गण्डकी प्रदेशमा सर्वाधिक हवाई दुर्घटना

प्रमिला कुँवर २०७९ माघ ८ गते १७:०३

प्रमिला कुँवर, पोखरा ।
गण्डकी प्रदेशमा हालसम्म ११ हवाई दुर्घटना भएका छन् । यो संख्याले मुलुकभर नै सबैभन्दा धेरै दुर्घटना हुने प्रदेश गण्डकी देखिएको छ । नेपाली हवाई इतिहासमा अहिलेसम्म १ सय ९ वटा दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकले देखाउँछ । तीमध्ये सबैभन्दा दुर्घटना गण्डकीमा भएका हुन् ।

Advertisement

गण्डकीका ११ हवाई दुर्घटनामध्ये दुइटामा यात्रु गम्भीर घाइते भएका थिए भने ९ दुर्घटनामा १ सय ८६ जनाले ज्यान गुमाएको नेपाल उड्डयन प्राधिकरण (क्यान) को तथ्यांक छ । गण्डकीमा सबैभन्दा पहिले २०१९ मा बागलुङको ढोरपाटनमा नेपाल एयरलाइनसको विमान दुर्घटना भएको थियो । जसमा १० जनाको मृत्यु भएको थियो ।

गण्डकीमा विमान दुर्घटनाको इतिहास ३ दशक पुरानो भए पनि आइतबार पोखरामा भएको यतीको एटिआर ७२ जहाज दुर्घटना आन्तरिक उडानतर्फ देशमै अहिलेसम्मकै ठूलो हो । चालक दलका ४ सदस्यसहित ७२ जना सवार विमान काठमाडौंबाट पोखरा आएको थियो । नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण अनुमतिसमेत मागिसकेको विमान सेती नदीको खोँचमा दुर्घटना भएको थियो ।

नेपालमा ३ अन्तर्राष्ट्रिय विमानस्थलसहित ५३ विमानस्थल छन् भने हवाइजहाज ७१ वटा छन्
नागरिक उड्डयन प्राधिकरण
पूर्व महानिर्देशक राजकुमार क्षेत्री

यसअघि १५ जेठमा तारा एयरको ट्विनअटर जहाज मुस्ताङको थासाङ गाउँपालिका सानोसरेमा दुर्घटना हुँदा चालक दलका ३ सहित १९ यात्रु गरी २२ जनाको मृत्यु भएको थियो । ७ वर्षअघि २०७२ मा २३ जनाको मृत्यु हुने गरी तारा एयरकै विमान म्याग्दीको नारच्याङमा दुर्घटना भएको थियो । पोखराबाट जोमसोमतर्फ जाँदै गरेका बेला भएको त्यो दुर्घटना गण्डकीको दोस्रो ठूलो मानवीय क्षति भएको दुर्घटना मानिन्छ ।

Advertisement

विमान दुर्घटनामा सबैभन्दा धेरै मानवीय क्षति यती एयरलान्स विमान दुर्घटनामा भएको छ । आइतबार पोखरामा भएको दुर्घटनामा ७२ र २०६२ मा लमजुङमा दुर्घटना हुँदा ४ जना गरी ७६ जनाको मृत्यु भएको छ । २०५० र २०७० मा नेपाल एयरलाइन्सको विमान जोमसोममा दुर्घटना भएका थिए । भाग्यवश दुवै दुर्घटनामा कसैको ज्यान गएन तर यात्रु गम्भीर घाइते भएका थिए ।

