फागुन ६ मा पोखरा म्याराथन

समाधान संवाददाता २०७९ माघ ९ गते १०:२८

पोखरा ।
१७ औैं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०२३ आउँदो फागुन ६ गते हुने भएको छ । सफल दूधको मुख्य प्रायोजन र भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा हुन लागेको म्याराथनको मुल नारा स्वास्थ्यका लागि, पोखराका लागि छ ।

Advertisement

मोफसलमा हुने सबैभन्दा ठूलो म्याराथनले पोखरा तथा पोखरावासीको गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउँदै आएको छ । म्याराथनलाई भव्य बनाउनका लागि आयोजक मञ्चले २३ वटा उपसमिति बनाएर कामअघि बढाएको छ ।

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनले यसै वर्ष म्याराथनको अन्तर्राष्ट्रिय छाता संगठन एसोसियसन अब इन्टरन्यासनल म्याराथन एन्ड डिस्टेन्स रेर्सस्मा दर्ता भई अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ । जसका कारण सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका रुटसमेत एम्सबाट प्रमाणीकरण भएको छ ।

यसपालि म्याराथनलाई विशेष बनाउनका लागि म्याराथन र महिला हाफ म्याराथनका सहभागीमा चिप्सको प्रयोग गरिने भएको छ । जसले धावकको दौड समय सटिक तरिकाले मापन गर्दछ । म्याराथनका प्रथमलाई ५ लाख, दोस्रोलाई ३ लाख, तेस्रोलाई २ लाख र चौथोलाई ३० हजार रुपैयाँ प्रदान गरिनेछ ।

गण्डकी प्रदेशका खेलाडीलाई प्रोत्साहन स्वरुप छुट्टै पुरस्कारको व्यवस्था पनि छ । महिला हाफ म्याराथन, १० किमी पुरुष तथा महिला, ५ किमी छात्र/छात्रा, ह्विल चियर तथा दृष्टिविहीन तर्फका पुरस्कार राशिमा पनि वृद्धि गरिएको छ । आयोजकले पोखराबासीलाई फागुन ६ गते हुने म्याराथनमा सहभागी हुन अनुरोध गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया