पहार ट्रस्टमा बिजुलीको नेतृत्व

पोखरा ।
ग्रामीण तथा दुर्गम क्षेत्रको शैक्षिक विकास तथा पूर्वाधार निर्माणको क्षेत्रमा क्रियाशील पहार ट्रस्ट नेपालको १० औं वार्षिक साधारण सभा तथा चौथौ अधिवेशनले बिजुलीबहादुर गुरुङको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।
कार्यसमिति सदस्यमा संस्थापक अध्यक्ष चन्द्रबहादुर गुरुङ, गोकर्ण कार्की, मीनजंग गुरुङ, होमबहादुर गुरुङ, शान्तादेवी गुरुङ, लक्ष्मी थापा गिरी, रिना रानामगर, प्रतिमा गुरुङ, टेकमान प्रधानांग, कृष्णबहादुर गुरुङ सर्वसम्मत भएको अध्यक्ष गुरुङले जानकारी दिए । उनले कार्यसमितिको बैठकले पछि पदाधिकारी चयन गर्ने बताए ।
पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङले सामुदायिक विद्यालयको भौतिक पूर्वाधार निर्माणमा संस्थाले उल्लेखनीय काम गरेको बताइन् । उनले भवन तथा पुस्तकालय निर्माण र छात्रवृति लगायतका कार्यक्रमलाई बढाउन आग्रह गरिन् ।
‘सबैको लागि सर्व सुलभ र गुणस्तरीय शिक्षा आजको आवश्यकता हो,’ उनले भनिन्, ‘माध्यमिक तहको शिक्षा राज्यको दायित्व स्थानीय सरकारलाई पर्ने भए पनि कम साधन र स्रोतले विद्यालय चलाउनु परेको छ ।’ कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले दुर्गम भेगका सामुदायिक विद्यालयको भवन, पुस्तकालय र स्वास्थ्य चौकी निर्माणबाट धेरै जनतालाई सहयोग पुगेको बताए ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर १७ का अध्यक्ष राधिका शाही योगी, गैरसरकारी संस्था महासंघ गण्डकी प्रदेशका कार्यवहाक अध्यक्ष पदमराज पहारी लगायतले संस्थाले शैक्षिक क्षेत्रका गरेको योगदानका बारेमा बोलेका थिए । कार्यक्रममा पोखराको बसपार्कमा रहेको सहारा आधारभूत विद्यालयलाई २ थान कम्प्युटर प्रदान गरिएको छ ।
तपाईको प्रतिक्रिया