पोखरा—जोमसोम उडान सबैभन्दा जोखिमपूर्ण रहेको विज्ञहरु बताउँछन् । धेरै दुर्घटना पनि पोखरा जोमसोम रुटमै भएका छन् । २०२६ मा जोमसोममा रोयल लाइटको विमान दुर्घटना हुँदा १ र २०६९ मा अग्नि एयरको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । २०५९ मा कास्कीको कृस्तीमा सांग्रिला एयरको विमान दुर्घटना भएको थियो । जसमा १८ को निधन भएको थियो । २०५५ मा म्याग्दीको शिख खोप्रा लुम्बिनी एयरको विमान दुर्घटना हुँदा पनि १८ जनाकै निधन भएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक राजकुमार क्षेत्रीले आइतबार पोखरामा भएको जहाज दुर्घटनाको कारण स्पिड कम भएर अवतरणमा समस्या हुँदा भएको हुन सक्ने बताएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पश्चिमपट्टि र दक्षिणपट्टि भएका डाँडाले अवतरणको समयमा कठिनाई भए पनि दुर्घटनाको कारण नै हुन नसक्ने उनको भनाइ छ ।

‘जहाज पुरानो भएर त्यसका पार्टपुर्जाले राम्रोसँग काम नगर्दा स्पिड कम भएर अवतरणमा समस्या भएको हुन सक्छ,’ उनले एक टेलिभिजन अन्तर्वार्तामा भने । कुनै पनि देशमा रजिस्टर्ड भएको मितिले १५ वर्ष पुगेका जहाज नेपालमा ल्याउन नपाइने जानकारी उनले दिए । जहाजको पनि नियमित जाँच गरिए प्राविधिक कारणले हुने दुर्घटनामा कमी आउने उनले बताए ।

‘नेपाली आकाश चुनौतीपूर्ण छ । हरेक २० नटिकल माइलमा मौसम फरक फरक हुन्छ । पहाड धेरै ठूला छन्, साथै नेपालका विमानस्थल उच्च स्थानमा छन्,’ उनले भने, ‘सरकारले विमानस्थलमा गर्ने लगानी सडकमा गर्दा देशको विकास हुन्थ्यो साथै बढी सुरक्षित पनि हुने थियो ।’ नेपालमा ३ अन्तर्राष्ट्रिय विमानस्थलसहित ५३ वटा विमानस्थल सञ्चालन छन् । ८÷१० वटा बन्ने क्रममा छन् । जहाज भने ७१ वटामात्रै छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नै गत आइतबार भएको दुर्घटनाको कारण नरहेको नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतमले प्रस्ट्याएका छन् । पुरानोभन्दा नयाँ विमानस्थल ठूलो र उपयुक्त स्थानमा रहेको उनले दाबी गरे ।

दुर्घटना एउटामात्र कारणले नहुने, त्रुटिका सिरिज बढ्दै गएपछि हुने उनको भनाइ छ । ‘छानबिन आयोगको प्रतिवेदनमा मानवीय त्रुटिले दुर्घटना भएको भनेर देखाइएको हुन्छ तर पाइलटलाई एयरलाइन्स अपरेटरले सञ्चालन गरेको हुन्छ, सिभिल एभुलेसन अथोरिटीले प्रमाणीकरण गरेको हुन्छ,’ समग्र सिस्टममै समस्या आउँदा दुर्घटना हुने गौतमले बताए ।

दुर्घटना शृंखला
क्रस विस घटनास्थल एयरलाइन्स मृतक संख्या
१ २०७९ माघ १ पोखरा घारिपाटन यती एयरलाइनस ७२
२ २०७९ जेठ १५ मुस्ताङ कोबाङ तारा एयर २२
३ २०७२ फागुन १२ म्याग्दी नारच्याङ तारा एयर २३
४ २०७० जेठ २ जोमसोम नेपाल एयरलाइन्स ०
५ २०६९ जेठ १ जोमसोम अग्नि एयर १८
६ २०६२ लमजुङ यती एयरलाइन्स ४
७ २०५९ भदौ ३ कास्कीको कृस्ती सांग्रिला एयर १८
८ २०५५ भदौ ५ म्याग्दी शिख खोप्रा लुम्बिनी एयर १८
९ २०५० कात्तिक २३ जोमसोम नेपाल एयरलाइन्स ०
१० २०२६ जोमसोम रोयल लाइट १
११ २०१९ ढोरपाटन बागलुङ नेपाल एयरलाइन्स १०
स्रोतः नेपाल नागरिक उड्डयन प्राधिकरण लगायत कूल मृत्यु १८६

