘रम्भादेवी छात्रवृत्ति’ र कर्मभूमि कास्कीका कर्मभूमि छात्रवृत्ति वितरण गर्दै आएको छ । प्रतिष्ठानले देशव्यापी रुपमा २३ समूहमा छात्रवृत्ति वितरण गर्दै आएको अध्यक्ष पाण्डेले बताए ।

तपाईको प्रतिक्रिया