नेपालमा ६ दशक लामो इतिहासमा ५८ औं आन्तरिक १ सय ९ हवाई दुर्घटना भएका छन् । ८ अन्तर्राष्ट्रिय जहाज तथा १७ हेलिकोप्टर दुर्घटनामा ८ सय ९७ ले ज्यान गुमाएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को तथ्यांक छ ।
८ अन्तर्राष्ट्रिय विमान दुर्घटना
अहिलेसम्म नेपाली आकाशमा अन्तर्राष्ट्रिय उडानका ८ विमान दुर्घटनामा परेका छन् । जहाँ ३ सय ७३ यात्रुले ज्यान गुमाए भने ३ सय ८५ घाइते भएका थिए ।

आन्तरिक उडानका ३५ जहाज दुर्घटना
५ नोभेम्बर १९६० मा नेपाल वायुसेवा निगमको जहाज भैरहवामा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको थियो । त्यसपछि सन् १९८४ सम्म निगमका जहाज ६ पटक निरन्तर दुर्घटनामा परे । १२ जुलाई १९६९ मा निगमको जहाज हेटौँडानजिकै दुर्घटना हुँदा ३५ यात्रुले ज्यान गुमाएका थिए ।

नेपालमा निगम, नेकोन एयर, एयर काष्ठमण्डप र मकालु एयरका सिंगल इन्जिनका ७ जहाज दुर्घटनामा परे, जहाँ २५ यात्रुको मृत्यु भयो भने १८ जना घाइते भए । सिंगल इन्जिन जहाज दुर्गम भेगमा कार्गाे र चार्टर्ड उडान गर्दा दुर्घटनामा परेका थिए । पछिल्लो समय १६ मे २०१८ मा मकालु एयरको जहाज सिमकोटमा दुर्घटनामा परेपछि नेपालमा सिंगल इन्जिन जहाज उडानमा रोक लगाइएको थियो ।

क्यानको तथ्यांक अनुसार धेरै वायुसेवा हिमाली र पहाडी भेगमा दुर्घटनाग्रस्त भएका छन् । लुक्ला, सिमकोट, जुम्ला, मुस्ताङ लगायत दुर्गम गन्तव्यको उडानमा बढी दुर्घटना भइरहेको देखिन्छ । पोखरा–मुस्ताङ उडानमा ४ वटा जहाज दुर्घटनामा परेका छन् । निगम, तारा, अग्नि एयरको जहाज पोखरा–मुस्ताङ उडान गर्दा दुर्घटनामा परेका छन् । सबैभन्दा धेरै हवाई दुर्घटनामा पर्ने निगम, यती र ताराका जहाज छन् । निगमका १४ तथा तारा र यतीका पनि १४ जहाज दुर्घटनामा परेका छन् ।

१७ हेलिकोप्टर दुर्घटनामा ८५ यात्रुको मृत्यु
नेपालमा अहिलेसम्म यात्रुको ज्यान जाने गरी १७ वटा हेलिकोप्टर दुर्घटना भएका छन् । जसमा ८५ जनाले ज्यान गुमाए । अरू १३ हेलिकोप्टर दुर्घटनामा यात्रु र चालक घाइते भएको क्यानको तथ्यांक छ । फिस्टेल हेलिकोप्टर ८ ठाउँमा दुर्घटनामा परेको छ । अधिकांश हेलिकोप्टर दुर्घटना पहाड र हिमाली भेगमा भएको देखिन्छ । सबैभन्दा पहिले २७ डिसेम्बर १९७९ मा लामटाङमा हेलिकोप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो ।

प्रमिला कुँवर

पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया